एकमा संक्रमण पुष्टि, ३ को रिपोर्ट बाँकी, सबै मृत्युमा कोरोना नजोड्न आग्रह

|

बैतडी : बैतडीसहित सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेका ८ जनाको मृत्यु भएको हो।  मृत्यु हुनेमा सबैभन्दा बढी बैतडीमा ३, बाजुरा, डडेल्धुरामा २-२ र  डोटीमा १ जना छन्। 

७ जनाको १ सातामा मृत्यु भएको हो भने १ जनाको वैशाख २० गते मृत्यु भएको हो।  शनिबार मात्रै यस प्रदेशमा क्वारेन्टाइनमा बसेका ३ जनाको मृत्यु भएको छ।  बैतडीको पाटन नगरपालिकास्थित भीमदत्त प्राविधिक शिक्षालयमा क्वारेन्टाइनमा बसेका पाटन नगरपालिका ६ सन्तोली घर भएका ३१ वर्षीय पुरुषको भारतबाट फर्केकै दिन शनिबार मृत्यु भएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए।

डोटीको केआईसिंह गाउँपालिका वडा नम्बर ३ सीताराम आधारभूत विद्यालयमा ७ दिनअघि भारतबाट फर्किएर क्वारेन्टिनमा बसेका १९ वर्षीय युवकको मृत्यु भएको छ। साथै  बाजुराको खप्तड छेडेदह गाउँपालिका–७ स्थित मष्टा आधारभूत विद्यालयको क्वारेन्टिनमा जेठ १६ गतेदेखि बस्दै आएका ६५ वर्ष वृद्ध मृत्यु भएको छ। 

यसअघि २१ जेठमा पनि डडेल्धुराको गन्यापधुरा गाउँपालिका १ असिग्राम आधारभूत विद्यालय रौनाकोट क्वारेन्टिनमा बसेकी ३० वर्षीया महिलाको मृत्यु भएको थियो। २० जेठमा पनि बैतडीको पुर्चौडी नगरपालिका ४ भटनास्थित मालिका माविको क्वारेन्टिनमा बसेकी २२ वर्षीया महिलाको बिहान मृत्यु भएको थियो। त्यसअघि १७ गते राति डडेल्धुरा बहुमुखी क्याम्पसको क्वारेन्टिनमा राखिएका ६ वर्षीय बालकको मृत्यु भयो।

यसका साथै  १८ जेठमा बाजुरामा कोरोना संक्रमणबाट एक २ वर्षकी बालिकाको मृत्यु भएको भएको थियो। बाजुराको बुढीगंगा नगरपालिका १ स्थित धुरालसैन माविको क्वारेन्टिन बसेकी बालिकाको बाजुरा अस्पतालमा मृत्यु भयो। त्यसअघि वैशाख २० गते पनि बैतडीको पुर्चौंडी नगरपालिका ६ मनकाली बस्ने ६७ बर्षीय बृद्धको  पनि क्वारेन्टाइन जादैं गर्दा मृत्यु भएको थियो।

एकजनाको संक्रमण पुष्टि, ३ को रिपोर्ट बाँकी  

मृत्यु हुने सबै भारतबाट फर्किएका हुन्।  मृतकमध्ये बाजुराकी बालिकामा मात्रै कोरोना पुष्टि भएको छ। शनिबार मृत्यु भएका ३ जनाको रिपोर्ट आउँन बाँकी रहेको छ। भने अन्य ४ जनाको रिपोर्ट नेगेटिभ आएको थियो। 

बाजुराकी बालिकासहित सुदूरपश्चिममा कोरोनाका कारण मृत्यु हनेको संख्या पनि २ पुगेको छ।   शुक्रबार पनि कोरोना संक्रमणका कारण मृत्यु भएकी धनगढी ४ कि ५५ वर्षीया महिलाको मृत्यु भएको थियो। 

अधिकांश दीर्घरोगी

क्वारेन्टाइनमा मृत्यु हुने अधिकांश दीर्घ रोगी हुने गरेका चिकित्सकले बताएका छन्।  दीर्घरोगीहरुले घर तथा अस्पतालको जस्तो हेरचाँह र खानपिन  क्वारेन्टाइनमा नपाउने हुनाले मृत्यु भएको हुनसक्ने जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर वशन्तराज जोशीको भनाइ छ। ‘प्रेसर, सुगर, एलर्जी, दम, बाथ आदि रोगका बिरामीहरुलाई हेरचाह र खानपिन राम्रो नहुँदा पनि मृत्यु भएको हुन सक्छ।’ उनले भने, ‘धेरैमा पहिलेदेखि कै समस्या देखिएको छ,’

उपयुक्त स्थानमा व्यवस्थित क्वारेन्टिन नहुँदा पनि रोगसँग लड्न सक्ने क्षमता कम भएकाहरु व्यक्तिहरुको मृत्यु हुन सक्ने प्रमुख डाक्टर जोशीको भनाई छ। ‘वातावरण ओसिलो भएको ठाउँमा दमका रोगी बसे भने एक्कासी समस्या हुन सक्छ।’

तर उनीहरुको मृत्युबारे अध्ययन नगरी भन्न नसकिने  उनले बताए ‘मृत्युका थुप्रै कारणहरु हुन सक्छन्,’ डाक्टर जोशीले भने, ‘त्यस विषयमा सहजै भन्न सकिने अवस्था रहन्न।’ क्वोन्टाइनमा मृत्यु हुने कारण भने कोरोनाको डर त्रास पनि रहेको कतिपयको भनाइ छ।

सबैखाले मृत्युमा कोरोना नजोडौँ

तर क्वारेन्टिनमा सबै मृत्युलाई कोरोनासँग जोड्न  नहुँने बैतडीका कोभिड १९ सम्पर्क व्‍यक्ति भुवन जोशीको भनाइ छ।  ‘मान्छे मर्दै मर्दैन भन्ने होइन। सबै मृत्युलाई कोरोनासँग जोड्न पनि हुँदैन,’ उनले भने ‘अनावश्यक भय, डर र त्रासले पनि समस्या सृजना गरेको छ।’ तर क्वारेन्टाइनमा मृत्यु भएकाहरुको  मृत्यु कारण खोजी गर्नुपर्नेमा उनको जोड छ।

६० हजार बढी क्वारेन्टाइनमा

हाल सुदूरपश्चिममा भारतबाट फर्किएका ६० हजार बढी नागरिक क्वारेन्टाइनमा बसिरहेका छन्। क्वारेन्टाइन व्यवस्थित नहुँदा तथा कोरोना परिक्षण नहुँदा क्वारेन्टाइनमा बस्ने ब्यक्तीहरु तनाबमा  रहेका छन्।  बिहीबार आरडिटी पाजेटिभ आएका बैतडीको दोगडाकेदार ७ घर भइ दोगडाकेदार ३ श्रीकोटमा आइसोलेसनमा बसेका दामोदर भट्टले हालसम्म पनि स्वाब संकलन नगरिँदा तनाव थपिएको बताए।

उनले भने, ‘स्वाब संकलन नै गरेको छैन, मनमा चिन्ता लागेको छ, समयमै परीक्षण भएको छैन।’

तर प्रदेश स्वास्थ्य निर्देशनालयले भने शुक्रवारदेखि ५ दिनसम्म स्वाब संकलन नगर्न आफू मातहतका निकायलाई परिपत्र गरेको छ।  सुदूरपश्चिमको धनगढीमा रहेको एक मात्र प्रयोगशालामा नमूनाको मौज्दात १ हजार  बढी रहेको भन्दै स्वाब संकलन बन्द गरिएको स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीले जानकारी दिए। उनले भने, ‘जनशक्तिको हिसाबले १ दिनमा बढीमा २५० मात्रै परीक्षण हुन्छ, संकलन भएको नमूना बढी दिन रह्यो भने बिग्रने र रिपोर्ट सही नआउने हुन्छ।’

प्रदेश मन्त्रिपरिषद्को निर्णयले धनगढीसहित सुदूपश्चिमका बैतडी र डोटीमा प्रयोगशाला स्थापना गर्ने भने पनि हालसम्म स्थापनाको काम अगाडि बढ्न सकेको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.