पछिल्लो पटक थपिए २४ संक्रमित
पछिल्लो पटक थपिए २४ संक्रमित
सुर्खेत : कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १७ सय नाघेको छ। बुधबार कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा २४ जना कोरोना भाइरस संक्रमित थपिँदा संक्रमितको संख्या १७ सय १४ पुगेको हो।
सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण, रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको प्रयोगशालामा गरिएको परीक्षणमा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख लक्ष्मी नारायण तिवारीका अनुसार कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा सुर्खेतका १४ जना, दैलेखका ३ जना, जुम्ला, अछाम र सल्यान १-१ जना गरी २१ जना कोरोना संक्रमित थपिएका हुन्।
त्यस्तै, रुकुमपश्चिमको चौरजहारी नगरपालिकाको प्रयोगशालामा गरिएको परीक्षणमा सल्यान ३ जना कोरोना संक्रमित थपिएका छन्।
यससँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १७ सय १४ पुगेको महाशाखा प्रमुख डा.तिवारीले बताए। कर्णालीमा बुधबार १३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्।
दैलेख अस्पताल ४ जना, दैलेखको नौमुले गाउँपालिकाको आइसोलेसनबाट ३ जना, कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका शंकर माध्यमिक विद्यालय सेरीज्युला आइसोलेसनमा ४ जना, कालिकोटको पलाँता गाउँपालिकाको आइसोलेसनबाट १ जना र जुम्लाबाट १ जना डिस्चार्ज भएको डा. तिवारीले जानकारी दिए।
हाल कर्णालीमा कोरोना संक्रमण जित्नेको संख्या १४ सय ७५ पुगेको र संक्रिय संक्रमितको संख्या २३३ रहेको डा. तिवारीको भनाई छ।
कालिकोटका ५ जन डिस्चार्ज
कालिकोटबाट कोरोना भाइरस (कोभिड-१९) संक्रमित ५ जना निको भएर डिस्चार्ज भएका छन्।
कोरोना संक्रमित भई सान्नी त्रिवेणी गाउँपालिका शंकर माध्यमिक विद्यालय सेरीज्युला आइसोलेसनमा रहनु भएको सान्नी त्रिवेणी गाउँपालिका वडा नं.२ का १८ वर्षीय पुरुष, वडा नं. ३ का ४२ वर्षीय पुरुष, ५२ वर्षीया महिला, वडा नं. ५ का ५७ वर्षीय पुरुष र पलाँता गाउँपालिका-३ का २३ वर्षीय पुरुष रहेका जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका सूचना अधिकारी कटकबहादुर महतले जानकारी दिए।
महतका अनुसार हाल जिल्ला विभिन्न आइसोलेसनहरूमा ३ महिला र ८ जना पुरुष गरी ११ जना कोरोना संक्रमित बिरामी छन्। जिल्लाभर कोरोना संक्रमितको संख्या ५५ जना रहेको र ४४ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएको सूचना अधिकारी महतले जनाए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।