|

बैतडी : बैतडीसहित सुदूरपश्चिम प्रदेशका ७ स्थानमा स्वचालित मौसम मापन केन्द्र स्थापना गरिएको छ। सुख्खा फलफूल केन्द्र सतबाँझ, गोकुलेश्वर कषि क्याम्पस गोकुलेश्वर, कृषि ज्ञान केन्द्र बझाङ र तरकारी जर्मप्लाज्म सम्बर्द्धन तथा बीउ उत्पादन केन्द्र घटाल डडेल्धुरामा मौसम मापन केन्द्र स्थापना गरिएको हो। 

यस्तै, कृषि विकास निर्देशनालय दिपायल डोटी, कृषि ज्ञान केन्द्र कञ्चनपुर र टीकापुर प्राविधिक शिक्षालय कैलालीमा केन्द्र स्थापना गरिएको कृषि विकास निर्देशनालय दिपायलका नायब सुब्बा चुडामणी पनेरुले जानकारी दिए। कूल २६ लाख ३९ हजार रुपैयाँ लागतमा निर्देशनालयले उपकरण जडान गरी केन्द्र स्थापना गरेको हो। ​

मापन केन्द्रले मौसमको पूर्वानुमान, हावाहुरी, घाम, पानी, बादल र आद्रता मापन गर्ने जडानको ठेक्का पाएको महावीर श्री इन्टरनेशनल प्रालिका इन्जिनियर सार्थक लम्सालले बताए। उनले भने, ‘इन्टरनेट जडित उपकरण र मोबाइल एपमार्फत पनि मौसनसम्बन्धी जानकारी पाउन सकिनेछ।’ साथै, इन्टरनेटको सुविधा नभएको ठाउँमा पनि नेपाल टेलिकमको सीम प्रयोग भएका मोबाइलबाट पनि मौसमसम्बन्धी जानकारी लिन सकिने बताइएको छ।

जडान गरिएको उपकरणले मौसमसम्बन्धी जानकारी दिने भएकोले यसले कृषि क्षेत्रका लागि समेत सहयोग पुग्ने सुख्खा फलफूल विकास केन्द्र बैतडीका निमित्त प्रमुख डम्मरसिंह भाटले बताए। उनले भने, ‘मौसमसम्बन्धी उपकरणले वर्षभरिको मौसमको विवरण सुरक्षित राख्ने भएकोले कुन मौसम र कति तापक्रममा कुन बाली लगाउँदा उपयुक्त हुन्छ भन्ने कुराको जानकारी दिन सहज हुनेछ।’ कृषि विकास निर्देशनालय दिपायलले जडान गरेको मौसमसम्बन्धी जानकारी दिने उपकरणको रिपोर्ट कृषि विकास निर्देशनालयबाट अध्यावधिक गर्ने जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.