बजेट ल्याउनेले जनतालाई भिखारी सम्झिए

|
फाइल फाेटाे

काठमाडौं : सांसद राजेन्द्र महतोले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट औपनिवेशिक योजनाको निरन्तरता भएको टिप्पणी गरेका छन्। आज संसदमा बजेटमाथि छलफल गर्दै सांसद महतोले जनता आशावादी हुन नसक्ने बजेट ल्याएको भन्दै उत्साहित हुनुपर्ने अवस्थान नरहेको उल्लेख गरेका छन्।

‘यो बजेट कस्तो छ, हेर्दा राज्यको चरित्र जस्तो हुन्छ। बजेट पनि त्यसतै आउने गर्छ, प्रत्येक साल यस्तै हो। यो बजेट आउँदा आमनेपाली जनता कति उत्साहित छन्, त्यो मुख्य कुरा हुन्छ,’ उनले भने, 'मलाई लाग्दैन आमनेपाली जनता आशावादी छन। थप निराशोन्मुख भएको बजेटमा के टिप्पणी गर्ने? राज्यविहीनहरुलाई अझ कमजोर गर्ने बजेट आएको छ। यो औपनिवेशिक योजनाको निरन्तरता बाहेक केही भन्‍न सकिन्‍न।’ 

उनले बजेट ल्याउनेहरुले आफूलाई मालिक र जनतासँगै अरुलाई भिखारी सम्झेको आरोप लगाए। ‘यो बजेट आदिवासी, जनजाति, थारु पक्षको छैन। शासन र शासक अनुसारको बजेट आएको छ। सत्ताधारीहरु आफूचाहीँ विजयी भएको दाबी गर्ने? आफू मालिक अरु चाहीँ भिखारी । यही प्रवृत्ति छ बजेटको,’ उनले भने। 

उनले अहिले सरकारले ल्याएको बजेटले कोरोनाको संक्रमण बढ्यो भने धान्‍न नसक्ने भन्दै सरकारलाई प्रश्‍न गरे। ‘अझ संक्रमण बढ्यो भने यो बजेटले धान्छ? जनताप्रतिको दायित्व छैन?’, उनले भने, ‘कोही भोकै रहँदैन कोही मर्दैन? यहाँ खान नपाएरै मर्यो त राज्यलाई कानमा पुगेन सभामुख महोदय?’ उनले लामो बजेट प्रस्तुत गरेर मात्रै सरकार उम्कन नपाउने पनि बताए।  

महतोले अहिलेको सरकारले संघीयता सखाप पार्ने काम गरेको आरोप पनि लगाए। ‘सघीयतालाई सखाप पार्ने काम तिमिले गरिरहेको छ,’ उनले सरकारको नेतृत्वलाई लक्षित गर्दै भने, ‘८९ प्रतिशत बजेट केन्द्रमा राखेर संघीयता बलियो हुन्छ?’ 
 
उनले विदेशबाट फर्केका जनतालाई रोजगारी दिनेतर्फ सरकार चिन्तित नभएको पनि बताए। ‘लाखौँ जनता आफ्नो मातृभूमि फर्कनै पर्याे, उसलाई रोजगारी के हो? खाली भाषण गरेको छ। खान नपाएपछि लुटपाट आतंक के हुन्छ यहाँ यसैको लागि सरकार बस्या हो?’ उनले भने, ‘चुरे विनाश, कृषि सखाप, जनता के गरी बाँच्ने होला? वन पनि सखाप भयो। यो नश्लीय सोचले वन पनि सखाप पारिदियो।’ 

उनले सरकारले ल्याएको नेपालको पानी जनताको लगानी नाराको पनि विरोध गरे। ‘नेपालको पानी जनताको लगानी? कस्तो लगानी दिने हो? जनतासँग पैसै छैन? जनता कंगाल भइरहेका छन्,’ उनले भने। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.