|

सुर्खेत : कोरोना भाइरस (कोभिड-१९) संक्रमण कर्णालीका सबै जिल्लामा पुगेको छ। आइतबारसम्म कर्णालीका सबै दशवटै जिल्लामा कोरोनाको संक्रमण देखिएको हो।

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले दिएको जानकारीअनुसार शनिबार रुकुमपश्चिमको मुसिकोट नगरपालिका ११ का ३३ वर्षीया पुरुषमा संक्रमण पुष्टि भएसँगै कोरोना कर्णालीका सबै जिल्लामा पुगेको हो।

शनिबार राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको पिसिआर परीक्षणमा रुकुममा ती युवामा संक्रमण पुष्टि भएको मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जनाए।

रुकुमका युवासहित कर्णालीमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो। जसमध्ये सल्यानको वनगाड कुपिन्डे नगरपालिका वडा नम्बर २, ३, ५ र ६ का एक/एक जना र वडा नम्बर ४ मा दुईजना छन्।

सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर ७ र ८ का एक/एक जना र दैलेखको महावु गाउँपालिका वडा नम्बर १ मा दुई जना संक्रमित छन्। 

कर्णालीमा १२ सय ५६ संक्रमित

कर्णालीमा कोरोना संक्रमितको संख्या १२ सय ५६ पुगेको छ। संक्रमितमध्ये दैलेखमा सबैभन्दा बढी अर्थात सात सय ११, सुर्खेतमा दुई सय ७९, सल्यानमा एक सय ६९, कालिकोटमा ४२, जुम्लामा २४, जाजरकोटमा १०, मुगुमा दुई र हुम्ला, डोल्पा तथा रुकुम पश्चिममा एकरएक जना छन् । यस्तै कर्णालीका प्रयोगशालामा गरिएको परीक्षणमा सुदूरपश्चिम प्रदेशका १६ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ।

आइतबार कर्णालीमा १४ जना कोरोनामुक्त भएका छन्। दैलेखस्थित नौमुले आइसोलेसन सेन्टरबाट सात, सुर्खेतस्थित प्रदेश अस्पतालबाट ३ जना सल्यान बहुमुखी क्याम्पसबाट तीनजना र जाजरकोट अस्पतालबाट एकजना कोरोनामुक्त भएका छन्। अहिले सम्म कर्णालीमा कोरोना संक्रमणमुक्त हुनेको संख्या पाँच सय ३१ पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.