|

ओखलढुङ्गा : निगाँलोको डोको, डालो बुनेर छिमेकी गाउँलगायत सदरमुकाम सम्म पु¥याएर बिक्री गर्दै आएका लिखु गाउँपालिका–६ का दुर्गाबहादु पुलामीको दिनचर्या बदलिएको छ। लकडाउनका कारण ती सामग्री बिक्री हुन छाडेपछि उनी खेतीपाती र गाई–भैसी चराउँदै दिन बिताउन थालेका छन्।

लकडाउमा आवतजावतमा कडाइ भएसँगै स–साना घरेलु सामग्री उत्पादन गरेर गाउँगाउँ पुगी बिक्री गरेर आम्दानी गर्दै आएकाहरुको आम्दानीको स्रोत बन्द भएको छ। खेतीपातीभन्दा पनि डोको डालो बुनेर आम्दानी हुने देखेर यस पेशाा लाग्दै आएका सिद्धिचरण नगरपालिका–५ डाँडाखकका तिलक राई एक ठाउँबाट अर्को ठाउँ जान बन्द गरिएपछि बिहान–बेलुका हात मुख जोड्नै समस्या हुने अवस्था आएको बताउँछन्।

गाउँमा पाइने बाँस र निगाँलोबाट बुनिएका घरायसी सामग्री बिक्री गर्न नपाएर थन्किएका छन्। आफूले उत्पादन गरेका बस्तु बिक्री नभएपछि घरायसी खर्चका लागि ऋण लिनु पर्ने अवस्था आएको लिखु गाउँपालिक–६ का चोपबहादुर तोलाङ्गेले गुनासो गरे।

‘जतिखेर जे कुरा समस्या पर्यो त्यती नै बेला घरमा बुनेर राखेका डोको डालो जे छ गाउँमा बेचेर घर खर्च चलाउने गरेको थिएँ,’ उनले भने, ‘यस पटक गाउँ हिँडन नै सबै बन्द भएपछि समस्या भएको छ। बुनेका डोकोडालो सबै घरमा थन्क्याएर राखेको छु।’

सिद्धचरण नगरपालिकाकी उपप्रमुख इच्छाकुमारी गुरुङले नागरिकलाई खानु नै समस्या भए राहत दिने बताउँछिन्। घरेलु सामान उत्पादन गरेर जीविको चलाउनेहरु नगर क्षेत्रमा धेरै भए पनि उनीहरुको तथ्याङ्क नभएका कारण पनि समस्या भएको उनको भनाइ छ। दुई छाक हातमुख जोर्न समस्या हुनेहरुको पहिचान गरी राहत उपलब्ध गराएको र अझै कोही छुट भएकाहरुको पुनः पहिचान गरी राहतको प्याकेज ल्याउने उपाध्यक्ष गुरुङले बताइन्।

व्यावसायिक रुपमा भन्दा घर खर्च र नुनतेल जोहो गर्न घरेलु सामग्री डोको डालो बुन्नेहरु मात्र नभएर विभिन्न घरेलु सामान उत्पादन गर्नेहरु ग्रामीण क्षेत्रमा धेरै रहेका छन्। यस्ता कार्यमा संलग्न ब्यक्तिहरु धेरै भए पनि कति छन् भन्ने तथ्याङ्क भने जिल्लामा कुनै पनि स्थानीय तहले राखेका छैनन्। 

लिखु गाउँपालिका उपाध्यक्ष शान्ता ढुंगेलका अनुसार घरेलु सामग्री उत्पादन गर्ने व्यक्तिहरुका लागि भनेर छुट्टै प्याकेज घोषणा गरिएको नभए पनि बिपन्न र दैनिक कामकाज गर्न नसक्दा प्रभावित भएका ब्यक्तिहरुको समूहमा भने उनीहरु समेटिएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.