धरान, विराटनगर र जनकपुरका प्रयोगशालाले लिन मानेन

|

जनकपुरधाम : कोरोना भाइरस परीक्षणका लागि सप्तरीमा संकलित स्वाब अलपत्र परेको छ। धरान, विराटनगर र जनकपुरका प्रयोगशालाले स्वाब लिन नमानेपछि अलपत्र परेको हो।

सप्तरीमा संकलित स्वाब परीक्षण धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिँदै आएको थियो। तर, पछिल्लो समय स्वाब लिन मानेको छैन। विराटनगर र जनकपुरका प्रयोगशालाले समेत स्वाब परीक्षण गर्न अस्वीकार गरेको जिल्ला स्वास्थ्य प्रमुख दुनियालाल यादवले बताए।

यादवका तीन ठाउँका प्रयोगशालाले स्वाब लिन नमानेपछि २३९ वटा नमुना जिल्लामै अलपत्र परेको छ। ‘शुक्रवार संकलन गरिएको स्वाब तीन दिनदेखि जिल्लामै थन्केको छ,’ उनले भने, ‘धरान, विराटनगर र जनकपुरका ल्याबले स्वाब परीक्षण गर्न मानेन। काठमाडौंको टेकु राष्ट्रिय प्रयोगशालाले पनि स्वाब नपठाउन भनेको छ।’

सप्तरीमा हालसम्म एक हजार २७९ जनाको स्वाब संकलन गरिएको छ। जसमध्ये ५५५ जनाको अझै नतिजा आएको छैन। संकलित स्वाब पनि अलपत्र परेपछि जोखिम बढेको छ। हालसम्म सप्तरीमा ४२ जनामा कोरोना संक्रमणको पुष्टि भइसकेको छ।

जिल्लामै परीक्षणको तयारी

बाहिरका प्रयोगशालाले कोरोना परीक्षण नगरिदिँदा प्रदेश २ सरकारले उपलब्ध गराएको पिसिआर मेसिन सञ्चालनमा ल्याउने तयारी तिब्र गतिमा अगाडि बढाएको छ।

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा पिसिआर मेसिन जडान भइरहेको छ। पिसिआर मेसिन जडान अन्तिम चरणमा रहेको र आइबारदेखि नै परीक्षण सुरु गर्ने तयारी भइरहेको अस्पताल प्रमुख डा. चुमनलाल दासले बताए। उनका अनुसार जनशक्ति व्यवस्थापन र पिसिआर मेसिन जडान गर्न प्रदेश सरकारले ५० लाख रुपैयाँ उपलब्ध गराएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.