दीर्घरोगी, ज्येष्ठ नागरिक र सुत्केरी मात्र प्राथमिकतामा

|

सुर्खेत : कर्णालीमा कोरोना परीक्षणको लागि स्वावको नमुना संकलनको दायरा साँघुरो बनाइएको छ।  संकलन भएका स्वावका नमुना हप्तौंसम्म पनि परीक्षण हुन नसकेपछि स्वाब संकलनको दायरा साँघुरो बनाइएको हो।

अहिले कर्णालीका दुई ठाउँ सुर्खेत र जुम्लामा कोरोनाको पिसीआर  परीक्षण गर्ने मेसिन छन्। परीक्षण गर्ने मेसिनको क्षमताभन्दा धेरै स्वावका नमुनाहरु संकलन गर्दा परीक्षणका लागि हप्तौंसम्म पालो कुर्नुपर्ने अवस्था आएपछि परीक्षणको दायरा साँघुरो पारिएको हो।

कर्णाली प्रदेशका स्वास्थ्य सेवा महाशाखाका प्रमुख लक्ष्मी नारायण तिवारीले क्षमताभन्दा बढी स्वाबहरु संकलन भएकाले स्वाव संकलनको दायरालाई तत्कालका लागि सीमित पारिएको बताए।

हाम्रो क्षमताभन्दा बढी स्वाबहरु संकलन भएका कारण संकलन गरिएका स्वाबहरू परीक्षण गर्न ढिला भएको हो’, उनले भने, ‘अहिले तत्कालका लागि प्राथमिकताक्रममा स्वाव संकलन गर्न  हामीले परिपत्र गरेका छौं।’

स्वाब संकलनका लागि पहिलो प्राथमिकतामा दीर्घ रोगी, ज्येष्ठ नागरिक र सुत्केरीलाई राखेको तिवारीले जानकारी दिए।  अहिलेसम्म हेर्दा मृत्यु हुनेहरुमा प्रायः कोरोनासँगै दीर्घ रोगी भएका देखिएका छन्, कोरोनाका कारण मात्रै उनीहरुको मृत्यु भएको कमै छ’, उनले भने, ‘त्यसकारण पहिलो चरणमा हामीले दीर्घरोगी, ज्येष्ठ नागरिक र सुत्केरी लगायतको स्वाव परिक्षण गरिने छ।’

उनले यो अवधि केही दिनका लागि मात्र हुने जनाए। ठूलो क्षमताको पिसीआर परीक्षण गर्ने मेसिन ल्याउने तयारी गरिसकेका छौ, केही दिनमा मेसिन आइपुग्‍नेछ, त्यसपछि भने परीक्षण तीव्र रुपमा हुनेछ’, उनले भने, एक दिनमा एक हजार भन्दा बढी स्वावहरुको परिक्षण गर्न सक्छौं, त्यसबेला जति पनि स्वाव संकलन गर्न सकिन्छ।’

पछिल्लो चरणमा कर्णालीमा विदेशबाट खासगरी भारतबाट नागरिक ठूलो संख्यामा भित्रिएका छन्। योसँगै कोरोना संक्रमितहरुको संख्या पनि ह्वात्तै बढेको छ।

यस्तै, स्थानीय तहले विदेशबाट आउने चाप थेग्न सक्ने अवस्था नभएपछि ९/१० दिन क्वारेन्टाईनमा राखेर घर पठाईने गरेको छ। जसका कारण समुदायमा कोरोनाको संक्रमण अझै भयाभह हुने देखिन्छ।

आइतबारसम्म कर्णालीमा कोरोना संक्रमितहरुको संख्या ६ सय ४१ पुगेको छ। आइतबार मात्रै कर्णालीमा ५४ जना नया संक्रमित फेला परेका छन्।

 कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र प्रदेश अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा कर्णालीका सुर्खेत, दैलेख र सल्यानका थप ५४ जनालाई कोरोना संक्रमण देखिएको कर्णालीका स्वास्थ्य सेवा महाशाखा प्रमुख लक्ष्मी नारायण तिवारीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.