|

बैतडी : बैतडीमा क्वारेन्टाइनमा मृत्यु भएका युवकको अन्तिम दासंसकारका लागि मलामी जानेहरुलाई आइसोलेसनमा राखिएको छ।  

पाटन नगरपालिका–६ स्थित भीमदत्त प्राविधिक शिक्षालयको क्वारेन्टाइनमा मृत्यु भएका स्थानीय ३० बर्षीय युवकको दाहसंस्कार गर्न मलामी जाने ६ जनालाई आइसोलेसनमा राखिएको हो।  

क्वारेन्टाइनमा मृत्यु भएका युवकको पिसिआर रिपोर्ट नआउँदै दाहसंस्कार गरिएकोले मलामी जाने ६ जनालाई आइसोलेसनमा राखिएको  पाटन नगरपालिकाका स्वास्थ्यशाखा प्रमुख मदनसिंह महराले जानकारी दिए।  

उनीहरुलाई पाटनस्थित शैक्षिक तालिम केन्द्रमा बनाइएको आइसोलेसनमा राखिएको छ।  आएसोलेसनमा राखिएको सबैको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ। 

शनिवार भारतबाट फर्किएका ती युवक एक्कासि बेहोस भएका शनिवार राति नै मृत्यु भएको थियो।  युवकको आइतबार क्वारेन्टाइनमा सँगै बसेका आफन्तले दाहसंस्कार गरेका थिए।  

मृतकको रिपोर्ट नआउँदासम्म उनीहरुलाई आइसोलेसनमा राखिने उहाँले बताए।  रिपोर्ट नेगेटिभ आएपछि आइसोलेसनमा रहेकाहरुलाई १४ दिन क्वारेन्टाइनमा राखी घर पठाइने र पोजेटिभ आए स्वाब संकलन गरि पिसिआर गरिने  स्वास्थ्य शाखा प्रमुख महराको भनाई छ। यद्यपि मलामी जाने ६ जनाकै आरडिटी रिपोर्ट नेगेटिभ आइसकेको छ।  

मृतकको थ्रोट स्वाब संकलन गरि धनगढी प्रगोगशाला पठाइए पनि रिपोर्ट आएको छैन। यही २३ गते भारतको बेंग्लोरबाट आएका उनी कैलालीको गौरीफन्टा नाका हुँदै गाउँ पाटन पुगेका हुन्। 

शनिबार बिहान ११ बजेतरि मात्र क्वारेन्टाइनमा बसेका उनी बेलुका ६ बजे एक्कासि बसेकै स्थानमा बेहोस भएका थिए। उपचारका लागि नजिकै रहेको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएपनि ती युवकको राति साढे ८ बजेतिर मृत्यु भएको थियोे। परिवार सदस्यहरुले दाहसंस्कारका लागि कर गरेपछि दाहसंस्कारका लागि शव दिइएको थियो।

यता बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले भने आवश्यक कानुनी प्रक्रिया र सुरक्षा सतर्कता अपनाएर मृतकको दाहसंस्कार गरिएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.