सिम्रिकको हेलिकप्टरमा वन्यजन्तुको मासु, इन्सपेक्टर पनि मुछिए

|

डोल्पा  : निजी हेलिकोप्टर कम्पनीको मनोमानिका कारण शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्‍ज संरक्षणमा ठूलो चुनौती देखिएको छ। निकुञ्‍जको अनुमतिबिना निजी कम्पनीका हेलिकोप्टरहरु संरक्षित  क्षेत्रमा निर्वाध आवतजावत गर्न थालेपछि संरक्षणमा चुनौती देखिएको हो।

नागरिक उद्धार, यात्रु र  खाद्यसामग्री ढुवानी गर्ने  निहुँमा निकुञ्‍ज क्षेत्रमा मनपरी रुपमा हेलिकोप्टर उडाउनाले संरक्षित जडीबुटी, दुर्लभ वन्यजन्तु र गुम्बाहरुमा राखिएका बहुमूल्य मुर्ति संरक्षणमा चुनौती खडा भएको निकुञ्‍जले जनाएको छ।

सिम्रिक, माउन्टेन डाइनेष्टी, कैलाश र मनाङ्ग लगायतका निजी हेलिकोप्टरले निकुञ्‍ज क्षेत्रमा जथाभावी उडान गर्ने गरेको निकुञ्‍जले जनाएको छ।

‘विभिन्न बहानामा काठमाडौं, पोखरा, नेपालगञ्ज, सुर्खेत लगायतका सहरबाट थुप्रै कम्पनीका हेलिकोप्टरहरु निकुञ्‍जको कोर एरियामै अवतरण गर्छन्’, निकुञ्‍जका संरक्षण अधिकृत सरोजमणि पौडेलले भने, ‘यहाँ आएर हेलिकोप्टरहरु आफ्नो व्यापार गरेर फर्कने गरेका छन्।’

निकुञ्‍ज स्थापना भएदेखि नै संरक्षित क्षेत्रमा निजी हेलिकोप्टर कम्पनीले आफ्नो रवाफ देखाइरहेका पौडेलले बताए। निकुञ्‍जको अनुमतिबिना नै आउनेजाने, राजश्व नतिर्ने, निकुञ्‍जका कर्मचारीले जाँच्नै नपाई निर्बाध आवतजावत गर्ने गरेको उनले उल्लेख गरे। 

‘निकुञ्‍ज जस्तो संवेदनशील क्षेत्रमा यसरी मनोमानी गर्ने हेलिकोप्टर कम्पनीले दुर्लभ वन्यजन्तुको आखेटोपहार, बहुमूल्य जडीबुटी, निकुञ्‍ज क्षेत्रमा रहेका बहुमूल्य मूर्ति लगायत सामान अवैधरुपमा ओसारपसार हुने अवस्था देखियो’, उनले भने। 

२०४० सालमा स्थापना भएको शे-फोक्सुण्डो निकुञ्‍ज विश्वमै दुर्लभ वन्यजन्तु हिँउ चितुवा, संरक्षित वन्यजन्तु नावर, घोरल लगायतका वन्जन्तुको पाइने मुख्य बासस्थान हो।

बहुमूल्य जडीबुटी यार्सागुम्बा पाइने सत्तरी प्रतिशत यार्सागुम्बा पाटाहरु पनि निकुञ्‍ज क्षेत्र भित्रै पर्दछन्। शे-फोक्सुण्डो निकुञ्‍ज रामसार सूचीमा पनि सूचीकृत भइसकेको छ। निकुञ्‍ज क्षेत्रमा एक पटक हेलिकोप्टर ल्याण्ड गर्दा तीन हजार रुपैयाँ राजश्व तिर्नुपर्ने कानुनी व्यवस्था छ।

सिम्रिकको हेलिकोप्टरमा वन्यजन्तुको सुकुटी

गत बिहीबार शे-फोक्सुण्डो गाउँपालिकाको केन्द्र रहेको साल्दाङ्गका नागरिकहरु बोकेर सिम्रिक एयरको हेलिकोप्टर काठमाडौंबाट डोल्पा सदरमुकाम दुनैमा अवतरण गर्‍यो। दुनैमा प्रहरीलाई जाँच गराएर हेलिकोप्टर उपल्लो डोल्पाको साल्दाङ्ग उड्यो।

दुनैमा रहेको हेलिप्याड पनि शे-फोक्सुण्डो निकुञ्‍ज अन्तर्गतको मध्यवर्ती क्षेत्रभित्र पर्दछ। निकुञ्‍ज क्षेत्र र मध्यवर्ती क्षेत्रमा अवतरण गर्ने हेलिकोप्टरलाई आउँदाजाँदा निकुञ्‍जका कर्मचारी र नेपाली सेनाले जाँच गराएर मात्र उड्नुपर्ने कानुनी व्यवस्था छ।

त्यतिमात्रै नभई निकुञ्‍ज क्षेत्रमा हेलिकोप्टर अवतरण गर्नुपूर्व अनुमति लिनुका साथै निकुञ्‍जका एकजना कर्मचारीसँगै लिएर जानुपर्ने व्यवस्था पनि छ।

तर त्यो दिन सिम्रिकको हेलिकोप्टर निकुञ्‍जलाई जानकारी नदिएर साल्दाङ्ग उडेको खुलेको छ। कर्मचारी संयन्त्रबाट हेलिकोप्टर उडेको थाहा पाइसकेपछि जाँचका लागि निकुञ्‍जका कर्मचारी र निकुञ्‍ज सुरक्षार्थ बसेको ईश्वरी बक्स गुल्मको सेनाको टोली दुनै पठाइयो।

साल्दाङ्गबाट हेलिकोप्टर नआउँदै निकुञ्‍जको टोली हतार-हतार गरेर दुनै पुग्यो। अनुमति नलिएरै निकुञ्‍जको कोर एरियामा उडेको हेलिकप्टरलाई आवाश्यक सोधपुछसँगै जाँच गर्ने निकुञ्‍जको टोली आतुर देखिन्थ्यो।

‘हेलिकोप्टर फर्केपछि निकुञ्‍जको टोलीले जाँच सुरु गर्‍यो। हेलिकोप्टरमा निगरानी गर्ने भन्दै दुनैबाट सँगै उडेका नेपाल प्रहरीका एकजना इन्सपेक्टर पनि थिए। केही सामान थियो’, जाँच गर्न पुगेका एक कर्मचारीले भने।

जाँचका क्रममा हेलिकप्टरले ल्याएको सामान खोतल्दै जाँदा आधा किलो संरक्षित वन्यजन्तुको जस्तो देखिने मासु फेला परेको निकुञ्‍जका संरक्षण अधिकृत सरोजमणि पौडेलले जानकारी दिए। त्यसपछि हेलिप्याडमै खैलाबैला मच्चिएको थियो। त्यसलगत्तै निकुञ्‍जको टोलीले थप गम्भीर भएर सोधपुछमा लाग्यो।

हेलिकोप्टरका चालकलाई मासुबारे सोधखोज गर्दै गर्दा उनले आफूले नल्याएको उत्तर दिएका थिए। उनले निकुञ्‍जका अधिकारीलाई प्रहरी हवल्दारले मासु हालेको बताउँदै इन्सपेक्टर पनि सँगै आएको उल्लेख गरेका थिए।

‘हामीले त्यतिखेरै पाइलटलाई समातेर निकुञ्‍ज कार्यालयमा बयान लिने तयारी गरेका थियौँ’, पौडेलले भने, ‘तर सेनाले जाँचबुझ गर्दागर्दै यात्रु कराए भनेर हेलिकप्टर स्टार्ट गरी पाइलट भागे।’

त्यसपछि सेना र निकुञ्‍जको टोली सुलिगाड फर्कियो। शनिवार फेरि ढाड भाचिँएको बिरामी लैजाने भन्दै सिम्रिक एयरको हेलिकोप्टर दुनै पुग्यो। त्यही मौकामा निकुञ्‍जका संरक्षण अधिकृत पौडेलसहित सेनाको टोली फेरि दुनै पुगेर तिनै पाइलटसँग सोधपुछ गर्‍यो। तर पाइलटले प्रहरीले मासु ल्याएको भन्दै पुरानै कुरा दोहोर्‍याए। उनको यो बयान क्यामेरामासमेत कैद गरिएको संरक्षण अधिकृत पौडेलले बताए।

‘शनिवार पनि उनलाई भिडियो बयानसँगै लिखित बयान लिने तयारी थियो’, उनले भने, ‘ढाड भाँचिएको बिरामीको अवस्था गम्भीर भएकाले पाइलटलाई काजग गरेर छोड्नु पर्ने भयो।’

उनका अनुसार निकुञ्‍जले बोलाएको बेलामा हेलिकोप्टरसहित जुनसुकै अवस्थामा उपस्थित हुने गरि कागज गरेर छोडिएको छ। 

शनिवार सिम्रिक एयरको हेलिकप्टरले डोल्पाका लागि दुई वटा उडान गरेको थियो। घटना अनुसन्धानमै रहेकाले मुद्दा छिनोफानो नहुन्जेलसम्म पाइलटको नाम भन्न नमिल्ने संरक्षण अधिकृत पौडेलले जानकारी दिए।

पाइलटको लिखित बयान लिइसकेपछि उक्त बयानको आधारमा इन्सपेक्टर र हवल्दारको पनि बयान लिने उनले जानकारी दिएका छन्। निकुञ्‍ज क्षेत्रबाट उडेको हेलिकोप्टरमा संरक्षित वन्यजन्तुको जस्तो सुकुटी भेटिएको डोल्पामै पहिलो घटना हो।

बरामद मासु प्रमाणित गर्न लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटार पठाउने तयारी भइरहेको निकुञ्‍जले जनाएको छ।

के भन्छन डिएसपी?

हेलिकोप्टरमा संरक्षित वन्यजन्तुको जस्तो मासु भेटिएपछि अनुसन्धानमा आफुहरुले पनि सघाउने जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक नारायण रञ्जितकारले बताए।

‘हेलिकप्टरको निगरानीका लागि इन्सपेक्टर जिल्लाबाटै साल्दाङ्ग गएका हुन्’, उनले भने, ‘बिरामी झार्नेबित्तिकै हेलिकोप्टर उडाउने गरि इन्जिन अफ गरिएको थिएन्। हतार भएकाले बोरामा सिलाएर हालेको सामान राम्रोसँग खोलेर चेक गर्न सकिएन।’ 

उनका अनुसार दुनै पुगेर नेपाली सेनाले चेकजाँच गर्दा मासु भेटिएको हो। ‘दुनै पुगेर नेपाली सेनाले जाँच गर्दा मासु भेटिएको हो। कसले हाल्यो? अनुसन्धानपछि थाहा होला। यसमा प्रहरी दोषी देखिए पनि कारवाही हुन्छ’, उनले भने। अब डोल्पा आउने हेलिकोप्टरलाई कडाइका साथ चेक गर्न निर्देशन दिइसकेको रञ्जितकारले बताए। 

के भन्छन प्रजिअ?

सिम्रिक एयरको हेलिकोप्टरले मासु ल्याएको घटनाबारे अनुसन्धान भइरहेको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए। वन्यजन्तु र वन पैदावर संरक्षण गर्नु सबैको दायित्व भएकाले निकुञ्‍ज क्षेत्रमा हेलिकोप्टरले मनपरि गर्न नहुने उनले बताए।

‘निकुञ्‍ज क्षेत्रमा गृहमन्त्रालयको अनुमति लिएर तत्काल रेस्क्यु गर्नुपर्ने हुन्छ। निकुञ्‍ज क्षेत्रमा हेलिकप्टर उडाउन अनुमति लिनु पर्ने निकुञ्‍जको नियम छ’, उनले भने, ‘राज्यको दोहोरो नीतिले कहिलेकाहीँ निकुञ्‍ज र प्रशासनबीच समस्या उत्पन्‍न हुन्छ।’

‘हेलिकोप्टरले बदमासी नगरुन् भनेर प्रत्येक उडानमा प्रहरी पठाने गरेका छौँ’, उनले भने, ‘त्यतिमात्रै नभई बदमासी गरे कारवाहीका लागि सिफारिस समेत गर्छौं।’
निकुञ्‍ज क्षेत्रमा उद्धारका लागि निकुञ्‍जकै अनुमति लिनुपर्ने नै भए गृह मन्त्रालयले वन मन्त्रालयलाई जिम्मेवारी दिनुपर्ने प्रजिअ सुनारले बताएका छन्। 

के भन्छन् सिम्रिकका पाइलट?

हामीले सिम्रिक हेलिकोप्टरका पाइलट सुरेन्द्र पौडेललाई यस बिषयमा बुझ्दा आफूलाई केही पनि थाहा नभएको उत्तर दिए। उनले दुनैमा आइपुगेर सेनाले सामान चेक गर्दा आफूले मासुबारे थाहा पाएको बताए।

'मेरो काम हेलिकोप्टरलाई कसरी सुरक्षित तरिकाले अवतरण गर्ने र गतन्तब्यमा पुर्‍याउने हो', उनले भने, 'हेलिकप्टरमा वैध-अवैध सामान के हाल्छन् भनेर जाँच गर्ने जिम्मा सुरक्षाकर्मीको हो।'

उनले हेलिकोप्टरको निगरानीका लागि दुईजना प्रहरी गएको पनि जानकारी दिए। 'हेलिकोप्टरको निगरानीका लागि दुनैबाटै इन्सपेक्टर पनि मसँग गएका हुन्', उनले भने, 'साल्दाङ्गमा हवल्दारले पनि चेक गरेका हुन्। हेलिकोप्टरमा वन्यजन्तुको मासु पर्‍यो परेन भनेर उहाँहरुले हेर्नुपर्ने हो।'

उनले हेलिकोप्टरमा राख्ने सामानको चेकजाँच आफैंले गर्न पाएको भए यस्तो समस्या नआउने जिकिर गरे। 'कि हेलिकप्टर उडाउने जिम्मेवारीसँगै चेकजाँजको अधिकार पनि पाइलटलाई हुने भए म हेलिक्पटर रोकेरै हेर्थे थिएँ', उनले भने, 'सामानको चेकजाँच त सुरक्षाकर्मीलेनै राम्रोसँग गर्नुपर्यो नि।'

के छ कानुनी व्यवस्था

राष्ट्रिय निुकञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार संरक्षित वन्यजन्तुको मासु ठहरिएमा पाँचदेखि १५ वर्षसम्म जेल र हेलिकोप्टर नै जफत हुन सक्छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.