संखुवासभा : सिलिचोङ गाउँपालिकाको वडा नम्बर १ र २ बिचमा रहेको सिसुवाखोलामा झोलुङगे पुल नहुँदा गाउँपालिकाको केन्द्र ताम्कुसँग सम्पर्क टुट्ने गरेको छ।
खोलामा पुल नभएकै कारणले गाउँपालिका केन्द्रसँग २५० भन्दा बढी परिवारको सम्पर्क टुट्ने गरेको स्थानीयको भनाइ छ। बर्खा लागेपछि गाउँपालिका-१ का मोस्तेम, रियाम्मा र २ नम्बरको वालाका स्थानीय गाउँपालिकाको केन्द्रसम्म आउन नसक्ने अध्यक्ष राम कुलुङले बताए। देवादहमा पुल नहुँदा स्थानीयलाई धेरै सास्ती पाउने गरेका उनको भनाई छ।
गाउँपालिकाले पुल बनाउनका लागि सर्वे र डिपिआर तयारी गरेपनि लकडाउनका कारण रोकिएको अध्यक्ष कुलुङले जानकारी दिए। बर्खायामको भेलले बाँस र काठबाट बनाइएको अस्थाई पुल बगाउँदा गाउँपालिकाका दुई वडा र केन्द्रबीचको सम्बन्ध टुट्ने गरेको उनले बताए। बर्खायाममा सिसुवाखोला बढेपछि स्थानीयलाई गाउँपालिका केन्द्र आवतजावतमा समस्या हुने गरेको स्थानीय अदल कुमार राईले बताए।
आवतजावतमा समस्या नहोस् भनेर खोला बढ्नसाथ अस्थायी पुल बनाउन बाँस र काठको जोहो गर्नु परेको स्थानीय राईको भनाइ छ। बर्खे भेलमा ज्यान जोखिममा राखेर २५० भन्दा बढी परिवारले सो फड्केमार्फत आवतजावत गर्ने गर्छन्।
बर्खाको भेलले पुल बगाएको समयमा वडा नम्बर १ बालाका स्थानीय ४ घण्टाको बाटो घुमेर मात्र पुग्ने गरेको वडा नम्बर-२ का वडाध्यक्ष अलक्ष राईले बताए। गाउँपालिका केन्द्र जान अर्को पुल तर्न जान ताम्लुङ, छुदाक हुँदै चार घण्टा लगाएर सिसुवाटार पुग्नुपर्ने हुन्छ। पुल नहुँदा मोस्तेम, रियाम्मा र ताम्लुङका विद्यार्थी समेत ४ घण्टा लामो घुमाउरो बाटो हुँदै बाला याम्दाङ माध्यमिक विद्यालय जानुपर्ने बाध्यता रहेको छ।
झोलुङ्गे पुल निर्माणका लागि संघिय, प्रदेश सरकार, स्थानीय तह, विभिन्न संघसंस्था सबैसँग निबेदन पेश गरि पुल निर्माणका लागि अनुरोध समेत गरेका छन्। पुल निर्माणमा स्थानीय तहको ध्यान पुग्न नसकेको स्थानीयको आरोप छ।
सिलिचोङ गाउँपालिका अहिले ६ वटा फड्के सञ्चालनमा रहेको छ। यस वडा ५ र ९ विचमा रहकेको नौवाखोला, ४ र ८ को विचमा रहेको सखोला, ८ र ९ को विचमा रहेको रेम्बेवान सिवावाखोलामा पनि फड्के सञ्चालनम रहेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।