|

पाल्पा : सोमबार साँझ पहिरोले दुई वटा गाडी बगाउँदा मृत्यु हुनेको संख्या ४ पुगेको छ। मंगलबार अपराह्न थप एक जनाको ज्यान गएको हो। झापाको शिवसताक्षी नगरपालिका–८ झिलझिले बुद्धचोकका १८ वर्षीय कुमार तामाङको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सुरज श्रेष्ठले बताए। 

पहिरोमा थप पुरिएको हुन सक्ने आशंकामा आज बिहानैदेखि खोजी कार्य थालिएको थियो। पुरिएको अवस्थामा उनको शव फेला परेको हो। ट्याङ्करका सहचालक रहेका उनको शव अहिले जिल्ला अस्पताल पाल्पाको शव गृहमा राखिएको प्रहरी निरीक्षक श्रेष्ठले बताए।

यसअघि पाल्पाको रिब्दीकोट गाउँपालिका २ देउरालीका ३२ वर्षीय भुवन खाम्चा, काभ्रे पाँचखाल नगरपालिका ८ हुक्से बजारका २८ वर्षीय निवेश श्रेष्ठ र चितवनको भरतपुर महानगरपालिका २९ बाङ्गेसालका ३३ वर्षीय वीरबहादुर गुरुङको शव फेला परेको थियो। एक जनाको भने मिसन अस्पतालमा उपचार क्रममा मृत्यु भएको हो।

पाल्पा–गुल्मी सडकखण्डअन्तर्गत तानसेन नगरपालिका ११ बन्दीपोखरास्थित सम्मोबारीमा अविरल वर्षासँगै आएको पहिरोले दुई वटा गाडी बगाएको थियो। अन्य दुई वटामा भने सामान्य क्षति भएको छ। लु२ख १३७६ नम्बर ट्रक र लु१क १९२८ नम्बरको ट्याङ्करलाई पहिरोले बगाएको थियो। ट्रक भीरमा अड्किएको छ भने ट्याङ्कर तल खोल्सामा टुक्राटुक्रा परेको अवस्थामा छ। सडकमा रहेका लु१च ७०११ नम्बरको कार र लु२च ७०४३ नम्बरको पिकअप जिपलाई समेत पहिरोले सामान्य क्षति पु¥याएको छ। 

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सर्वसाधारणले घटनास्थल पुगेर उद्वार गरेका थिए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.