सिमरा : म्याद गुज्रिएको ७२ हजार केजी चिनी नेपाल भित्रिएको ३ महिनापछि खाद्य तथा गुण नियन्त्रण विभाग बबरमहलले आयातकर्तासँगको मिलेमतोमा पुन: परीक्षण गरी खानयोग्य भनी प्रमाणित गरेको छ।
अनुष्का मल्टिपर्पोज कम्पनी प्रालि बागेश्वरी मनहराले भारतबाट आयात गरेको म्याद गुज्रिएको चिनी ३ महिनापछि खाद्य तथा गुण नियन्त्रण विभागले पुन: परीक्षण गरेर नेपाल सरकारको मापदण्डअनुसार खान योग्य रहेको भनि प्रमाणित गरेको हो।
विभागकै कर्मचारीमाथि मिलेमतोको आरोप
यसअघि आफ्नै मातहतको कार्यालय जलेश्वर खाद्य क्वारेन्टाइनको परीक्षण प्रतिवेदनले सो चिनी म्याद गुज्रिएको र सेवन गर्न अयोग्य भनी प्रमाणित गरेको थियो। उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय अध्यक्ष ज्योति बानियाँले खाद्य तथा गुण नियन्त्रण विभागकै कर्मचारीको मिलेमतोमा व्यवसायीलाई फाइदा पुग्नेगरी मुद्दा टुंगाउन खोजिएको बताएका छन्।
‘आफनै मातहतको कार्यालयले म्याद गुज्रिएको भनिएको चिनी विभागले आफूअनुकूल गोप्य रुपमा पुन: परीक्षण गरेर खान योग्य छ भन्नुले यसमा राजस्व अनुसन्धान कार्यालय, खाद्य परीक्षण विभाग र स्थानीय प्रशासनको स्पष्ट मिलेमतो देखिन्छ’ अध्यक्ष बानियाँले भने।
जलेश्वर खाद्य आयात निर्यात प्रमाणीकरण कार्यालयले फागुन २५ गते ‘प्रयोगशालामा विश्लेषण गरेको पारामिटरको आधारमा प्राप्त नमुना आयात गर्न योग्य नदेखिएको तथा उपयुक्त नमुनाको उपभोग्य मिति समाप्त भइसकेको छ’ खाद्य प्रमाणीकरण कार्यालय जलेश्वरले भन्सारलाई पठाएको पत्रमा उल्लेख छ।
पत्रमा म्याद गुज्रिएको स्पष्ट उल्लेख हुँदाहुँदै तत्कालीन जलेश्वर भन्सार प्रमुख केशवकुमार भण्डारी र कर्मचारीकै मिलेमतोमा सो चिनी नेपाल भित्रिएको थियो। ३ महिनादेखि राजस्व अनुसन्धान कार्यालय पथलैयाको नियन्त्रणमा रहेको १४ सय ४० बोरा चिनी अनुसन्धानका कम्रमा राजस्व चुहावट नदेखिएपछि यसको सम्पूर्ण अनुसन्धान जिल्ला प्रशासन कार्यालय बाराले गरिरहेको छ।
खानयोग्य भनी पत्र आयो : प्रजिअ
बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले तत्कालीन अवस्थामा म्याद गुज्रिएको भनिएको चिनी नेपाल सरकरकारको मापदण्डअनुसार सेवन योग्य भएको प्रमाणीत पत्रसहित आफूकहाँ आएको बताए। ‘खाद्यय गुण नियन्त्रण विभागले नै चिनी खान योग्य छ भनी प्रमाणित गरेको पत्र म कहाँ आईपुगेका छ, अब यसमा कुन कर्मचारीको लापरवाही कारण म्याद गुज्रिएको चिनी सेवन गर्न योग्य भनियो अनुसन्धान हुँदैछ’ बाराका प्रजिअ पण्डितले भने।
भारतको उत्तर प्रदेशबाट पूर्वको जलेश्वर भन्सार कार्यालय हुँदै नेपाल भित्रिएर काठमाडौं लैजाँदै गरेको ७२ हजार केजी चिनी नेपालमा कसरी भित्रियो, कुन कर्मचारी वा सरकारी निकायको मिलेमतो र लापरवाहीका कारण सेवन गर्न अयोग्यलाई कागजी रुपमा योग्य बनाइयो भन्ने विषयमा अनुसन्धान नहुनु लजास्पद भएको उपभोक्ता अधिकारकर्मीले जनाएका छन्।
‘यो सिधै आर्थिक प्रलोधनमा परेर राजस्व अनुसन्धान, खाद्य तथा गुण नियन्त्रण विभाग र स्थानीय प्रशासनकै मिलेमतोमा अखाद्य चिनीलाई ३ पछि खान योग्य बनाइएको हो’ उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष बानियाँले भने।
म्याद गुज्रिएको अखाद्य चिनीलाई खाद्य गुण नियन्त्रण विभागले जेठ १४ खान योग्य प्रमाणित गरेर २५८० र २५८१ कार्यालयमा दर्तासमेत गरेको छ। राजस्व अनुसन्धान कार्यालय पथलैया स्रोतले भने जलेश्वर खाद्य क्वारेन्टाइन कर्मचरी आर्थिक प्रलोभन परेर मागेजति रकम नदिएकै कारण खान योग्य चिनीलाई म्याद गुज्रिएको भनी गलत पत्र बनाएको आरोप लगाएका छन्।
‘यसमा खाद्य क्वारेन्टाईनका कर्मचारी र चिनी तस्करहरु विचकै तछाडमछाडमा कारण खान योग्य चिनीलाई म्याद गुज्रिएको भनि गलत पत्र बनाईएको छ’राजस्व अनुसन्धान कार्यालय पथलैयाका एक अधिकारीले भने, ‘कर्मचारीको गलत प्रवृत्तिले लाखौँ मूल्यको सामान नोक्सान हुने मात्रै होईन, व्यवसायीको मनोबलसमेत गिराउछ।’ ३ महिनादेखि राजस्व अनुसन्धानको परिसरमा बेवारिसे रुपमा रहेको चिनीको विषयमा वास्तविकता समयममै छानविन र अनुसन्धान नहुँदा बर्खाको पानीले भिजेर चिनी धेरै नोक्सानसमेत भइसकेको छ।
अनुसन्धान गर्दै छौँ : महानिर्देशक
यता, भन्सार विभागका महानिर्देशक सुमन दहालले म्याद गुज्रिएको चिनी नेपाल कसरी भित्रियो भन्ने विषयमा अनुसन्धान भइरहेको जनाए। ‘भन्सारका कर्मचारीबाट गल्ती हो वा व्यवसायीको चलखेलबाट म्याद गुज्रिएको चिनी नेपाल भित्रिएको हो अनुसन्धान भइरहेको छ’ विभागका महानिर्देशक दहालले भने।
यस्तो लापरबाहीमा संलग्न कर्मचारीको अनुसन्धान र कारवाही नहुनु लजास्पद भएको विषयमा विभाग प्रमुख दहालले कर्मचारीलाई कारबाही गर्ने अधिकार आफ्नो हातमा नभएको प्रष्टाए। अनुष्का मल्टिपर्पोज कम्पनी प्रालिले फागुन २५ गते भारतबाट काठमाडौं लैजादै गरेको चिनी छोटो दूरीमा रहेका वीरगञ्ज र भैरहवा भन्सार छोडेर महँगो भाडा तिरेर महोत्तरीको जलेश्वर भन्सार प्रयोग गर्नुले पनि आशंका निम्त्याएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।