|

पर्वत : आगामी आर्थिक वर्ष ०७७/०७८ का लागि गण्डकी प्रदेशको बजेट बहुमतले पारित भएको छ। गत असार १ गते आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले प्रदेश सभामा पेस गरेको बजेट छलफल सकिएपछि शुक्रबार सत्तारुढ सांसदहरूको समर्थनमा बजेट बहुमतले पारित भएको हो।

शुक्रबारको प्रदेश सभा बैठकमा विनियोजन विधेयक र मन्त्रालयगत खर्च शीर्षकमा छलफल भएपछि बजेट पास भएको हो। आगामी वर्षका लागि अर्थमन्त्री गुरुङले ३४ अर्ब ८४ करोड २१ लाख ६० हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका थिए। विनियोजित बजेटमध्ये १४ अर्ब ३४ करोड चालूतर्फ र १९ अर्ब ९९ करोड रुपैयाँ पुँजीगततर्फ छुट्याइएको छ। यसअनुसार चालुतर्फ ४१,  पुँजीगततर्फ ५७ र बाँकी बजेट वित्तीय व्यवस्थामा छुट्याइएको छ।

बजेटका विषयमा सांसदहरूले उठाएका प्रश्नको जवाफ सातै जना मन्त्रीहरूले दिएका थिए। चालु आर्थिक वर्षमा जस्तै आगामी आर्थिक वर्षका लागि पनि भौतिक पूर्वाधार विकास मन्त्रालयका लागि धेरै विनियोजन गरिएको छ। सामाजिक विकास मन्त्रालयमा १३ प्रतिशत, कृषिमा ९ प्रतिशत, मुख्यमन्त्री कार्यालयलाई ७, पर्यटनमा ५, आन्तरिक मामिलामा २ र आर्थिक मामिला मन्त्रालयमा ०.५ प्रतिशत बजेट छुट्याइएको छ।

बजेटमा खर्च व्यहोर्ने स्रोतमध्ये नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान  ७ अर्ब ११ करोड २६ लाख, सशर्त अनुदान  ४ अर्ब २० करोड ८४ लाख, समपूरक अनुदान एक अर्ब ४९ करोड ८९ लाख, विशेष अनुदान  ५४ करोड, राजस्व बाँडफाँटबाट प्राप्त हुने ७ अर्ब ५७ करोड ३७ लाख, रोयल्टी बापत प्राप्त हुने ३० करोड रुपैयाँ रहेको छ।

आन्तरिक राजस्वबाट ४ अर्ब ५० करोड ८५ लाख ६० हजार रुपैयाँ उठाउने लक्ष्य राखिएको छ। चालु आर्थिक वर्षमा ३ अर्ब २७ करोड ७५ लाख रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य तोकिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.