|
फाइल तस्बिर

काठमाडौं : सरकारले साउन ६ को मध्यरातबाट लकडाउन अन्त्य भएको घोषणा गर्दै भदौ १ बाट विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्ने निर्णय गर्‍यो। सरकारको  यो निर्णयले त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले  भदौ ७ गतेबाट परीक्षा थाल्ने तयारी थालेको छ।

त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्यन संस्थान डिनको कार्यालयले इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गत सञ्चालन हुने स्नातकोत्तर तहको परीक्षा भदौदेखि र स्नातक तहको परीक्षा भदौ १५ देखि सञ्चालन गर्ने सूचनासमेत जारी गरिसकेको छ। तर,  काठमाडौ उपत्यकासहित देशभर कोरोना संक्रमित दिनहुँ भेटिरहेका छन्। जताततै त्रास रहेको यस्तो बेलामा परीक्षा गराउन धेरै चुनौतीपूर्ण हुने देखिन्छ। 

सामाजिक दूरी कायम गरी परीक्षा गराउँछौँ’

त्रिभुवन विश्वविद्यालयका रजिष्टार पेशल दाहालले लकडाउन सामान्य भइसकेको भन्दै सामाजिक दूरी कायम गरी परीक्षा गराउने बताए। ‘भदौ ७ गतेबाट परीक्षा सुरु गर्ने हो,’उनले भने,‘समयअनुकुल मिलाएर अरू कुन तहको कहिलेबाट परीक्षा गर्ने भन्ने निर्णय गर्दै जान्छौँ। लकडाउन नर्मल भएकोले फिजिकल उपस्थितिमै परीक्षा दिने व्यवस्था हुँदै छ।’

उनका अनुसार परीक्षामा विद्यार्थीको सिम्बल नम्बरअनुसार जोरविजोर प्रणाली लागू हुने छैन। पहिलाको जस्तै हलमै परीक्षा हुन्छ। सामाजिक दूरी कायम गरी सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा निर्देशिका अबलम्बन गर्दै परीक्षा हुने उनले जानकारी दिए।

गाउँमा भएका विद्यार्थी चिन्तित
सरकारले भदौ १ गतेबाट लामो दूरीका यातायात सञ्चालन गर्ने निर्णय गरे पनि वर्षातका
कारण अहिले जताततै बाढीपहिरोले बाटो अवरुद्ध भएका छन्। जसले गर्दा गाउँमा भएका विद्यार्थी काठमाडौं आउन सकस छ। परीक्षाको विषय लिएर अहिले गाउँमा भएका विद्यार्थी चिन्तित छन्। अहिले सोलुखुम्बुमा रहेका जोरपाटीस्थित कुटुम्ब कलेजका विद्यार्थी तेज राईले काठमाडौं आउन समस्या भएको बताए।

‘म अहिले सोलुमा छु,’उनले भने,‘भदौँ ७ गतेबाट परीक्षा सुरु हुने भएछ। जताततै बाढिपहिरो छ। स्नातक तहको मानविकी संकायको तेस्रो वर्षको परीक्षा दिनुपर्ने छ। कसरी काठमाडौं आएर परीक्षा दिने होला?’ उनले परीक्षा समयसम्ममा काठमाडौं आउन नसकिने हो कि भन्दै चिन्ता लाग्न थालेको सुनाए। सबै विषयको कोर्स नसकी परीक्षा गराउन लागेको भन्दै केही विद्यार्थीले भने आक्रोश पोखेका छन्। 

विद्यार्थी आइसक्ने त्रिविको दाबी

यता,त्रिविका रजिष्टार दाहालले भने परीक्षा सञ्चालन हुने समयसम्ममा गाउँमा भएका सबै विद्यार्थी काठमाडौं आइसक्ने बताउँछन्। उनले भने,‘इन्जिनियरिङको परीक्षा दिने विद्यार्थीलाई यस्तो समस्या छैन। आर्टस, कमर्स लगायतको समय तालिका निकालिसकेपछि भएन भने समस्या आउला। भदौ १ गतेबाट लामो दूरीको यातायात चल्ने भएकाले परीक्षा सञ्चालन गर्ने समयसम्ममा समस्या नआउँला।’ परीक्षाको विषयमा सूचना जारी गरेपछि विद्यार्थी आफैँ सजग हुनुपर्ने उनको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.