|

भद्रपुर : सीमा नाका सिल भएको अवस्थामा पनि झापाको भद्रपुर नाकाबाट सशस्त्र प्रहरीकै सेटिङमा तस्करी भइरहेको घटना बाहिरिएपछि सशस्त्र प्रहरी बल नेपाल १ नम्बर बराह बाहिनी मुख्यालय सुनसरीले यसतर्फ चासो देखाएको छ।

‘सशस्त्र प्रहरीकै सेटिङमा तस्करी १ नेपाल प्रहरीद्वारा बरामद’ भन्ने शीर्षकमा बिहीबार थाहा खबरमा समाचार प्रकाशन भएपछि सशस्त्र प्रहरी बल नेपाल १ नम्बर बराह बाहिनी मुख्यालय सुनसरीका डिआइजी नगेन्द्रबहादुर थापाको गम्भीर ध्यानाकर्षण भएको छ।

१ नम्बर बराह बाहिनी मुख्यालयले शुक्रवार सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण झापालाई प्रकाशन भएको समाचारको कटिङसहित घटनाको सत्यतथ्य छानबिन गर्न लिखित निर्देशन दिएको छ।

बराह बाहिनी मुख्यालयले निर्देशन दिएपछि सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण झापाका एसपी रेसमकुमार थक्सुले डिएसपी कृष्ण श्रेष्ठको नेतृत्वमा शनिवार छानबिन समिति गठन गरेको बताइएको छ।

अब छानबिन समितिले भद्रपुर नाकाबाट भएको तस्करीको विषयमा सशस्त्र प्रहरीको संलग्नता छ वा छैन त्यस विषयमा अनुसन्धान गरी प्रतिवेदन तयार पारेर १ नम्बर बराह बाहिनी मुख्यालयबाट पठाउने जनाइएको छ।

यता, बिहीबार जिल्ला प्रहरी कार्यालय झापा र वडा प्रहरी कार्यालय भद्रपुरको संयुक्त प्रहरी टोलीले भद्रपुरको दुइटा गोदाममा छापा मारेर ४ लाख २७ हजार मूल्य बराबरको रजनीगन्धा, तुलसी र कपडा बरामद गरेको थियो। बरामद गरिएको रजनीगन्धा भद्रपुर नाकाबाट भित्राइएको हो। 

बरामद गरिएको सामानसहित कारोबारी अशोक सहनीलाई प्रहरीले भद्रपुर भन्सार कार्यालय बुझाएको थियो। भन्सारले सहनीसँग बयान लिएर ४ लाख २७ हजार धरौटी लिएर शुक्रवार बेलुका छाडेका भन्सार कर्मचारी विकास दाहालले जानकारी दिए।

रोकिएन तस्करी, फेरि सामग्री बरामद

लकडाउनमा पनि झापाको भद्रपुर नाकाबाट नेपालमा प्रतिबन्धित भारतीय ब्रान्डका सुर्तीजन्य पदार्थ र रगनीगंन्धाको तस्करी अझै रोकिएको छैन।

वडा प्रहरी कार्यालय भद्रपुरको टोलीले भद्रपुर नगरपालिका ५ स्थित देवीवस्ती नाकाबाट शनिवार बिहान अन्दाजी ५२ हजार मूल्य बराबरको सुर्तीजन्य पदार्थ र रजनीगन्धा बरामद गरेको छ।

नेपाल प्रहरीले बिहीबार मात्रै भद्रपुर नाकाबाट भित्राइएको ठुलो परिमाणको रजनीगन्धा, तुलसी नामक सुर्ती र कपडा दुई वटा गोदाममा छापा मारेर बरामद गरेको थियो। त्यो घटना सेलाउन नपाउँदै वडा प्रहरीले शनिवार बिहान बरामद गरेको र रजनीगन्धा र तुलसी मेची पुलदेखि उत्तर देवीवस्तीबाट बरामद गरेको हो। मेची पुल र देवीवस्ती नाकामा दुई स्थानमा स्थायी प्रहरी पोस्ट राखिएको छ। मेची पुलमा सशस्त्र र नेपाल प्रहरी खटिएका छन्, भने देवीवस्तीमा सशस्त्र प्रहरी मात्रै खटाइएको छ। पुलदेखि देवीवस्तीको नाकाको दुरी ५०० मिटरभित्रै पर्छ।

मेची पुल र देवीवस्तीमा खटिएका प्रहरी लकडाउन लक्षित नभएर बर्षोदेखि सीमा हुने अवैध गतिविधि रोक्न चौबिसै घण्टा खटिरहेका छन्। त्यही नाकाबाट अहिले पनि धमाधम तस्करी भइरहेको छ। तस्करी तथा कारोबारीले भद्रपुरमा खटिएका सशस्त्र प्रहरीलाई सेटिङ गरेर अवैध सरसामान भित्राइरहेको छ।

उनीहरूले सशस्त्र प्रहरीलाई पोकाको एक हजार र इन्चार्जलाई ५ हजारसम्म एक पटक काम गरेबापत दिने गरेको कारोबारी स्रोतको दाबी छ। बिहीबार रजनीगन्धा र तुलसीसहित नियन्त्रणमा लिएका कारोबारी अशोक सहनीले समेत सशस्त्र प्रहरीलाई रकम दिएर काम गरेको स्वयम प्रहरीलाई बयान दिएको प्रहरी स्रोतको दाबी छ। उनले पनि देवीवस्ती नाकाबाटै रजनीगन्धा र तुलसी भित्राएका थिए।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.