खाद्यान्न बोकेका, अत्यावश्यक सेवाका र एम्बुलेन्सलाई मात्र प्रवेशमा सहज

|

काठमाडौं : सरकारले लकडाउन खुकुलो गर्ने निर्णय गरेसँगै काठमाडौं उपत्यका प्रवेश गर्ने नाकाहरूमा थप कडाइ गरेको छ। अत्यावश्यक सेवाका सवारीसाधन, खाद्यान्न, एम्बुलेन्स र सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका बाहेक अन्य सवारीसाधनहरूलाई काठमाडौं प्रवेशमा कडाइ गरिएको हो।

उपत्यका बाहिरका जिल्लामा कोरोना संक्रमित संख्या बढेपछि उपत्यका प्रवेश गर्ने मुख्य ६ नाकामा कडाइ गरिएको हो। काठमाडौं उपत्यका छिर्नेमध्ये बढी व्यस्त रहने नागढुंगा, फर्पिङ र जगाती नाकाबाट सवारीसाधन प्रवेशमा थप कडाइ गरिएको पाइएको छ।

लकडाउन मोडालिटी परिवर्तन भएपछि झन कडाइ

सरकारले लकडाउन मोडालिटी परिवर्तन गरेसँगै अझ उपत्यका प्रवेश नाकामा कडाइ गरिरहेको इलाका प्रहरी कार्यालय फर्पिङका प्रहरी निरीक्षक अनु लामाले जानकारी दिइन्। उनका अनुसार एम्बुलेन्स दिनमा एउटादेखि दुई वटासम्म सवारीसाधन उपत्यका छिर्ने गरेका छन्‌।

आफन्तको गुमाएका केही मानिसहररू जिल्ला प्रशासनको अनुमति पत्र लिएर उपत्यका प्रवेश गर्ने गरेको उनले बताइन्। 'पास नभएका कुनै पनि सवारीसाधन यस नाकाबाट छिरेका छैनन्,' लामाले थाहा खबरसँग भनिन्, 'यस नाकाबाट बढी मात्रामा खाद्यान्नको ढुवानी हुनेगर्छ, खाद्यान्न र मालबाहका सवारीसाधनहरू भित्रिने गरेको छ।'

टाटा सुमो गाडीमा मानिस लिएर आउने चालकलाई सवारीसाधनसहित उतै फर्काउने गरेको लामाले जानकारी दिइन्‌। उनका अनुसार पैदलयात्री प्रवेशमा कडाइ गरिएकाले कुनै पनि व्यक्ति यस नाकाबाट उपत्यका छिरेका छैनन्‌। 

'छोराछोरीको अनलाइन कक्षा सञ्चालन भयो भन्ने अभिभावकलाई पनि फर्काएका छौं'

सरकारले लकडाउनको मोडालिटी परिवर्तन गरेपनि भक्तपुर नाकाबाट पास भएकाबाहेक अन्य सवारीसाधनहरूले प्रवेश नपाएको महानगरीय प्रहरी वृत जगातीका प्रहरी उपरीक्षक चक्रराज जोशीले बताए। साँगाबाट आएका मोटरसाइकल तथा सवारी पास भएका सवारीसाधनले मात्र प्रवेश पाइरहेको उनले जानकारी दिए।

अत्यावश्यक सेवा र पास भएका सवारीसाधन, मालवाहक तथा एम्बुलेन्स गरी दैनिक एकसय भन्दा बढी साधनहरू यो नाकाबाट उपत्यका प्रवेश गर्ने गरेको उनले जानकारी दिए। मालवाहक गाडीमा चालक र सहचालकबाहेक अन्य मानिसहरूलाई यात्रा गर्न दिइएको छैन।

साँगाबाट सरकारी कर्मचारीहरू मात्र उपत्यका प्रवेश गर्ने गरेको उनको भनाइ छ। लकडाउन खुकुलो गरेको भन्ने आम नागरिकमा परेकोले पनि यात्रु चाप बढेको, तर पास नभएका गाडीहरूलाई फर्काइएको उनले बताए।

'एम्बुलेन्समा आएका सामान्य बिरामी र सुतेर आउने मानिसलाई पनि फर्काइएको छ,' उनले भने,' बाहिरी जिल्लाबाट छोराछोरीको अनलाइन कक्षा सुरु भयो भनेर आएका अभिभावकलाई पनि फर्काएका छौ।'

'सवारी पास भएकोलाई मात्र छिर्न दिएका छौं'

मालबाहक, निर्माण सामग्री र अत्यावश्यक सेवाका सवारीसाधन तथा सवारी पास भएको साधनलाई मात्र काठमाडौं उपत्यका प्रवेश गर्न दिइरहेको र पास नभएको कुनै पनि गाडीलाई प्रवेशमा कडाइ गरिरहेको थानकोट प्रहरी प्रभागका हेमन्त थापाले बताए।

उनका अनुसार थानकोट नाकाबाट उपत्यकामा दैनिक ८०० देखि ९०० वटासम्म सवारीसाधनहरू प्रवेश गरिरहेका छन्। उपत्यकाबाट यो नाका हुँदै दैनिक एक हजार हाराहारी संख्यामा सवारीसाधन बाहिरिने गरेका छन्‌।

सबैभन्दा बढी तराईका जिल्लाबाट खाद्यान्नको गाडी आउने गरेको थापाले बताए। निर्माण सामग्री तथा दुधका गाडीहरू निर्वाध रुपमा आइरहेको उनले जानकारी दिए।

पछिल्लो पटक यात्रुवाहक बसमा भारतीय दूतावासले आफ्नो नागरिक लिएर गइरहेको छ। 'विदेशबाट आएका र स्थानीय सरकारले आवश्यक प्रकृया पूरा गरी आफ्ना नागरिक लिएर गइरहेको छन,' उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.