|

मुगु : सडक विस्तारका नाममा सडक डिभिजन कार्यालय जुम्लाले अन्नबालीका साथै स्याउ बगैंचामा स्काभेटर तथा डोजर चलाएको छ।

सडक डिभिजन कार्यालय जुम्लाले गमगढी–ताल्च सडकखण्ड अन्तर्गत पर्ने ताल्च मैतु कागथला झागोठ सडकखण्डमा पर्ने जग्गामा लगाइएका सयौं स्याउका बिरुवा तथा बर्षे बालीहरु नष्ट पार्दै स्काभेटर चलाएको हो।

छायानाथ रारा नगरपालिका–५ सिङ बुढाले सडक विस्तारका नाममा आफ्ना ३०० वटा स्याउका विरुवा नष्ट भएको बताए। उनले भने, ‘सबै लगानी डुब्यो, अब के गर्ने होला?’ ताल्चका जयगणेश विकका २२ वटा र रामबहादुर बुढाका ३००, नन्दबहादुर महतारा, कालीबहादुर रोकाया र हरिचन्द्र कार्कीलगायत किसानका एक हजारवटा भन्दा बढी फलफूलका रुख बिरुवाहरु नष्ट भएका छन्।

सडक खन्ने क्रममा फलफूलका बिरुवाहरु नष्ट भएपछि किसानहरुले सम्बन्धित निकायमा क्षतिपूर्तिको माग समेत गरेका छन्। यसैगरी सडकको तलमाथि लगाइएका बर्षे बाली कोदो, आलु समेत सडक खन्दा क्षति पुगेको छ।

यता सडक डिभिजन कार्यालय जुम्लाले प्रभावित कृषकहरुको क्षतिको वास्तविक परिमाण आएमा क्षतिपूर्ति दिने आश्वासन दिएको छ।  सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख लिलाबहादुर भण्डारीले जति विरुवाको क्षति भएको छ, त्यति स्याउका विरुवा बितरण गर्ने र अन्नबालीको हकमा क्षति भएको कृषकको लागि दुई तीन लाख रुपैयाँ बराबरको चामल खरिद गरेर पीडितलाई दिने बताए।   

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.