शवको रिपोर्ट नआएकाले सन्तानले बुवाको अनुहारसम्म देख्‍नसमेत पाएनन्

|

पाल्पा : पूर्वखोला गाउँपालिका १ सिलुवाका ४५ वर्षीय रामबहादुर दिशुवाको शव अस्पतालमै अलपत्र परेको छ। गएको मंगलबार मध्याह्न साढे १२ बजे उनको मृत्यु भएको थियो। अहिलेसम्म शवको अन्त्येष्टि गर्न परिवारले पाएका छैनन्।

के कारणले मृत्यु भएको भन्नेबारे रिपोर्ट नआएकोले शव अस्पतालमै अलपत्र परेको हो। तीन दिनदेखि शव तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा छ। परिवारले समेत शव हेर्न पाएका छैनन्। उनकी श्रीमती अर्धचेत अवस्थामा छिन्। साना छोराछोरी पनि विक्षिप्त छन्।

गएको आइतबार भारतको मुम्बईबाट फर्किएका उनी भारतीय सीमा नाका सुनौली हुँदै पाल्पा आएका थिए। बिरामी अवस्थामा राति गाउँपालिकाको क्वारेन्टाइनमा पुगेका उनलाई थप बिमारले च्यापेपछि अर्को दिन बिहान उपचारका लागि तानसेन पुर्‍याइयो। मिसन अस्पतालको आइसोेलेसनमा उपचारकै क्रममा उनको मृत्यु भयोे। 

शवसमेत देख्न नपाउँदा अहिले परिवार बेहाल अवस्थामा छन्। श्रीमती, एक छोरा र २ छोरी रूवाबासी गरिरहेका छन्। रिपोर्ट छिटो नआउँदा आफूहरूलाई थप पीडा भएको छोरा नेत्र बहादुर रुँदै भन्छन्। 

‘रिपोर्ट छिटै आए त्यसैअनुसार बुवाको दाहासंस्कार गर्न हुन्थ्यो’, उनले भक्कानिँदै भने, ‘उता अस्पतालमा बुवाको शव अलपत्र छ, यता परिवारमा रूवाबासी छ।’ विक्षिप्त अवस्थामा रहेका आमा र बहिनीलाई सम्हाल्न १८ वर्षीय नेत्रलाई हम्मेहम्मे परेको छ।  

रामबहादुरलाई सास फेर्न गाह्रो हुने, पेट फुलिने, सुक्खा खोकी लाग्ने र खकारमा रगतसमेत देखिएपछि उपचारका लागि भर्ना गरिएको थियो। रामबहादुरमा कोरोनाका केही लक्षण देखिएको अस्पतालका प्रशासकीय प्रमुख जीवन भट्टराइले बताए। तर अहिले सबै भन्न सकिने अवस्था नभएको उनले बताए।

‘रिपोर्ट कहिले आउने हो, अझैसम्म टुंगो लागेको छैन,’ जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्व न्यौपानेले भने। उनका अनुसार पिसिआर विधिमार्फत स्वाब परीक्षणका लागि भैरहवा प्रयोगशालामा पठाइएको छ। 

आफूले निरन्तर मृतकको शव हो, भन्दै प्रयोगशालाका निर्देशकसँग कुरा गरिरहेको न्यौपानले बताए। तर रिपोर्ट कहिले र कतिबेला आउँछ भन्ने अन्योल रहेको न्यौपानले बताए।  

पिसिआरको रिपोर्ट नआउँदासम्म शव त्यहीँं रहने जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सुरज श्रेष्ठले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.