यसरी गर्न सकिन्छ नियन्त्रण

|

काठमाडौं : दक्षिणबाट उत्तरतर्फ चलेको हावाका कारण भारतबाट नेपालमा छिरेको सलहको समूह तराईका जिल्लाबाट विस्तारै पहाडतर्फ उक्लिन थालेका छन्। 

शनिबार दिउँसो तराई-मधेसका बारा, पर्सा, सर्लाही, रुपन्देही र कपिलवस्तुसहितका जिल्लामा देखिएको सलह कीराको समूह अपरान्हपछि पहाडतिर पनि पुग्‍न थालेका छन्। 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हावाको दिशा र गतिमा आएको परिवर्तनले नेपालमा सलहको सानो समूह पसेको जनाएको छ। त्यही समूह तराईका जिल्लाबाट उत्तरतर्फ बहेको हावाको बहावसँगै पहाडी जिल्लामा पनि पुगेका हुन्। 

शनिबार साँझसम्म भित्री मधेसको सिन्धुलीसहितका जिल्लामा पुगेका सलहको समूह रामेछाप, काभ्रेसहितका पहाडी जिल्लामा पनि पुगिसकेका छन्। धेरै ठूलो संख्यामा नरहेकाले क्षतिको पनि सानो हुने अनुमान कृषि मन्त्रालयले गरेको छ। 

रुपन्देहीको बुटवलसहितका भूभागका सुरुमा देखिएको सलहको समूह त्यहाँबाट प्रदेश ५ कै पहाडी जिल्ला पाल्पासम्म पुगेका छन्। कृषि मन्त्रालयका अनुसार नेपाल छिरेको सलहको समूह मरुभूमि सलह भएको जनाएको छ।

तर मन्त्रालयले सानो संख्या भने पनि कतिको समूह छ भन्‍ने खुट्याउन सकेको छैन। नेपालमा मनसुन शुरु भइसकेको अवस्थामा यस कीराको प्रवेश सम्भावना न्यून रहेको बताइएको थियो। 

सलह लामो समयदेखि भारतको विभिन्‍न स्थानमा देखिएको थियो । नेपालमा पनि सम्भावित प्रवेशलाई दृष्टिगत गर्दै त्यसको अध्ययन गरी आवश्यक तयारी कार्य गर्न कृषि मन्त्रालयले जेठ १३ गते प्राविधिक कार्यदल गठन गरेको थियो। कार्यदलले अध्ययन गरी आवश्यक कार्ययोजनासहित प्रतिवेदन तयार पारिसकेको छ । 

मन्त्रालयले उक्त प्रतिवेदनका आधारमा सबै सम्बद्ध निकाय तथा प्रदेश, स्थानीय तहमा पर्याप्त संवाद र सहकार्यको काम भइरहेको जनाएको छ । यस बीचमा विश्व खाद्य तथा कृषि सङ्गठनका विज्ञसँगको परामर्श गरी सलहका सम्बन्धमा प्राविधिक जानकारी तयार पारी प्रकाशन गरिएको र विभिन्न सञ्चारमाध्यमबाट प्रचारप्रसार गरिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले सलह कीराको सङ्ख्या, अवस्था, फैलावट, क्षतिको आँकलन लगायतको विषयमा जानकारी लिन सङ्घीय निकाय र प्रदेशअन्तर्गतका प्राविधिकहरू परिचालित भइसकेको जनाएको छ। 

सङ्घमा रहेको प्राविधिक कार्यदल र सम्बन्धित निकाय पनि सक्रिय भएका छन् । मन्त्रालयले प्राविधिकको सम्पर्क र समन्वयमा यस कीराको व्यवस्थापनमा सक्रिय रहन तीनै तहका सरकारका सम्बन्धित निकायलाई अनुरोध गरेको छ। 

कसरी नियन्त्रण गर्ने? 

सलह कीराको नियन्त्रणका उपाय
१. हुललाई तितरबितर पार्ने-आगो बाल्ने,धुवा उडाउने आदि।
२. प्राकृतिक सिकारीको प्रयोग- हाँस, माकुरा, छेपारो आदि ( हाँसले प्रतिदिन २०० जतिको सङ्ख्यामा कीरा खान्छ) ।
३. ध्वनिको प्रयोग गर्ने ( थाल ठटाउने, स्पिकर बजाउने आदि)
४. प्रजनन गर्न सक्ने ठाउँ नष्ट गर्ने।
५. कीटनाशकको प्रयोग, जैविक समेराटाईजियम ,रसायनिक मालाथिन,फेनिट्रोथिन,डाईजिनन र फिप्रोनिल,बोरिक एसिड आदि।
६. लसुन र पानीको घोल बनाएर छर्किनाले यसको केही मात्रमा नियन्त्रण गर्न सकिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.