|

डडेल्धुरा :  डडेल्धुरामा क्वारेन्टाइनमा राखिएका एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको नवदुर्गा गाउँपालिका ३ का साढे ६ वर्षीय बालक रहेका छन्।

शनिबार राति १२ बजेपछि जिल्ला सदरमुकाम नजिकै रहेको डडेल्धुरा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएका बालक मृत्यु भएको डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए। उनका अनुसार आमाबाबुसँगै उनी भारतको मुम्बईबाट गौरीफन्टा नाका हुँदै डडेल्धुरा पुगेका थिए।

‘उहाँहरू राति आउनुभएको हो। बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको थियो।’ डीएसपी न्यौपानेले भने, ‘हामीकहाँ फोन आयो। बालक गम्भीर बिरामी छ भनेर। यताबाट गाडी पठाएर अस्पताल पुर्‍याएका थियौं।’ 

डडेल्धुरा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा जगदीशचन्द्र विष्टले बालकको अस्पताल पुर्‍याउनुभन्दा अघि नै मृत्यु भएको पुष्टि गरे। उनका अनुसार ती बालकलाई बिहान ३ बजे अस्पताल पुर्‍याइएको थियो।  ‘बिहान अस्पताल ल्याउनु भएको थियो। ती बालक अस्पताल पुग्नु अगाडि नै मृत्यु भइसकेको थियो। यहाँ पुर्‍याउँदासम्म सास पनि थिएन।’ उनले भने। 

ती बालक मलेरिया रोगबाट ग्रसित रहेको बुझिएको उनले बताए। यसअघि उनी मुम्बईस्थित एक अस्पतालमा उपचाररत थिए। उनको शव अहिले डडेल्धुरा अस्पतालमा राखिएको छ। उनको आइतबार नै कोरोना परीक्षणका लागि थ्रोट स्वाब संकलन गरिने निमित्त मेसु विष्ट जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.