खालि खुट्टादेखि अन्तर्राष्ट्रिय चर्चासम्म

|

इलाम : सावित्रा भण्डारी फुटबल खेलमा अब्बल त छँदै छिन्। उनको गोल सेलिब्रेसनको शैली र परिवर्तन भइरहने हेयर स्टाइलले समेत दक्षिण एसियाली फुटबलमा आफ्नो फरक छाप छाडेको छ। 

उनी नामभन्दा पनि उपनामले बढी चर्चामा छिन्। त्यो हो ‘साम्बा’। नाम र थरको कम्बिनेसन्। युभेन्टसका स्टार तथा पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डोको खेलबाट प्रभावित भएकै कारण उनको सेलिब्रेसन शैली रोनाल्डोकै जस्तै छ। 

कतिपय फ्यान्सले उनलाई ‘लेडी रोनाल्डो’ पनि भन्छन्। सावित्राले व्यावसायिक फुटबल सुरु गरेको करिब ७ वर्ष हुँदैछ। छोटो अवधिमा उनले यस्तो छलाङ मारेकी छन्, जसले राष्ट्रिय फुटबलमा सर्वाधिक गोलकर्ता महिला खेलाडीको चिनारी दिलायो। पाँच फिट पाँच इन्च अग्ली साम्बालाई ‘गोल मेसिन’ को उपमा दिइएको छ । 
राष्ट्रिय टोलीबाट ३८ खेलमा उनले ३८ गोल गर्न सफल भइन्। 

साम्बालाई आजको अवस्थासम्म ल्याइपु¥याउने पुलको काम राष्ट्रिय रेफ्री शुक्र लामाले गरे। साम्बाको गृह जिल्ला लमजुङमा भएको एउटा फुटबल प्रतियोगितामा उनको कौशल देखेपछि शुक्रले उनलाई काठमाडौं पु¥याएका थिए। साम्बा सम्झिन्छिन्, ‘लमजुङमा भएको प्रतियोगितामा म सर्वाधिक गोलकर्ता भएको थिएँ। शुक्र दाइले मेरो खेलबाट प्रभावित भएर सम्र्पक नम्बर लिनुभएको थियो। २ महिनापछि कल गरेर एपिएफ क्लबको ट्रायलमा बोलाउनुभयो।’

उनी थप्छिन्, ‘लम्जुङबाट काठमाडौं करिब ७ घन्टा बसमा यात्रा गरेर पुग्नु थियो। अर्को चिन्ताको विषय पैसा बन्यो। गाउँमा खाली खुट्टा चल्थ्यो। काठमाडौं खेल्न त बुट किन्नु थियो। बुबासँग कुरा गरे आशीर्वाद र ७ हजार रुपैयाँ दिएर पठाउनुभयो, उहाँलाई मप्रति विश्वास थियो। क्लबमा सम्झौता नहुन्जेल त्यही पैसाले जनतेन काठमाडौंमा धानेको थिएँ।’

लम्जुङकी साम्बाको ७ वर्षअघिको सपना नेपाली टिमका कप्तानद्वय जमुना गुरुङ र अनु लामासँग खेल्नु थियो। त्यो लक्ष्य पूरा मात्र भएन् जमुना र अनुको गोलको रेकर्ड तोड्ने एक मात्र खेलाडी नै उनी बनिन्।

संयोगवश जमुनाको २५ गोलको रेकर्ड उनकै गृहजिल्ला मोरङको विराटनगरमा भएको पाँचौं दक्षिण एसियाली फुटबल (साफ) मा बराबरी भयो, र त्यहीँ तोडियो पनि।

सेमिफाइनलमा श्रीलंकाविरुद्ध ३७ औं मिनेटमा गरेको गोलले आँकडा जमुनासँग बराबरी बनायो। फाइनलमा भारतविरुद्ध सान्तवना गोलले जुमनाको गोल संख्यालाई साम्बाले उछिन्न पुगिन्। 

गत वर्ष भदौमा किर्गिस्तानमा भएको ‘नायज्दा कप’मा लक्ष्य पूरा हुने विश्वास लिएकी थिइन्। तर हुन सकेन। आयोजक र्किगिस्तानविरुद्ध ४, ताजिकिस्तानविरुद्ध १ र फाइनलमा उज्वेकिस्तानविरुद्ध २ गोल गरेपछि अनु लामाको कीर्तिमान बराबरी मात्र भयो। नायज्दा कपअघि ओलम्पिक छनोटमा इन्डोनेसियाविरुद्ध २ गोल गर्दै व्यक्तिगत खातामा २८ गोल पु¥याएकी थिइन्। 

३ महिनापछि पोखरामा भएको १३ औ दक्षिण एसियाली खेलकुदमा माल्दिभ्सविरुद्ध १६ औ मिनेटमा गोल गर्दै अनुलाई सर्वाधिक गोलकर्ताको सूचीमा दोस्रो नम्बरमा भारिन्। त्यही खेलमा ह्याट्रिक पूरा गरेपछि साम्बाको गोल संख्या ३८ पुगेको हो। 

साम्बालाई पुरुष फुटबलरको गोल संख्याले पछ्याउन सक्ने अवस्था देखिनन्। साम्बा पुरुष टिमको सर्वाधिक गोलकर्ताको गोल संख्याको ३ गुणा भन्दा १ गोलले मात्र पछि छिन्। 

पुरुष तर्फको सर्वाधिक गोलकर्तामा साम्बाका पूर्वप्रशिक्षक हरि खड्का र निराजन रायमाझीको समान १३÷१३ अन्तर्राष्ट्रिय गोल छ। साम्बाको अन्तर्राष्ट्रिय डेब्यु गोल कृष्णा खत्रीलाई रिप्लेस गर्दै गरेकी थिइन्। सन् २०१४ को साफ च्याम्पियनसिपमा १७ वर्षको उमेरमा भुटानविरुद्ध खेलको ८६ औं मिनेटमा कृष्णाको स्थानमा मैदान प्रवेश गर्दै अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरिन्। त्यसको २ मिनेट नबित्दै साम्बाले पहिलो अन्तर्राष्ट्रिय गोल आफ्नो नाममा लेखाइन्। 

त्यसपछिका ६ वर्ष उनले फर्किएर हेर्नुपरेको छैन। २०७१ साउनयता सशस्त्र प्रहरीको टिम र राष्ट्रिय टिममा गोल मेसिन सावित भइन् साम्बा। उनले भारतको महिला लिगमा जुन टिमबाट खेल्यो त्यसैलाई च्याम्पियन बनाउन भूमिका खेलिन्। पहिलो पटक सेथुलाई उपाधि दिलाइन् दोस्रो पटक गोकुलम एफसीलाई। भारतमा खेल्नुअघि माल्दिभ्समा फुटसलको समेत अनुभव लिइन्। 

उनै साम्बालाई ‘खाली खुट्टादेखि चामत्कारिक खेलाडीसम्मको यात्रा’ शीर्षक राखेर विश्व फुटबलको सर्वोच्च निकाय फिफाले फिचर स्टोरी नै प्रकाशन ग¥यो। २३ वर्षीया सावित्राको लमजुङदेखि काठमाडौं हुँदै फुटबल स्टार बन्दासम्मको रोमाञ्चक यात्रा फिफाले प्रस्तुत गरेको छ। साम्बाको सफलता, उपलब्धि, भावि लक्ष्य र अपेक्षाहरु समेटिएका छन्। 

‘जब म जवान थिएँ, म प्राय रेडियोमा सुन्थें लामा वा गुरुङले राष्ट्रिय टोलीका लागि गोल गरेका छन्।’ उनले फिफा डट कमसँग कुरा गर्दै भनिन्, ‘त्यसबेलादेखि मैले उनीहरूसँग एक दिन खेल्ने सपना देखेको। जब यो साँचो सावित भयो मैले सर्वाधिक गोलकर्ता बन्ने लक्ष्य राखेको थिए त्यो पनि पूरा भयो। इमानदारितापूर्वक भन्नुपर्दा, मैले कहिले पनि आशा गरेको थिइनँ, यी सबै यति चाँडो आउनेछ। तर अब मलाई लाग्छ कि मेरो काँधमा यो जिम्मेवारी र आशा छ।’ 

दक्षिण एसियाली फुटबलमा गोल मेसिनको छवि बनाएपछि उनको लक्ष्यले एकपछि अर्को गर्दै खुड्किलो चढ्दै छ। अब साम्बालाई युरोपमा फुटबल खेल्नु छ। क्लब फुटबल करियर युरोपमा बिताउने साम्बाको नयाँ लक्ष्य हो। ‘मेरो पहिलो लक्ष्य कडा परिश्रम गर्नु र नेपाललाई दक्षिण एसियाको च्याम्पियन बन्न सहयोग गर्नु हो। क्लबको स्तरमा मैले मौका पाएँ भने युरोपमा करिअर अघि बढाउने लक्ष्य छ।’ उनले भनिन्, ‘फुटबलले मेरो जीवनलाई पूर्ण रूपले परिवर्तन गरेको छ। पहिला मलाई कसैले पनि चिनेका थिएनन्। तर अहिले फुटबल मेरो पहिचान हो। देशले मलाई विश्वास गर्दछ। म आफ्नो देशका लागि फुटबलर भनेर चिनिन पाएकोमा गर्व गर्छु।’

२०७५ सालको प्रदर्शनका आधारमा उनले पल्सर स्र्पोटस अवार्डमा उत्कृष्ट महिला विधामा सम्मान पाइन्। यसैगरी २०७६ सालमा संविधान दिवसको अवसरमा राष्ट्रपतिको हातबाट जनश्री पञ्चम श्रेणी पदक पनि हासिल गर्न सफल भइन्।  

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.