बजार नपाउँदा कपिलवस्तुका आँप बोटमै थन्किए

|

कपिलवस्तु : बगैँचाभरि लटरम्म आँप फलेका छन्। माल्दहा, दशहरी, बम्बई, चौसा जातको आँप पाकिसकेका छन्। योसँगै अब आँपको सिजनसमेत सुरु भएको छ। 

अबको दुई महिनासम्म यहाँका आँपले उत्पादन दिनेछ। अहिले आँपको उत्पादन बढ्न सुरु भएको छ, तर बजारमा भने आँपको माग निकै कम छ। माग कम भए पछि बिक्रीको तयारी अवस्थामा रहेको आँप रुखमै छाड्नुपरेको छ। आँप बिक्री नहुँदा कपिलवस्तुका आँप उत्पादक भने मर्कामा परेका छन्।

उत्पादन बिक्री गर्दिनको लागी कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटाका रहिश शाहले आँपको बजार खोजी दिन आग्रह गरेका छन्। उनकाे कृषि फर्म र लिजमा लिएको आँप रुखमै थन्किएका छन्। 

शाहले थोक मूल्यमा फलफूल बेच्दै आएका छन्। व्यापारीले शाहसँग आँप खरिद गर्न आनाकानी गरेपछि उनी थप समस्यामा परेका हुन्। यसअघि उनले काठमाडौँ, पोखरा, नेपालगन्ज, बुटवल बाग्लुङ्ग, सल्यानलगायत ठाउँमा थोक बिक्री गर्दै आएका थिए।

बजारमा लकडाउनका कारण मानिसको चहलपहल कम हुँदा पछि आँपको बिक्री पनि न्यून भएको छ। उनले एक सिजनमा २ सय गाडीभन्दा बढी आँप बिक्री गर्दै आएका थिए। अहिले भने आँप बिक्री नभई बगैँचामै छ। खपत नहुँदा बगैँचा भाडामा लिँदा दिएको रकमसमेत उठाउन उनलाई धौ धौ पर्ने भएको छ। 

“कृष्णनगर नगरपालिका, शिवराज नगरपालिका, महाराजगन्ज नगरपालिका, बिजयनगर गाउँपालिकाका एक दर्जन बढी बगैँचा लिजमा लिएको छु। जसका लागि मैले कृषकहरूसँग कोपिला लाग्दैमा रकम दिएको छु। अहिले सिजनको सुरुवाती चरणमा छ। दैनिक ५ पिकअप आँप टिप्ने अवस्था छ। तर बजारमा माग नै छैन,' उनी भन्छन्, 'स्थानीय बजारमा २ क्विन्टल मात्र खपत भएको छ। जसरी भए पनि जिल्ला बाहिर पठाउनपर्छ। टिपेको ३ दिनमा बजारमा पुराउनुपर्छ। आँपलाई कोल्ड स्टोरमा समेत राख्न सकिँदैन।' 

यता नेपालका उत्पादनले बजार नपाउँदा भारतबाट छिटपुट मात्रामा आँप भित्रिन सुरु गरिसकेका छन् अहिले फलफूल आयात निकै कम भए पनि आइरहेका छन्। 

फाटफुट मात्रामा भारतीय आँप नेपाल आएका छन्। प्रदेशमा रुपन्देही र कपिलवस्तुका नाकाबाट अहिले औसत ३ ट्रक आँप आउने गरेको छ। दैनिक विषादी परीक्षणका लागि मात्र आँप आउने गरेको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला बुटवलका अधिकृत उमाशङ्कर पाठकले बताए। 

शाह मात्र नभई जिल्लाका अन्य व्यवसायी समेत लकडाउनले गर्दा व्यवसाय धान्न नसक्ने अवस्थामा पुगेका छन्। फलफूल तथा तरकारी व्यवसायलाई आफ्नो मुख्य व्यवसाय बनाउँदै आएका किसान यतिबेला थप समस्यामा परेका छन्। तरकारी र फलफूलबाट कोरोना सर्छ भन्ने भ्रम फैलिँदा बजारमा बिक्रीसमेत हुन छाडेको छ। यता प्रशासनले फलफूल तथा तरकारी ठेलामा बिक्री गर्न नदिँदा बिक्रीसमेत घटेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.