जेठमा दुई हजारभन्दा बढी बर्दिया भित्रिए

|

बर्दिया : भारतमा रोजगारी गरी घर बर्दिया फर्किनेको लर्को लागिरहेको छ। भारतसँग सीमा जोडिएको बर्दियाका विभिन्न नाका तथा नेपालगञ्ज जमुनाहा नाकाबाट दिनहुँ सयौँ मानिसहरु स्वदेश भित्रिरहेका छन्।  स्वदेश फर्किनेहरुको संख्या बढिरहे पनि परीक्षणको दायरा भने बढाइएको छैन। परीक्षणको दायर नबढाउँदा संक्रमणको जोखिम बढ्दै गएको छ।

स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीका अनुसार पिसिआर परीक्षणका लागि चारवटा मापदण्ड रहेका छन्। आरडिटी पोजेटिभ देखिएका, आइसोलेसनमा रहेका, संक्रमित व्यक्तिको सम्र्पकमा आएका र आइसोलेसनमा रहेको व्यक्तिको अन्तिम परीक्षणका लागि पिसिआर गरिने व्यवस्था छ। क्वारेन्टाइनमा बसेकाहरुको पिसिआर परिक्षण गर्ने कुनै व्यवस्था छैन। जसका कारण भारतबाट आएकाहरुको पिसिआर जाँच गर्न नसकिएको जनाइएको छ।

जेठ महिनामा दुई हजार भित्रिए 

जेठ महिना सुरु भएपछि बर्दियामा दुई हजारभन्दा बढी नागरिक भित्रिएका छन्। धेरै संख्यामा भित्रिएपछि बर्दियाका क्वारेन्टाइनहरु पनि भरिन थालेका छन्।

क्वारेन्टाइन व्यवस्थापन गर्न स्थानीय तहहरुलाई हम्मेहम्मे परेको छ। बर्दियाको ठाकुरबाबा नगरपालिकाले एक वडा एक क्वारेन्टाइनको व्यबस्था गरिरहेको छ। नगरपालिका भित्रिनेलाई सम्बन्धित वडाको क्वारेन्टाइनमा राख्ने नगरले व्यवस्था गरेको नगरप्रमुख घननारायण श्रेष्ठले बताए।

स्वास्थ्य कार्यालय बर्दियाका स्वास्थ्य निरीक्षक कृष्णगोपाल चौधरीका अनुसार हाल जिल्लाका विभिन्न क्वारेन्टाइनमा तीन हजार ४३३ जना बसेका छन्। स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार हालसम्म एक हजार ३०५ जनाको मात्र पिसिआर जाँचका लागि स्वाब संकलन गरिएको छ। जसमध्ये नौजनाको कोरोना पोजेटिभ देखिएको छ। ५९ जनाको रिपोर्ट आउन बाँकी छ।

किट अभाव

बर्दियामा स्वाबको नमुना संकलन गर्ने भिटिएम किट अभाव रहेको छ। शनिबार ३०० वटा मात्र भिटिएम किट आएको स्वास्थ्य कार्यालयका प्रमुख गोकर्ण गिरीले बताए। 

क्वारेन्टाइनमा बसेर पिसिआर परीक्षण नहुँदा आफूहरुले असुरक्षित महसुस गरेको स्थानीयको भनाइ छ। सदरमुकाम गुलरिया, बढैयाताल, बासगढी, ठाकुरबाबा लगायत आठवटै स्थानीय तहमा भारतबाट मानिसहरु घर आइरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.