नेताहरुको सुझाव : पार्टीको निर्णय मानेर अघि बढ्नू

|

काठमाडौं : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी स्थायी कमिटी बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुवै पदबाट राजीनामा दिन दबाब बढेको छ। मंगलबार बसेको बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र शीर्ष नेताहरू नै खनिएपछि ओलीले झण्डै १६ घन्टायता निकै बाक्लो भेटघाट र छलफल गरे।

मन्त्रीहरू र केही स्थायी कमिटी सदस्यहरूलाई बिहानै बालुवाटारमा बोलावट हुनुपनि यसैको निरन्तरता थियो। तर 'घरै पिँडालु, वनै पिँडालु' भने झैं कार्यशैलीलाई लिएर जताततै विरोध खेपेका प्रधानमन्त्रीका लागि बालुवाटार परामर्श पनि अनुकूल नभएको बुझिएको छ। 

पार्टीभित्र विवाद बढ्दै गएपछि मंगलबार बेलुकादेखि नै इन्टरनेट सञ्जालमा चिन्ता प्रकट गरिरहेका मन्त्रीद्वय घनश्याम भुसाल र योगेश भट्टराई पनि सो भेटघाटमा सहभागी थिए। उक्त भेटघाटलाई 'परामर्श' भनिएको छ। राजनीतिक जीवनमा सामान्यतया: संकटका बेला 'परामर्श' खुबै हुने गर्छ।

बालुवाटारमा दिइएको परामर्शबाट प्रधानमन्त्रीलाई सकस परेको छ। स्थायी कमिटी सदस्य एवम् मन्त्री भुसालका अनुसार आज बिहानको बैठकमा ओलीलाई पार्टी कमिटीको निर्णय मान्‍न सुझाइएको छ। अर्थात, आज प्राप्त परामर्श मान्‍ने हो भने अब ओलीले तत्कालका लागि आफू अल्पमतमा रहेको स्थायी कमिटी र सचिवालयको निर्णय मान्‍नुपर्नेछ। यी दुवै पार्टी कमिटीमा ओलीको राजीनामा माग भइसकेको छ।

ओलीले के भने?

परामर्श बैठकको शुरूमै ओलीले आफूलाई एक्ल्याएर अपमानित गर्न खोजिएको बताएका थिए। आफूमाथि सबैतिरबाट आक्रमण भएकाले सहयोग गर्न पनि उनले आग्रह गरे। आफूले सक्दो गर्दै गर्दा पार्टीमा जटिलता आएको दावी गर्दै प्रधानमन्त्रीले ओलीले 'अब के गर्ने?' भनेर सोधेका थिए। तर उनले आफ्नो योजना भने नेताहरूलाई बताएनन्।

बैठकमा सहभागी एक नेताका अनुसार अरू बेला नेताहरूलाई बोलाउने र लामो समयसम्म आफ्ना कुरा सुनाउने गरेका प्रधानमन्त्रीले आज भने आफू थोरै बोलेर अरूका कुरा धेरै सुनेका थिए।

प्रतिकूल जवाफ

पार्टीभित्रै अभरमा परेका प्रधानमन्त्रीले नेताहरूसँग सहयोगको अपेक्षा राखे पनि प्रतिकूल जवाफ पाएका छन्। प्रधानमन्त्रीकै कारण पार्टीमा संकट देखिएकाले मार्गप्रशस्त गरेर पार्टी एकता जोगाउन तयार भएमात्रै सहयोग गर्न सकिने जवाफ नेताहरूले दिएका छन्।

सुवास नेम्वाङले मणि थापा र लेखराज भट्ट लगायतले ओलीलाई ​'जसरी पनि' पार्टीभित्रको विवाद मिलाउन र फराकिलो सोच राख्न सुझाव दिएको नेताहरूले जानकारी दिएका छन्।

पार्टीभित्रको विवादमा पछिल्लोपटक स्पष्ट रूपमा नखुलेका महासचिव विष्णु पौडेल, रामबहादुर थापा 'बादल' र ईश्वर पोखरेल आजको छलफलमा पनि मौन बसेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.