लक्षण नदेखिएकाको उपचार घर या क्‍वारेन्टाइनमा

|

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले अब गम्भीर प्रकृतिका कोरोना संक्रमितलाई मात्रै अस्पताल भर्ना गरिने बताएका छन्। 

मन्त्री भानुभक्त ढकालले सरकारलाई उपलब्ध गराइएका भेन्टिलेटरसहितका सामग्री बुधबार बुझ्दै यस्तो बताएका हुन्। उनले संक्रमण फैलिँदै जाने दर बढेकाले सरकारले अहिलेसम्म अवलम्बन गर्दै आएको नीतिमा परिवर्तन गर्ने तयारी भएको पनि उल्लेख गरे। 

'अब अहिलेसम्मको नीति परिवर्तन गर्नुपर्ने भएको छ। अतिसंवेदनशिल बिरामीलाई मात्रै अस्पतालमा उपचार गरिनेछ', उनले भने, 'सामान्य लक्षणसमेत देखा नपरेका संक्रमितलाई क्‍वारेन्टाइन वा आइसोलेसन सेन्टरमा उपचार गर्छौं।'

पछिल्लो समय देशभर २ हजार २ सय भन्दा बढीमा कोरोना संक्रमण फेला परेको छ। कोभिड-१९ संक्रमणका कारण गम्भीर अवस्थामा रहेका बिरामीलाई उपचार गर्न अत्याधुनिक भेन्टीलेटर सेवासहितको उपचार कक्ष आवस्यक पर्छ। 

तर त्यसका लागि अहिलेसम्म आवश्यक पर्याप्त तयारी गरेको देखिँदैन। मन्त्री ढकालले मन्त्रालयले उपचारको तयारीलाई तीव्रता दिएको अवस्थामा भेन्टिलेटरसहितका स्वास्थ्य सामग्री प्राप्त हुँदा आफूहरुको मनोबल बढेको बताए।

उनले नेपालमा संक्रमण बढ्दै गएको अवस्थामा बिरामीको उपचारलाई ध्यान दिदै भेन्टीलेटर सहितका स्वास्थ्य सामग्री उपलब्ध गराएकोमा खुशी व्यक्त गरे। बुधबार अन्तर्राष्ट्रिय बौद्ध संस्था चु जी फाउण्डेशनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ३० वटा भेन्टिलेटर सहयोग गरेको छ।

कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भएका विरामीहरुको उपचारका लागि सहयोग पुर्‍याउने उद्देश्यसहित चु जी फाउण्डेशन ले हेल्थ इन्भायोरोमेन्ट एण्ड काइभेट एक्सन फाउन्डेशन ‘हेकाफ ३६०’ मार्फत सरकारलाई ३० वटा जीवनरक्षक भेन्टिलेटर उपलब्ध गराएको हो । 

यसबाहेक पिपिई, पञ्जा, गाउन, मास्क, इन्फ्रारेड थर्मोमिटर, सेफ्टी ग्लास लगायतका अत्यावस्यक स्वास्थ्य सामग्रीसमेत उपलब्ध गराएको हेकाफका अध्यक्ष महेश नकर्मीले बताए। उनले कुल १ करोड ७० लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.