|

बाग्लुङ : भीर मौरीको मह सिकार गर्ने बेला ताराखोला गाउँपालिका–५ मा पर्ने छेल्डर खोलाको महभीरमा मह उत्सव लाग्थ्यो। गाउँभरिका युवा जम्मा भएर अक्करे भीरमा रहेको मौरीको पोलामा भीरमुनिबाट आगो लगाउँथे। 

धुवाँले निसासिएका मौरी भागेपछि हेर्दै डरलाग्दा अक्करे भीरमा युवा झुण्डिन्थे र मह निकाल्थे। गाउँका बुढापाकादेखि केटाकटीसम्म जम्मा भएर मह काडेको रोमाञ्चक दृश्य हेर्थे। भीर छेउमा पुगेका सबैले भाग पाउँथे। कतिले त्यहीँ मह खाँदै रमाउँथे भने कतिले मह बोकेर घर फर्किन्थे। भीरमौरीको मह काँड्ने ताराखोलाको परम्परा नै हो। 

तर, यो वर्ष कोरोना कहरका कारण अघिल्ला वर्षहरुमा जस्तो त्यो रौनाक आएन। ताराखोलाका मगर समुदायको परम्परा नै भएकाले भीरमौरीको मह त काँडियो तर विगतमा जस्तो धेरै गाउँले जम्मा भएनन्। सामाजिक दूरी कायम गर्नुपर्ने, एक अर्काबीच सचेत र सजग हुनुपर्ने भएकाले आवश्यक मान्छेहरु मात्रै भीरमा पुगेर मह काँड्ने काम सुरु भएको गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले बताए। 

वर्षौँदेखि आफ्नो पुख्र्याैली चलनका रूपमा ताराखोलाबासीले ज्यानै दाउमा राखेर डरलाग्दो भीरबाट भीरमौरीको मह निकाल्दै आएका छन्। हरेक वर्ष जेठको अन्त्यतिर मह काड्न सुरु गरिन्छ। यस वर्ष निश्चित व्यक्ति मात्र यस कार्यमा जुटेका छन्। मह काड्न जानेहरू करिब ५०० मिटरभन्दा अग्लो भीरमा डोरीबाट निर्माण गरिएको भ¥याङको सहायताले भीर रहेको मह निकाल्छन्। ताराखोलामा निंगालोको चोयाले बनाएको डोरीको सहयताले भीरमा जाने चलन छ। मौरीको टोकाइबाट बच्न मह सिकारीहरुले शरीरमा बाक्लो कपडा, हातमा पञ्जा र अनुहारमा जाली लगाएर लगाउँछन्। भीरमा पुगेपछि आगो बालेर मौरी धपाउँछन्। र, मौरीका चाकाहरू खसाल्छन्। मह काड्दा बाँसका परम्परागत सामग्री प्रयोग हुन्छ। 

मह काड्ने कार्य धार्मिक परम्परासँग समेत जोडिएका छ। त्यसैले भीर मैरीको मह काँड्नका लागि निश्चित प्रकृया पु¥याउनुपर्ने अध्यक्ष घर्ती बताउँछन्। ‘भीरमा आगो लगाउनुपूर्व पुजाआजा हुन्छ। त्यहाँ जाने चोखो बस्नुपर्ने, मदिरा खान नहुने मान्यता छ,’ अध्यक्ष घर्तीले भने, ‘यो सबै गर्दा चोटपटक लाग्दैन, सुरक्षित भइन्छ भन्ने मान्यता मगर समुदायमा छ।’

भीरमा मौरीको घार रहेको आधारमा यहाँको सिकार कति दिन लम्ब्याउने भन्ने निर्धारण हुन्छ। यो वर्ष ताराखोलाका महभीरमा १६ वटा घारको सिकार हुँदैछ। पाँच दिन लगाएर सबै घारको सिकार गर्ने योजना रहेको राताखोलाका महेन्द्र घर्तीले बताए। हरेक वर्ष हुने यहाँको भीरमौरीको सिकारबाट १५० देखि २५० लिटरसम्म मह निकाल्ने गरिएको छ। त्यो मह गाउँले सबै जम्मा भएर बाँड्ने भएकाले व्यावसायिक खरिद बिक्री हुँदैन। तर, बाँडेर घर लगेकाहरुमध्ये केहीले बेचेर आम्दानीसमेत गर्ने गरेको अध्यक्ष घर्ती बताउँछन्। 

भीरमा सिकार खेल्न गएकाहरू कसैले भ¥याङ तयार पार्छन्, कोही खाना पकाउँछन्, कोही भिरमा चढ्छन् त कोहीले जमिनबाट डोरीको सहायतामा टोकरी तलमाथि गर्दै महका चाकाहरू जमिनसम्म झार्छन्। डोरीमा झुण्डिएर भीरमा बसेर चाका खसाल्ने व्यक्तिलाई अरूको तुलनामा दोब्बर मह भाग लगाइन्छ। अरुको भने समान परिमाणमा मह भाग लगाइन्छ। आफ्नो भागमा पर्ने महलाई उनीहरू एकै ठाउँमा बसेर परम्परागत रूपमै प्रशोधन गरेर गर्छन्। 

पहिले ताराखोलामा रहेका मगर समुदायको थरका आधारमा भीर बाँडिन्थ्यो। आ–आफ्नो भीर भागमा पर्नेहरुले मात्रै मह काँड्थे। तर, अहिले सबै मिलेर मह काँड्ने गरेको स्थानीयहरु बताउँछन्।

गाउँपालिकाले मह सिकारलाई सुरक्षित र व्यवस्थित बनाएर स्थानीयको पुख्र्यौली पेसाको संरक्षण र पर्यटनसँग जोडेर पर्यटन विकास गर्ने रणनीति लिएको अध्यक्ष घर्ती बताउँछन्। ‘हनी हन्टिङमा धेरैको चासो छ। यो वर्षदेखि यसलाई पर्यटनसँग जोडेर महोत्सव चलाउने योजना थियो तर कोरोनाले प्रभावित भयो,’ उनले भने, ‘आगामी दिनमा हामी थप व्यवस्थित गर्छौं।’

भीरमौरीको मह औषधिको रूपमा प्रयोग हुने गरेको छ। जंगलमा बस्ने मौरीले जंगलमा नै पाइने विभिन्न जडीबुटीहरूका फूलबाट रस लिने भएकाले भीरमौरीको महलाई घर मौरीको महभन्दा पनि बढी महत्त्वको मानिन्छ। शरीरको प्रतिरक्षा प्रणालीमा प्रत्यक्ष फाइदा दिनुका साथै शक्ति प्रदान गर्ने तत्वका रूपमा पनि भीर महलाई लिने गरिन्छ।

भीरमौरीको मह गाउँबाट नै एक लिटरको करिब एक हजार ५०० रुपैयाँमा बिक्री हुने गरेको छ। जिल्लाका बाहिरका बजारमा पठाउँदा भने अझै महँगो हुने गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.