|

कपिलवस्तु : कपिलवस्तुको बुद्धभूमि १० बाट अर्घाखाँची पुर्‍याइएको तरकारी कालोबजारी गर्नेहरुले फालेका छन्। सदरमुकामका सन्धिखर्कका तरकारी व्यापारी सहदेव भुसाल, रामहहरि घिमिरेले तरकारी फालेका हुन्। उनीहरुले महँगोमा तरकारी बिक्री गर्ने गरेका थिए। 

सस्तो मूल्यमा टमाटर पाउन लागेपछि प्रशासनको मिलेमतोमा उनीहरुले तरकारी फालेका स्थानीयले आरोप लगाए। कोरोना संक्रमित जिल्लाबाट ल्याइएको भन्दै अर्घाखाँचीको सन्धिखर्कमा कपिलवस्तुबाट लगिएको हरियो तरकारी नष्ट गरिएको हो।

जिल्लाको सन्धिखर्क नगरपालिका १ मा लामो समयदेखि खाद्यान्न, तरकारी र फलफूल बिक्री गर्दै आइरहेको पुष्पा स्टोरका सन्चालक किशोर बांनियाले तरकारी लगेका थिए। जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश विष्टको निर्देशनमा भएको उक्त कार्यप्रति किसानहरुले भने आपत्ति जनाएका छन्। 

बानियाँले लकडाउनका कारण जिल्लामा हरियो तरकारी अभाव भएपछि कपिलवस्तुबाट बोडी, करेला, लौका, घिरौला, भिण्डी, टमाटर, खुर्सानीलगायत हरिया तरकारी बिक्रीका लागि लगेका थिए। 

अर्घाखांची प्रशासनले जिल्लामा यसअघि गरिएको निर्णयविपरीत तरकारी ल्याइएको र हरियो तरकारीबाट कोरोना संक्रमण हुन सक्ने भन्दै प्रहरी टोलीले सन्धिखर्कस्थित डम्पिङ साइडमा लगेर नष्ट गरेको हो।

प्रहरी नायब उपरीक्षक विष्टले जिल्लास्थित व्यापारिक संघसंस्थाको उपस्थितिमा कोरोना संक्रमणका बेला कुनै पनि जिल्लाबाट तरकारी तथा फलफूल आयात नगर्ने निर्णय गरेकोले सोहीअनुरुप नष्ट गरिएको बताए।

कोरोना संक्रमणको नियन्त्रणका लागि भन्दै अर्घाखाँचीले यसअघि छिमेकी जिल्लाका सीमा नाका सिल गर्दै आएको थियो। तर जिल्लामा संचालित अन्य खाद्यवस्तु तथा विकास निर्माणमा प्रयोग हुने सामग्री भने निर्बाध भित्र्याउँदै आएको छ। ‘जिल्लाका सबै तरकारी व्यापारीले कपिलवस्तुबाट ल्याएर बेच्छन्। तर मेरो मात्रै फ्याँकियो,’ व्यापारी किशोर बानियाँले भने। अर्घाखाँचीका सबै तरकारी व्यापारीले पनि रासनको ट्रकमा लुकाएर कपिलवस्तुबाट तरकारी ल्याउँछन् उनले खुलाए।

तराईका जिल्लामा उत्पादित अन्य खाद्यवस्तु आयात गर्दै जिल्लाबासीका माग पूरा गर्दै आएको अर्घाखाँचीमा छिमेकी जिल्ला कपिलवस्तुका किसानले उत्पादन गरेको हरियो तरकारी यसरी नष्ट गर्नु गैरजिम्मेवार पूर्ण कार्य भएको प्रदेश सांसद विष्णु पन्थीले बताए। 

संकटको बेला किसानलाई प्रोत्साहन गर्नुपर्नेमा उत्पादन यसरी नष्ट गर्नु गलत भएको बताए। यता प्रदेश ५ का सांसद धरमबहादुर लाल श्रीवास्तवले कपिलवस्तुले अर्घाखाँचीका लागि रासन निर्यात रोकेर तत्काल नाकाबन्दी लगाउन स्थानीय प्रशासनसँग माग गरे।

उनले यो अर्घाखाँचीको लाजमर्दो कार्य हो भन्दै त्यहाँ जनप्रतिनिधिलाई कपिलवस्तुको बाटोमा हिँड्न प्रतिवन्ध लगाउने स्थिति आउने चेतावनी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.