|

पर्सा : कोरोना महामारीमा जनअपेक्षाअनुसार प्रदेश र केन्द्र सरकारको कार्य सम्पादन नगरेको भनी विरोधमा उत्रिएका नेविसंघका ६ नेता कार्यकर्ता पर्सामा पक्राउ परेका छन्।

शनिबार मध्याह्न विरोधमा उत्रिएका नेविसंघ पर्साका अध्यक्षसहितका नेता कार्यकर्तालाई पक्राउ परेका हुन्। उनीहरुलाई ६ घण्टादेखि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ। पक्राउ परेका नेपाल विद्यार्थी संघ पर्साका अध्यक्ष विकास तिवारीसहितका नेता कार्यकर्तालाई कुन प्रक्रिया अगाडि बढाउने भन्ने अझै आधा÷एक घण्टापछि मात्र थाहा हुने पर्साका प्रहरी नायव उपरीक्षक मनोजित कुँवरले बताए। 

पक्राउ परेका नेता कार्यकर्ता जिल्ला अध्यक्ष तिवारी, उपाध्यक्ष शेष हजारा, नेविसंघ ठाकुरराम बहुमुखी क्याम्पस इकाई अध्यक्ष मनोज साह, जिल्ला सहसचिव रमेश यादव, पूर्वप्रदेश समिति सदस्य अभय कर्ण र श्याम गुप्ता रहेका प्रहरीले जनाएको छ। 

उनीहरुलगायत नेता कार्यकर्ताले लकडाउनमा कोरोना संक्रमण फैलन सक्ने गरी नाराजुलुस गरेकोले नियन्त्रणमा लिएको पर्सा प्रहरीको दाबी छ। यता पक्राउ परेका नेता कार्यकर्ताले भने पिसिआर परीक्षणको दायरा बढाउनुपर्ने, सरकारले गरेका खर्चको पारदर्शिता गरिनुपर्ने र कोरोना संक्रमणको गढ देखिएको क्वारेन्टाइनमा भएका नेपालीको अविलम्ब स्वास्थ्य परीक्षण गरी ढुक्क हुने वातावरण सिर्जना गर्न दबाबस्वरुप प्रदर्शन गरिएको जनाएका छन्। 

पर्सा प्रहरीले भने पक्राउ परेका विद्यार्थी नेता कार्यकर्तालाई क्वारेन्टाइनमा राख्ने तयारी गरिरहेको हल्ला बाहिर आए पनि अहिले नै कुनै ठोस निर्णय भइनसकेको प्रहरी नायव उपरीक्षक कुँवरले बताए। 

स्थानीयले भने पक्राउ परेका विद्यार्थी नेता कार्यकर्ता क्वारेन्टाइनमा राखिने हो भने उनीहरुलाई नियन्त्रणमा लिने प्रहरीहरुलाई पनि क्वारेन्टाइनमा राख्नुपर्ने बताउँदै छन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.