काठमाडौं : पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहँदा देशका केही भूभागमा आइतबार वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाख...
नमीन ढकाल
इलाम : विश्वमै दुर्लभ मानिएको रेडपाण्डा संरक्षण नहुँदा लोप हुने अवस्थामा पुगेको छ। समुन्द्र सतहको २२ सय मिटरदेखि चार हजार मिटरसम्म पाइने रेडपाण्डा खुला सीमाना, चोरी सिकारी, डढेलो, अनियन्त्रित वन फडानीका कारण लोप हुने अवस्थामा पुगेका हुन्।
आकर्षक देखिने र लजालु स्वभावको यो जन्तु सोझो तथा हलुका रातो, सेतो र कालो रंगको हुन्छ। विकास निर्माणले वासस्थान लोप , कुकुरको आक्रमण,आहाराको विनास अन्य जनावरका लागि थापिने पासो, अवैध व्यापार जस्ता गतिविधिले लोप हुने अवस्थामा पुगेको बिभिन्न अध्ययनहरुले देखाएको छ।
रेडपान्डा इलाम, पाँचथर र ताप्लेजुङका हिमाली क्षेत्रमा पाइएपनि सरकारी तवरबाट यसको संरक्षणमा पहल हुन नसकेको उच्च पहाडी जडिबुटी उत्पादक तथा संरक्षण संस्थाका फिन्चु शेर्पाले बताए। बिभिन्न स्थानमा ट्रेपिङ क्यामरा राखेपछि तस्करीमा केही कमी आएपनि भारतसँगको खुल्ला सीमानाका कारण रेडपाण्डको संख्या दिनानुदिन घटदै गइरहेको शेर्पाले बताए।
महिलाले बोक्ने झोला, टोपी तथा विलासिताका सामाग्री निर्माणमा रेडपाण्डाको छाला प्रयोग हुने भएकाले नेपालबाट रेडपाण्डाको चोरी तस्करी हुने गरेको छ। हिमाली क्षेत्रको पूर्वी नेपालदेखि पश्चिमसम्म बासस्थान रहेको भनिएपनि अहिलेसम्म रेडपाण्डाको संख्याको यकिन तथ्याङ्क छैन। वासस्थानको अतिक्रमण, विनाश, आगलागी र मानवीय गतिविधिका कारण रेडपाण्डाको संख्यामा कमी हुँदै आएको छ।
नेपालका सबै स्थानमा रेडपाण्डा भेटिएपनि अध्ययन नभएको रेडपाण्डा नेटवर्कका सामुदायिक संरक्षण संयोजक डम्बर विष्टको भनाइ छ। हाब्रे, पुडेकुदो जस्ता नामले चिनिने रेडपाण्डा पूर्वी नेपालमा पाइने पुष्टी भइसकेकाले अब खोटाङ, जुम्ला, जाजरकोट र कालीकोटमा अध्ययन शुरु गर्ने नेटवर्कको योजना छ। सन् २००६ मा रेडपाण्डा नेटवर्कले पूर्वी नेपालका तीन जिल्लामा समुदायमा आधारित संरक्षण कार्यक्रम सञ्चालन गरेको थियो। तीन जिल्लामा २ सय १८ वटा रेडपाण्डा रहेको अनुमान गरिएपनि यकिन तथ्याङ्क भने छैन। २२ गाविसमा गरिएको कार्यक्रमबाट ग्रामीण क्षेत्रमा जनचेतनाको विकास भएपनि श्रोत अभावले निरन्तरता दिन समस्या भएको छ।
लामटाङ राष्ट्रिय निकुञ्जमा चार वर्ष अघिदेखि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले संरक्षणका कार्यक्रम गर्दै आएपनि सबै क्षेत्रमा लागु गर्न समस्या छ। पूर्वी नेपालदेखि पश्चिम नेपालसम्म रेडपाण्डा पाइने गरेकाले बजेट अभावले सबै क्षेत्रमा संरक्षण योजना लागू गर्न समस्या रहेको पर्यावरणविद् डा.महेश्वर ढकालले बताए।
चोरी तस्करी अत्याधिक बढेकाले विभागले रेडपाण्डाका साथै लोपोन्मुख वन्यजन्तुका बासस्थानको संरक्षण गर्न राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र, अन्तराष्ट्रिय सिमा क्षेत्रमा लागु हुने गरी पाँच वर्षे कार्ययोजना निर्माण गरिरहेको छ। पैसाको लोभमा रेडपाण्डाको तस्करी बढेकाले त्यसको निगरानीका लागि १४ जिल्लामा १२ वटा वन्यजन्तु अपराध नियन्त्रण युनिट रहेका छन्। रेडपाण्डा तस्करी हुनेमा स्थानीय सरकार नभएकाले प्रभावकारी संरक्षण हुन नसकेको पर्यावरणविद् ढकालले बताए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।