|

जाजरकोट : जाजरकोटमा एक हप्तामा उपचार नपाएर दुई सुत्केरीको मृत्यु भएको छ। एकजना आहाराको अभावमा मृत्यु भएको छ भने एक जनाको लडेर मृत्यु भएको छ।

जिल्लाको बारेकोट गाउँपालिका वडा ४ सार्कीटोलमा असार २५ गते आएको पहिराले घर बगाउँदा विस्थापित भएका दलवीर सार्कीको खान नपाएर मृत्यु भएको वडा सचिव डम्बर पुनले बताएका छन्।

त्यस्तै, उनले खानको अभावमा जटिल अवस्था आएको समेत बताएका छन्। बारेकोट गाउँपालिका ७ सुवाकोटकी २१ वर्षीया मनकुमारी परियारको सुत्केरी भएको पाँच घण्टापछि मृत्यु भएको छ।

स्वास्थ्य चौकी सेपुखोलाकी अनमी मीरा शाहीका अनुसार सामान्य अबस्थामा सुत्केरी भएको र सुत्केरी भएको केही समय पछि पेट दु:खेर एकाएक रक्तचाप बढेको र उपचार गर्दागर्दै मृत्यु भएको बताइन्। बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको छ। त्यस्तै, उता जिल्लाको जुनिचाँदे गाउँपालिका –३ की ३४ वर्षीया सिंह पुरीको सुत्केरी भएलगत्तै बच्चाको जन्म दिएर अत्यधिक रक्तश्राव भएका कारण मृत्यु भएको परिवारले जानकारी दिएको छ। आइतबार उनको मृत्यु भएको थियो। 

गाउँभन्दा टाढा रहेको स्वास्थ्य संस्थामा लिन घरमा कोही पनि नभएको अवस्थामा,गाउँलेलाई खबर गर्दा गर्दै ज्यान गएको छिमेकीले रत्न पुरीले बताए।

गुणस्तर स्वास्थ्य सेवा दक्ष जनशक्ति र आधुनिक उपकरणको अभावमा ग्रामीण क्षेत्रका गर्भवतीले हरेक महिना ज्यान गुमाइरहेका छन्। बारेकोटको सेपुखोला स्वास्थ्य चौकीमा २०७५ देखि अहिलेसम्म ९ सय ९२ जना सुत्केरी आमाहरुले सेवा लिएको तथ्यांकमा उल्लेख छ।

त्यस्तै, बुधबार नलगाड नगरपालिका ५ की २६ वर्षीया पार्वती वलीलाई हेलिकोप्टरमार्फत उद्धार गरी सुर्खेत ल्याइएको छ। सुत्केरी हुने मिति साउन २१ गते भए पनि मंगलबार राति घरमै लडेका कारण पेट दुखेपछि समस्या आएको थियो।

समस्या आएलगत्तै नेपाली सेनाको सहयोगमा दल्लीस्थित स्वास्थ्य संस्थामा पुर्‍याइए पनि पेटमै बच्‍चाको मृत्यु भइसकेका कारण सुर्खेत ल्याइएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए। राष्ट्रपति उद्धार कोषमार्फत उनलाई उद्धार गरिएको थियो।

 मंगलबार भीरबाट लडेर दुवै खुट्टा भाँचिएका कुशे गाउँपालिका २ का नैने दमाईंलाई कुशे गाउँपालिकाको आर्थिक सहयोगमा बुधबार हेलिकोप्टरबाट उद्धार  गरी उपचारका लागि नेपालगञ्ज लगिएको छ। नैनेसँगै रहेका ५४ वर्षीय सार्की दमाईंको उपचारकै क्रममा मृत्यु भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.