भारतबाट फर्किएका पुरुषको आरडिटी 'नेगेटिभ' थियो

|

डडेल्धुरा : भारतबाट फर्किएका बझाङक एक पुरुषमा कोरोना पोजेटिभ देखिएको छ।  एक साता अघि मात्रै भारतको दिल्लीबाट फर्किएका  वित्थडचिर गाउँपालिका-७ का २६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो। 

धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक हरिभक्त अवस्थीले जानकारी दिए।

अस्पताल पुग्दा कोरोना रिपोर्ट 'पोजेटिभ'

स्वास्थ्य संयोजक अवस्थीका अनुसार उनी श्रीमती र बच्चासहित जेठ १४ गते भारतको दिल्लीबाट आएका थिए। उनीहरूलाई १५ गते सुनकुडा क्याम्पसको क्वारेन्टाइनमा राखिएको थियो। उनीहरूसहित उक्त क्वारेन्टाइनमा ३५ जनालाई राखिएको अवस्थीले जानकारी दिए।

 'उहाँहरूलाई हामीले क्वारेन्टाइनमा राखेका थियौं। केही दिन अघि उनको बच्चामा स्वास्थ्य समस्या देखियो। हामीले आरडिटी गर्‍यौं। बच्चा र आमामा आरडिटी पोजेटिभ देखाएको थियो। ती पुरुषमा पोजेटिभ देखाएको थिएन।'उनले भने,'पछि हामीले तीनैजनाको स्वाब संकलन गर्‍यौं र धनगढी पठाएका थियौं। र, ती पुरुषमा पिसिआर 'पोजेटिभ' देखायो।' 

उनका अनुसार आमा र बच्चाको पिसिआर रिपोर्ट भने 'नेगेटिभ' आएको छ। बच्चामा पखाला, ज्वरो र बान्ता गर्ने समस्या देखिएपछि बझाङबाट थप उपचारका लागि डडेल्धुरा अस्पताल ल्याइएको थियो। 

डडेल्धुरा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जगदीशचन्द्र विष्टका अनुसार बच्चा र आमासंगै ती पुरुष पनि बच्चाको उपचारका लागि एम्बुलेन्समार्फत अस्पताल आइपुगेका थिए। 

'उहाँहरू अस्ति (२१ गते) साँझ अस्पताल आउनु भएको हो। बच्चाको स्वास्थ्यमा समस्या थियो। एम्बुलेन्सले यहाँ पुर्‍याएको थियो', उनले भने,'हातले हिजो बेलुका ती पुरुषमा कोरोना पोजेटिभ देखिएको खबर पायौं।' उनका अनुसार अहिले उनलाई डडेल्धुरा अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ। 

बच्चाको स्वास्थ्य अवस्था गम्भीर रहेको र थप उपचारका लागि धनगढी पठाउने तयारी भइरहेको निमित्त मेसु विष्टले जानकारी दिए। 'बच्चाको स्वास्थ्य अवस्था अलिक गम्भीर छ। त्यसैले उनलाई धनगढी पठाउने तयारी गर्दैछौँ,' उनले भने,'आमा त्यति धेरै जान्‍नु हुँदैन। उहाँलाई घरबाट मान्छे बोलाउन भनेका छौँ।'

क्‍वारेन्टाइनमा स्वाब संकलन

संक्रमित पुरुषसँगै क्वारेन्टाइनमा बसेकाहरूको कोरोना परीक्षणका लागि थ्रोट स्वाब संकलन गरिने भएको छ। स्वास्थ्य संयोजक अवस्थीका अनुसार शनिबारसम्म सुनकुडा क्याम्पसको क्‍वारेन्टाइनमा बसेकाहरूको स्वाब संकलन गरिन लागिएको हो।

उनले ती व्यक्तिहरूलाई डडेल्धुरा अस्पताल पुर्‍याउने एम्बुलेन्सको पनि खोजी गरिने बताए।

बझाङमा कति भित्रिए?

हालसम्म भारतबाट मात्रै बझाङमा ३ हजार १ सय १० जना पुगेका छन्। जसमा २ हजार ४ सय ४२ पुरुष र ६ सय ६८ महिला तथा २ सय ५८ जना बालबालिका छन्। 

उनिहरु सबै जिल्लाका १२ वटै स्थानीय तहहरुले निर्माण गरेका १७२ वटा क्‍वारेन्टाइनमा बसिरहेको  कोभिड १९ सम्पर्क व्यक्ति नारायण जोशीले जानकारी दिए।

अझै भारतबाट आउने क्रम जारी छ। अहिलेसम्म जिल्लामा १ हजार ६ सय तीन जनाको आरडिटी गरिएको छ । जसमध्ये ३४ जनामा पोजेटिभ देखिएको थियो।

यस्तै २ सय ७६ जनाको पिसिआर परीक्षणका लागि  नमुना संकलन गरिएकोमा २ सय ४१ जनाको मात्रै नतिजा प्राप्त भएको र ती मध्ये एकजनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको कोभिड १९ सम्पर्क व्यक्ति जोशीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.