नगरप्रमुख भन्छन् : बजेटले पुग्दैन, कसरी बनाउनू

|

जाजरकोट : शिवालय गाउँपालिका–९ खारामा सरकारले पुल निर्माण गर्ने भन्दाभन्दै तुइनबाट खसेर अहिलेसम्म १८ जनाले ज्यान गुमाइसकेका छन्। यहाँ पुल बनाउने अत्तोपत्तो नहुँदा शिवालय गाउँपालिका–९ की ६१ वर्षीया भीमादेवी बुढालाई साह्रै चित्त दुखेको छ।

उनका बाबा नेपालगन्जबाट नुन  लिएर जाँदै गर्दा २०४५ सालमा छेडागाडमा रहेको पारपार गर्ने लाप्कोबाट खसेर पानीमा डुव्दा मृत्यु भएको घटना दिमागमा ताजै छ। 

‘धेरै मानिसहरु पुल बनाउछौँ भन्दै आउँछन्, तर पुल बन्ने कहिले होइन,’ भीमादेवीले भनिन्, ‘मेले थाहा पाएसम्मा १८ जनाको मृत्यु तइनबाटै खसेर मृत्यु भइसकेको छ, अझै कतिजनाको मृत्यु हुन्छ थाहा छैन?’

उनका अनुसार तुइनभन्दा पहिले छेडाखोलामा काठबाट निर्माण गरिएको लाप्को (लामो काठ खोलामाथि राखिएको) थियो। लाप्को हटाएर फलामको लहरो टाँगी तुइन बनाइ बारपार गर्न थालेकोसमेत २० वर्ष पुरा भइसकेको छ। 

यही बाटो महिनैपिच्छे ठूला पदमा आशिना व्यक्तित्वहरु आउने र जाने गर्दछन् तर तुइन हटाएर पुल निर्माण गर्नेतर्फ कसैको ध्यान जान सकेको छैन। 

पुल निर्माणका लागि अब आन्दोलन नै गर्नुपर्ने अवस्था आएको अर्का छेडागाड नगरपालिका–१२ का मनोहर रोकायले बताए। ‘सजिलो तरिकाले भन्‍ने हो भने कसैले नसुन्‍ने रहेछन्’, उनले भने, ‘सरकारले तुइन हटाउँछु भनेको समाचार सुन्दा हाम्रोमा हट्छ भन्ने आशा लागेको थियो। तर अहिले सम्मा न तुइन हट्यो न त हाम्रा दुःखका दिन नै गए।’

शिवालय गाउँपालिका–९ र छेडागाड नगरपालिका–१२ बीचको छेडागाड नदीमा पुल बनाउन अब अनसन नै बस्नु पर्ने अवस्था आएको भन्दै स्थानीयवासी शान्त बुढाले आक्रोश पोखे।

प्रत्येक दिन शिवालय गाउँपालिका–९ खारास्थित नवप्रतिभा आधारभूत विद्यालयमा पढ्ने विद्यार्थीहरुको मूलबाटो यही तुइन हो। छेडा नदीमा दैनिक फलामको लहरोमा झुण्डिएर चार वर्षीय बालबालिकादेखि वृद्धसम्म वारपार गर्छन्। ‘मरिन्छ की बाँचिन्छ भन्दै नदीमाथि चिन्डोझँै झुण्डिएर मुटु कमाउँदै वारपार गर्नुपर्छ’, स्थानीयवासी बीरबहादुर पुनले भने, ‘काप्दै काप्दै वारपार गर्नुपर्ने पीडा कहिलेसम्म रहला?’

खारास्थित गाउँमा बजार छ। दैनिक खाद्यान्न लिन आउनेदेखि यातायातका साधन भेटाउनसमेत यही तुइन तरेर आउनुपर्ने बाध्यता रहेको बीरबहादुर पुनले बताए। 
‘अब हामीलाई यो ठाउँमा पुल निर्माण नगर्ने नेतालाई भोट नै नदिने निर्णय मात्र गर्न बाँकी छ’, उनले भने, ‘जनताको पीडामा रमाउने व्यक्ति कदापि हाम्रो जनप्रतिनिधि हुन सक्दैनन्। 

स्थानीयबासीले अझै तुइनबाट खसेर मर्नुपर्ने अवस्था हट्न नसकेको भन्दै आक्रोश पोखिरहेका छन्। तुइन भएको ठाउँबाट झोलुङ्गे पुल पुग्न २ घण्टा हिँड्नु पर्ने बाध्यता छ। हिउँदयाममा हिँडेपनि वर्षायाममा मोर्क खोलामा पानी बढेपछि पुल तरेर गए पनि काम नहुने सर्वसाधारणहरु बताउँछन्। 

मोर्कमासमेत ९ वर्षदेखि यातायातका साधन सञ्चालन गर्न पुल निर्माणको आधा काम भएर रोकिएको छ। यो ठाउँमा बसेदेखि अहिलेसम्म छेडाखोलामा अकालमै ज्यान गुमाउनु पर्नेको हिसाब नै नभएको स्थानीयवासी बताउँछन्। ‘बाजेदेखि नातिसम्मका पुस्ताले पुलकै लागि लडाईँ गर्नुपर्ने बाध्यता कहिले अन्त्य होला’, स्थानीयबासी पूर्णसमिर महतरा भन्छन्, ‘यो पीडाबाट हामीले कहिले मुक्ति पाइएला।’

पुल बनाउन बजेट छैन

उनलाई संघ, संस्थाबाट मानिसहरु आएर एक पटक नापजाँच गरेर फर्केकोसमेत याद छ। छेडागाड नगरपालिकाका नगरप्रमुख लालबहादुर महतराले बजेट अभावका कारण पुल बनाउन नसकिएको बताए। 

‘पुल बनाउने इच्छा भएपनि पैसो छैन, कसरी बनाऊँ’, उनले भने, ‘प्रदेश सरकारले यसतर्फ ध्यान दिएर पुल निर्माण गरिदिए आभारी हुने थियौँ।’

जाजरकोटमा सबैभन्दा बढी जनसंख्या छेडागाड नगरपालिकामा छ। शिवालय गाउँपालिका–१ र छेडागाड नगरपालिका–१३ बीचमासमेत तुइनकै भरमा आवतजावत हुँदै आएको छ। 

स्थानीयबासीले फोस्रा चुनावी नाराभन्दा काम गरेर देखाउने जनप्रतिनिधि खोजिरहेको बताउँदै आएका छन्। नयाँ बजेटमा पनि सरकारले अधिकांश तुइन विस्थापित भएको बताएको छ। तर जाजरकोटबासीको नियति भने ठीक उल्टो छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.