|

जाजरकोट : अवस्था सामान्य रहेको भए नेपालका विद्यालयहरूमा यतिखेर नयाँ शैक्षिकसत्र लागिसक्थ्यो। पाठ्यपुस्तक हातमा लिएर विद्यार्थीहरू विद्यालय गइरहेका हुन्थे। तर कोरोना महामारीका कारण लगाइएको लकडाउनले विद्यार्थीहरू घरमै थन्किएका छन्‌। 

देशका सुविधासम्पन्न ठाउँका बालबालिकाहरूलाई ‍ज्ञान आर्जन गर्नका लागि इन्टरनेटदेखि टेलिभिजनसम्म उपलब्ध छ। तर जाजरकोटको जुनिचाँदेमा कहाँ त्यस्तो सुविधा पाउनु? विद्यालय उमेरसमूहका यहाँका अधिकांश बालबालिका यतिखेर घरायसी काममा व्यस्त देखिन्छन्‌। नाम्लो, डोको र हँसिया बोकेर अभिभावकसँग घाँस-दाउरा संकलन गर्न जानु र खेतबारीमा खटिनु उनीहरूको दैनिकी बनेको छ। 

जुनिचाँदे-१ की राधिका कार्की विहानै उठेर अभिभावकसँगै कामतर्फ जान्छिन्‌ र एकैपटक बेलुकी बास बस्न घर आइपुग्छिन्‌।  'आजभोली विद्यालय बन्द छ, त्यसैले गाई, गोरु र भैंसीलाई घास संकलन गर्नेदेखि सल्ली-कुसुम जम्मा गरी मल बनाउने काममा लागेकी छु,' कार्की भन्छिन्‌, 'घरको काम गर्दैमा समय बित्छ, बाबा आमालाई विभिन्न काममा सघाउछौँ।'

अहिलेसम्म विद्यालयले वार्षिक परीक्षा नलिएका कारण उनी चिन्तित छिन्‌। भन्छिन्‌, 'पढ्न र जाँच दिन जानुपर्ने स्कुललाई त क्वारेन्टाइन बनाएर भारतबाट आएका मान्छे राख्ने ठाउँ बनाइएको छ, मानिसहरू बसिरहेका छन्‌, उनीहरू नगएसम्म पढाइ हुँदैन होला।'

भैरव माध्यामिक विद्यालय, मजकोटमा कक्षा ९ मा पढ्ने छात्रा सिता कार्की पनि विहानै बाख्रा चराउन जंगलमा जान्छिन्‌ र उतैबाट भैँसीलाई घाँस संकलन गरेर घर फर्किन्छिन्‌। उनी भन्छिन्‌, 'पहिले विद्यालयमा पढेर दिन बित्थ्यो, अहिले पशुचौपायासँग दिन बित्छ।'

विद्यालयमा पढाई रोकिएपछि नलगाड नगरपालिका-८ की लक्ष्मी केसी आजकाल जङ्गलमा बाख्रा चराउन जान्छिन्‌। फुर्सदको समयमा रेडियो सुन्ने गरेको बताउने लक्ष्मीले अन्य ठाउँमा टिभीबाट पढाई भएको, अनलाइनमा पढाई भइरहेको सुन्दा आफूलाई रिस उठ्ने गरेको बताइन्‌।  उनले भनिन्‌, 'फोन, टिभी र इन्टरनेटले काम नगर्ने ठाउँमा जन्मिएर भाग्यले ठगेछ। मनमा जति पढ्ने इच्छा भएपनि के गर्नु? स्रोतसाधन केही छैन। मोबाइल चार्ज गर्न त सोलार खोज्दै दिनभरी समय खर्चिनुपर्छ।'

विद्यालय बन्द भएपछि अध्ययनका लागि सकस खेपिरहेका यी विद्यार्थीहरू त प्रतिनिधिपात्र मात्रै हुन्‌। जिल्लास्थित ७ वटा स्थानीय तहका बालबालिकाहरु लकडाउन भएको समयदेखि घरायसी काममै जोतिएका छन्‌। मकै गोडमेल गर्नेदेखि घरमा खाना बनाउनेसम्मका काममा अधिकांश विद्यार्थीहरुले अभिभाभावकलाई सघाइरहेका छन्‌।

लकडाउनदेखि किताबसँग भेट नभएको र दुर्गमताले समेत आफूहरूलाई ठगेको यहाँका बालबालिकाले महसुस गरिरहेका छन्‌। गाउँ, गाउँमा रेडियोको समेत पहुँच नहुँदा कहाँ के भएको छ, सजिलै थाहा समेत नहुने गरेको उनीहरु बताउँछन्‌। स्थानीय गाउँलेहरुले बजारबाट फर्किएपछि त्यहाँ सुनेको कुराहरु गाउँमा जानकारी दिएमा त्यो नै दुर्गम गाउँका लागि समाचार हो। यतिखेर बजार बन्द भएका कारण त्यस्ता जानकारी पनि गाउँमा पुगिरहेको छैन।

नयाँ पाठ्यपुस्तक विद्यार्थीहरुको हातमा परेको भए सो अध्ययन गरेर ज्ञान आर्जन गर्ने माध्यम हुने विद्यार्थीहरु बताउँछन्। सदरमुकाम खलंगा र अन्य स्थानीय तह नजिकको ठाउँमा मात्र इन्टरनेट सेवा उपलब्ध छ। विद्यालयमा जोडिएका इन्टरनेटबाट जानकारी लिने विद्यार्थीहरु त्यहाँ क्वारेन्टाइन निर्माणपछि कोरोना त्रासले जान नसकेको बताउँछन्। आधारभुत र मावि तह मात्र होइन, उच्च शिक्षा अध्यायन गर्ने विद्यार्थीहरु समेत हैरान हुँदै आएका छन्। मध्यपश्चिम विश्वविद्यालयले अनलाइन कक्षा सञ्चालन गरेपनि जाजरकोटको भेरी ज्ञानोदय क्याम्पसमा पढ्ने विद्यार्थीहरु त्यसबाट बञ्चित छन्‌।

सदरमुकाम बाहेक गाउँमा इन्टरनेटले काम नगर्दा उच्च शिक्षा पढ्ने विद्यार्थीहरुको दैनिक कक्षा छुटदै आएको छ। अग्लो डाडाँमा गएर डाटाबाट अनलाइन कक्षा लिन खोजेपनि सो कार्य महंगो हुँदा अनलाइन कक्षामा सहभागीता जनाउन नसकेको विद्यार्थीहरुको भनाई छ। क्याम्पसले अनलाइनबाट कक्षा लिन नसक्नेहरु परीक्षामा सहभागी हुन नपाउने बताएपछि विद्यार्थीहरु मारमा परेका छन्।

जाजरकोटका ७० हजारभन्दा धेरै बालबालिकाहरु अहिले घरमै छन्‌। जाजरकोटका छिमेकी जिल्ला डोल्पा, रुकुम पश्चिम र सल्यान जिल्लाका अधिकांश विद्यार्थीहरुको समय घरायसी कामकाजमै बितिरहेको छ। 

अभिभावकहरूलाई लागेको छ : अहिलेको लकडाउनले दुई प्रकारको शिक्षा विकास गर्‍यो। प्रविधिमा पहुँच भएका विद्यार्थीहरु दैनिक पढिरहेको छन् भने दुर्गमका विद्यार्थीहरु घरायसी काममा व्यस्त छन्‌। दुर्गमका लाखौं विद्यार्थी घाँस दाउरा, पशु चौपायासँग दिन बिताइरहेका छन् भने सुगमका विद्यार्थीहरुलाई इन्टरनेटका माध्यमबाट पढाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.