५० बढी पर्वतेली भारतबाट नेपाल आउँदै

|

पर्वत : पर्वतको कुस्मा नगरपालिका १० पिपिलटारीको बितलव घर भएका सुन्दर नेपालीलाई यति बेला पाएको पीडा सम्झँदै भन्छन्, ‘अर्कोको देशमा नजानु नै उत्तम रहेछ।’ शनिबार बिहान ९ बजे भारतको नयाँ दिल्लीस्थित सकरपुरबाट उद्धार गरेर नेपाल ल्याइँदै गरेका उनलाई जन्म गाउँ फर्किन पाउँदा बाटोमा न भोक लागेको थियो न तिर्खा नै। 

सकरपुरकै रेस्टुरेन्टमा काम गर्दै आएका उनी झन्डै साढे २ महिना अगाडि नै कामबाट निकालिएका थिए। उनले पारिश्रमिक पनि पाएनन्। भारत सरकारले दिने रासन कार्ड पनि नभएका कारण बाहिर निस्केर केही किन्न नपाउने र पाए पनि साथमा पैसा नभएका कारण पानीको भरमा प्राण धान्नुपर्ने अवस्थामा रहेका उनी स्वदेश फिर्दै छन्। 

सुन्दर सवार बसमा पर्वतका ४० जनाभन्दा बढी र केही अन्य ठाउँका गरेर झन्डै ५० जना छन्। भारतमा कोरोनाको संक्रमण तीव्र गतिमा फैलिरहेको अवस्थामा पनि आफूहरुको स्वास्थ्य परीक्षण नगरेको र खाना नपाएर भोक भोकै मर्नुपर्ने अवस्थामा नेपाल फर्किन पाएको भन्दै उनीहरू हर्षले गदगद छन्। 

सकरपुरबाट भारतीय बस रिजर्भ गरेर नेपालको सुनौली हुँदै गाउँ आउन लागेका उनीहरूले भारतमा पाएको पीडा सम्झिँदै अब कोरोना लागे पनि, भोकै मर्न परे पनि आफ्नै देशमा मर्न पाइने भन्दै खुसी भएको सुनाए। 

अलपत्र परेकालाई उद्धार गर्न भनी मिडियासम्म आवाज ल्याएका एक जना पीडित नवीन कुमारले थाहाखबरसँग कुरा गर्दै अब भारतमा अलपत्र तरिकाले मर्नबाट जोगिएको बताए।

‘हामी त भारतको सडकमा कुकुर मरेझैँ मर्ने बेलामा पुग्न लागेका थियौँ। झन्डै ३ महिना अगाडि कामबाट निकालियो, पछिल्लो २ महिनाको तलब पनि दिइएको छैन। बस्दै आएको कोठाको भाडा तिर्ने उपाय नहुँदा घर साहुले कोठा छोडेर रोडमा गएर बस्नु भनेर धम्क्याएका थिए,’ उनले भने, ‘हामीलाई नेपाली मिडियाले साथ दिए, प्रवासी नेपालीहरूले भोक मेटाइदिए, अहिले उहाँहरूले नै खर्च हालेर देशमा पठाउनुभएको हो। अब त भोकमाथि कोरोनाले मरे पनि पछुतो छैन, नेपाल टेक्न पाइयो।’ 

बसमा यात्रा गरिरहेका विदुर नेपालीले स्वदेश फर्किन पाएको खुसीमा भोक र तिर्खा केही नलागेको बताउँदै अर्कोको देशमा पाएको दुःखले नेपाली माटोको माया झनै बढाएको बताए। 

‘अर्कोको देशमा खान नपाएर रोग लागेर मर्नुभन्दा त आफ्नै माटोमा पुगेर भोकै मर्न बेस हुने रहेछ। गाउँ फर्किन पाउने खबर सुन्दासाथ नै महिनादेखिको भोक मेटिएको जस्तो भएको थियो,’ उनले भने, ‘अब कुस्मामा गएर क्वारेन्टाइनमा बसेर गाउँमा फर्किने हो। हाम्रो उद्धार भएको खबरले बाबुआमा पनि खुसीले रुनुभएको होला। अब त नेपाल पुगिन्छ, बाँच्न पाइयो।’

लकडाउनका कारण होटेल तथा विद्युतीय पसलमा कार्यरत उनीहरू कामबाट निकालिनु, तलब नपाउनुलगायत समस्याका कारण एउटै भवनको विभिन्न भागमा बस्दै आएका थिए। 

ती पर्वतेलीहरुको विचल्ली भएको भएको भनी थाहाखबरमा समाचार प्रकाशन भएपछि विभिन्न ठाउँबाट उनीहरूको उद्धार प्रयास भएको थियो। लगत्तै अन्तर्राष्ट्रिय पर्वत समाजले उनीहरूलाई नगद र खाद्यान्न सहयोग गरेको थियो।

सकरपुरबाट उनीहरूलाई नेपालको सुनौलीसम्म ल्याउन पनि समाजले नै सहयोग गरेको छ। उद्धारमा संलग्न मेरी गुरुङले उनीहरूको उद्धार गरेर ढुक्कको श्वास फेर्न पाएको बताइन्।

शनिबार बिहान सकरपुरबाट भारतीय बसमा यात्रा सुरु गरेका उनीहरू सोमबार बिहानसम्म जिल्लामा आइपुग्नेछन्। जिल्लामा भित्रिएपछि उनीहरूलाई सीधै क्वारेन्टाइनमा लगेर राखिने छ। उनीहरूमा कोरोना भए नभएको पुष्टि गरेपछि सम्बन्धित स्थानीय तहमा पठाएर पुनः क्वारेनटाइनमा राखिने नियम राखिएको छ। त्यो अवधिसम्म पनि उनीहरूमा कोभिड १९ को लक्षण नदेखिएमा मात्र घर जान दिइने जिल्ला कमान्ड पोस्टले यस अगाडि नै निर्णय गरिसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.