काठमाडौं : अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले तराई मधेसका युवाहरुलाई लक्षित गरी ग्रास रुट कार्यक्रम सञ्चालन गरेको विषयमा बोलेको अभिव्यक्तिको विरोधमा प्रतिक्रिया दिएका छन्।
शेर्पाले एक प्रेस विज्ञप्ति जारी गर्दै तराईका समुदायमाथि राष्ट्रियताको प्रश्न गर्ने आफ्नो मनसाय नभएको प्रष्ट पारेका छन्। एउटा अनलाईन सम्वादका क्रममा ‘तराईका बच्चाहरुलाई फूटबलप्रतिको आकर्षण बढाउन र राष्ट्रियता सिकाउनका लागि ग्रास रुट कार्यक्रम सुरु गरेको’ बताएपछि शेर्पाको कडा आलोचना र विरोध भइरहेको छ।
शेर्पाविरुद्ध कारवाही गर्न संसदभित्र आवाज उठेको छ भने उनलाई कारवाहीको माग गर्दै असन्तुष्ट चार जिल्ला संघका अध्यक्षले संयुक्त रुपमा मन्त्री परिषद तथा प्रधानमन्त्रीको कार्यालय र खेलकुद मन्त्रालयमा निवेदन समेत दिएका छन्। आफ्नो अभिव्यक्तिलाई लिएर तिब्र विरोध भएपछि शेर्पाले आज विज्ञप्तिमार्फत आफूले खेल भावनाबाहेक कुनै मनसाय राखेर वा कुनै क्षेत्र, प्रदेश र भुगोललाई होच्याउने वा नकारात्मक सन्देश प्रवाह गर्न नखोजेको प्रष्ट पारेका हुन्।
आफ्नो अभिव्यक्ति कुनै सम्प्रदाय, बर्ग, जाति, लिङ्ग, भाषाभाषी, प्रदेश र भुगोलप्रति लक्षित नगरेको र नभएको उनको भनाई छ। ‘मेरा भनाईलाई तोडमोड गरी फुटबलप्रति वितृष्णा उत्पन्न गराउने मनसायबाट प्रेरित तत्वले एन्फा र यसको नेतृत्वको छवि धमिल्याउने र हुँदै आएको फुटबल विकासको गतिमा अवरोध पुर्याउने योजना मुताबिक आएको बुझ्न अनुरोध गर्दछु’ एन्फा अध्यक्ष शेर्पाले भनेका छन्।
कुनैपनि भाषा, वर्ग, धर्म, लिङ्ग तथा सम्प्रदायका नेपालीको राष्ट्रियतामाथि प्रश्न गर्ने आफ्नो अभिप्राय र भावना नरहेको उनको प्रष्टोक्ति छ। ‘यद्धपी अन्तरवार्ताका क्रममा व्यक्त शब्दावलीबाट नेपाली दाजु—भाई तथा दिदी—बहिनी एवं त्यस क्षेत्रका नेपालीहरुमा कुनै चोट वा ठेस पुग्न गएमा म हार्दिक क्षमायाचना गर्दछु’ एन्फा अध्यक्ष शेर्पाले विज्ञप्तिमा भनेका छन्। उनले राष्ट्र र राष्ट्रियताबारे एन्फा र आफूमा कुनै सन्देह र भ्रम नरहेको पनि उल्लेख गरेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।