|

बैतडी : जिल्ला अस्पताल बैतडीमा उपचाररत सुत्केरीको आरडिटी परीक्षणमा पोजेटिभ आएपछि उनको सम्पर्कमा रहेका १९ जना स्वास्थ्यकर्मीलाई सेल्फ क्वारेन्टाइनमा राखिएको छ। 

जेठ २० राति शल्यक्रिया गरी सुत्केरी भएकी दोगडाकेदार–६ सित्तड घर भएकी ती महिलामा बुधवार चेकजाँच गर्दा १०५.१ डिग्री फरेनहाइट ज्वरो देखा परेपछि आरडिटी गरिएको हो। शिशुको भने आरडिटी रिपोर्ट नेगेटिभ आएको छ। सुत्केरीको आरडिटी पोजेटिभ देखिएपछि उनको प्रत्यक्ष सम्पर्कमा रहेका स्वास्थ्यकर्मीलाई सेल्फ क्वारेन्टाइनमा राखिएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज जोशीले जानकारी दिए।

‘अस्पतालमा आउने अरु बिरामी चेकजाँच र अरुको सम्पर्कमा नजाने गरी सेल्फ क्वारेन्टाइनमा बस्न भनेका हौं,’ डा. जोशीले भने, ‘१९ जना स्वास्थ्यकर्मी क्वारेन्टाइनमा बस्दा सेवा पनि प्रभावित भएको छ।’

आरडिटी पोजेटिभ ती महिलाको थ्रोट स्वाब नमूना संकलन गरि पिसिआर परिक्षणका लागि धनगढी प्रयोगशाला पठाइएको छ। सुत्केरीलाई अस्पतालकै आइसोलेसनमा राखिएको छ।  १९ वर्षीया महिला जेठ १९ मा अस्पतालमा भर्ना भएकी हुन्। सामान्यतया ४० हप्तामा बच्चा जन्मिने भए पनि ती महिलालाई ४३ हप्ता भइसक्दा समेत पेटको पानी सुकेर ब्यथा नलाग्ने समस्या रहेको डाक्टर जोशीको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.