|

काठमाडौं : लकडाउन सुरु भएपछि नेपालको एक मात्र ललितपुरको लगनखेलस्थित मानसिक अस्पतालमा स्वास्थ्य परीक्षण गर्न आउनेको संख्यामा कमी आएको छ। मानसिक अस्पतालको तथ्यांक अनुसार बन्दाबन्दीमा करिब ३ हजार ८०० जनाले मानसिक स्वास्थ्य परीक्षण गरेका छन्‌।

चैत महिनामा एक हजार ८७९ जना मानिस स्वास्थ्य परीक्षण गर्न आएका थिए। ९७४ पुरुष र ९०५ महिला रहेका छन्। वैशाखमा एक हजार २६ जना आएका थिए। यी मध्ये ५६० पुरुष र ४६६ महिला रहेका छन्। अस्पतालको जेठ २६ सम्मको तथ्यांक अनुसार ८२८ रहेका छन्। ४०९ पुरुष र ४१९ महिला परीक्षण गर्न आएको अस्पतालले जानकारी दिएको छ।

२०७५ चैत देखि ०७६ जेठ सम्म ११ हजार २४५ ले मानसिक स्वास्थ्यको परीक्षण गराएका थिए। चैतमा तीन हजार ७९९ परीक्षण गराएका थिए। पुरुष एक हजार ९९४ र एक हजार ८०५ महिला रहेका थिए। वैशाखमा तीन हजार ६२४ जसमा पुरुष एक हजार ९१२ र एक हजार ७१२ महिला। जेठमा तीन हजार ८२२ जनाले स्वास्थ्य परीक्षण गराएका थिए।

आइतबार, ‘होसमा कुरा गर्न छाडेका’ उमेश श्रेष्ठ (नाम परिवर्तन) मानसिक अस्पताल आइपुगेका थिए। श्रेष्ठ मानसिक अस्पतालमा पुगेको सातौं पटक भइसकेको छ। यसअघि उनी अभिभावकसँग उपचार गराउन आएका थिए। लकडाउनका कारण अन्य सवारीसाधन नपाएपछि छोरालाई उपचार गराउनको लागि एम्बुलेन्समा ल्याएको उनले बताए।

‘डिप्रेसन (अवसाद)’ को उपचार गराइरहेकी ललितपुरको (मिना घले) नाम परिवर्तन पनि तीन महीनामा आउँछिन्। अस्पतालको डक्टरको सल्लाह बमोजिम औषधि सेवन गरिरहेको उनले बताइन्। उनले भनिन, ‘अहिले समस्या छैन तर,नियमित परीक्षणको लागि आइरहेको छु। औषधि छुटाएको छैन।’

'समयमै उपचार गराए मानसिक समस्या हट्छ'

मानसिक स्वास्थ्यका बिरामी जटिल अवस्थामा पुगेपछि उपचार गर्न आउने गरेको मानसिक अस्पताल लगनखेलका प्रमुख कन्सल्टेन्ट साइकियाट्रिस्ट डाक्टर अनन्त अधिकारी बताउँछन्। अस्पतालमा लकडाउनका कारण उपचार गर्न आउने मानिसको संख्यामा कमी आएको उनले बताए। लकडाउनमा दैनिक जसो २५ देखि ३० जना उपचार गर्न आइरहेको उनले जानकारी दिए।

उपत्यकाको अन्य अस्पतालमा हेरि यस अस्पतालमा उपचार गर्नेको संख्या बढी रहेको उनले जानकारी दिए। उनले भने, ‘अहिलेको अवस्थामा त्यति आउनु भनेको धेरै हो। धेरै गाह्रो परेका बिरामीहरू उपचारका लागि आइरहनुभएको छ।’ लकडाउनमा अवधिमा परीक्षण गर्न आउनेहरुमा एन्जाइटी डिसअर्डर, डिप्रेसन, तनाव (स्ट्रेस डिस अर्डर) र पुरानो रोग बल्झेर आउनेहरु बढी रहेको अधिकारीले बताए।

मानसिक रोगीका बिरामीलाई धेरै पद्धतिबाट उपचार गर्न सकिने अधिकारीले बताए। खाने औषधि र मनोवैज्ञानिक तरिका, मनोपरामर्श गरेर, रिलाक्सेसन थेरापीको माध्यमबाट पनि उपचार गर्न सकिने उनले जानकारी दिए।

समयमा यसको पहिचान गरेर उपचार गरेमा मानसिक स्वास्थ्यको समस्या ठीक हुने र उपचार गर्न सकिएन भने यसले परिवारमा ठूलो समस्या ल्याउन सक्ने उनले बताए। उनले भने, ‘परिवारमा झै-झगडा, व्यक्तित्वमा समस्या, जागिर खाएकालाई पनि समस्या अझ भनौ भने समाजमा उसप्रति मानिसले हेर्ने दृष्टिकोण गलत बनाउँछन तर, त्यो गलत हो।’

सहज रुपमा नलिँदा मानसिक समस्या झन जटिल

लकडाउनको कारण मानिसहरुले परीक्षण स्वास्थ्य परीक्षण गर्न सकिरहेका हुँदैनन्‌। लकडाउन खुलेपछि मानसिक रोगीका बिरामीहरु बढ्न सक्ने सामाजिक मनोपरामर्शदता डा. नम्रता पाण्डेले बताइन्। यतिखेर धेरै मानिसहरु घरमा बसिरहेका र तनावका कारण झिझ्यार पैदा भएको सक्ने उनले आंकलन गरेकी छिन्‌। कतिपयलाई आर्थिक कारोबारमा भएको नोक्सानीका कारणले पनि मानसिक समस्या पैदा भइरहेको हुनसक्छ।

वर्तमानको भन्दा पनि भविष्यको चिन्ताले सताइरहेको हुन सक्ने डा. पाण्डेले बताइन्। व्यवसाय गर्ने मानिसहरु एक्कासी बाहिर आउँदा पनि केही ग्राहक भेटिँदैनन्‌, त्यसबखत सधैँभरि यस्तै हुने हो भनेर चिन्ता पनि लिन सक्ने उनको उनको भनाइ छ। आम नागरिकले यो सामान्य प्रक्रिया हो भनेर बुझ्न सक्दा यस्तो समस्या नआउने उनले बताइन्। 

उनले भनिन, ‘समस्या कतिखेर उत्पन्न हुन्छ भने, वर्तमान अवस्थालाई सहजताको रुपमा लिन नसक्दा समस्या अझ जटिल भएर जाने हुन्छ। त्यसरी सोच्दा मानसिक स्वास्थ्यमा असर पर्छ। यो बित्छ/जान्छ भनेर सोच्ने गर्नुपर्छ। यस्तो बेलामा शारीरिक अभ्यासको एकदम महत्व हुन्छ। खानपान पनि राम्रो हुनुपर्छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.