|

सल्यान : सल्यानमा क्‍वारेनटाइन अभाव भएपछि भारतबाट आएका नागरिक त्रिपालमुनि बस्न बाध्य भएका छन्। जिल्लाको बनगाड कुपिण्डे नगरपालिमामा क्‍वारेनटाइन क्षमताभन्दा बढी नागरिक भारतबाट आएपछि खुला चौरमा राखिएका हुन्। 

जिल्लाका १८ वटा विद्यालयमा निर्माण गरिएको क्‍वारेनटाइनमा नागरिक नअटेपछि बाध्य भएर खुला चौरमा पाल टाँगेर राख्न बाध्य भएको मेयर गोविन्द कुमार पुनले बताए। 

उनले भने, ‘नगरपालिकामा भएका सबै सरकारी भवनमा बनाइएका क्‍वारेनटाइनमा भरिभराउ छन्, खुला चौरमा राख्नुबाहेक अर्को विकल्प छैन।’ प्रदेश सरकारसँग टेन्ट माग गरिए पनि अहिलेसम्म उपलब्ध हुन नसकेको मेयर पुनको भनाइ छ। प्रदेश सरकारले टेन्ट उपलब्ध गराएका नागरिकलाई सहज रुपमा व्यवस्थापन गर्न सजिलो हुने उनको भनाइ छ। उनले भने, ‘एकै पटक १२ सय भन्दा बढी नागरिक आएपछि व्यवस्थापन गर्न निकै समस्या भएको छ।’ 

नगरपालिकाका १८ विद्यालयमा १२ सय बढी नागरिक बसिरहेका उनको भनाइ छ। क्‍वारेनटाइन अभावकै कारण एउटै कोठामा २० देखि २५ जनासम्म बसाउनुपर्ने बाध्यता रहेको उनको भनाइ छ। 

दुई क्‍वारेनटाइनमा रहेका ३५ जनामा कोरोना पोजेटिभ देखिएपछि झनै व्यवस्थापन समस्या भएको उपमेयर मञ्जु यरीले बताइन्। क्‍वारेन्टाइन मापदण्डभन्दा पनि कसरी नागरिकलाई व्यवस्थापन गर्ने भन्ने चिन्ताले सताउन थालेको उनको भनाइं छ। 

सल्यानको बनगाड कुपिण्डे नगरपालिका पछिल्लो समय कोरोना इपिसेन्टर भएको छ। संक्रमितको संख्या बढ्दै जान थालेपछि एक विद्यालयलाई आइसोलेसन बनाउने तयारी भइरहेको यरीको भनाइ छ। सल्यानमा ३५ कोरोना संक्रमित पुगिसकेका छन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.