|

मनाङ : अज्ञात व्यक्तिले मनाङको एक नर्सरीमा उत्पादित स्याउका बिरुवा काटिदिएका छन् । मंगलबार राति ङिस्याङ गाउँपालिका–४ हुम्डे एयरपोर्टस्थित ङिस्याङ भ्याली स्याउ फार्मको नर्सरीका बिरुवा र फूल खेल्दै गरेका स्याउका बोट काटिएका हुन्। 

नर्सरीमा उत्पादित करिब १५० स्याउका फूल खेल्दै गरेका बोट र १०० बिरुवा काटिएको भेटिएको फार्मका सञ्चालक राजु गुरुङले बताए । गुरुङका अनुसार बोट, बिरुवा र सिँचाईका पाइप काटिँदा पाँच लाख क्षति भएको छ । 

‘आज बिहान फार्म हेर्न जाँदा केही काटिएको र केही उखेलिएको भेटिएको छ। यसले धेरै क्षति भयो,’ उनले भने, ‘स्याउका बोट, बिरुवासँगै फार्ममा पानी सिँचाइका लागि पानी ल्याएका पाइपसमेत काटिएको छ।’ 

५० रोपनी क्षेत्रफलमा रहेको स्याउ फार्ममा बिरुवा र स्याउ उत्पादनका लागि करिब ९० लाख लगानी गरेको गुरुङको भनाई छ । उक्त फार्मले नयाँ प्रजातिको स्याउका बिरुवा उत्पादन र विक्री वितरण गर्दै आएको छ । रैथाने प्रजातिको स्याउको संरक्षणका लागि हुर्काउँदै गरेका बिरुवासमेत काटिएको छ । 

स्याउका बोट काटिएपछि शंकास्पद केही व्यक्तिलाई पक्राउ गरी अनुसन्धान भइरहेको ङिस्याङ हुम्डे एयरपोट इलाका प्रहरी कार्यालयका इञ्चार्ज सई धन बहादुर थापाले बताए। थापाका अनुसार शंकास्पदरुपमा समातिएका व्यक्तिको अनुसन्धान भइरहेको छ।

उक्त फार्मले गाला, फुजी, गोल्डेन र रैथाने प्रजातिका स्याउका बिरुवा उत्पादन गर्दै आएको छ । त्यहाँ उत्पादन भएका केही बिरुवा फार्ममै लगाउने र केही किसानलाई बिक्री गरिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.