थाहा संवाद

'दर्शकलाई ढाँटेर मात्र नेपाली चलचित्र चल्दैन'

साउन १७, २०७७

    काठमाडौं : कोरोना महामारीले विश्वव्यापी रूपमा असर गरेको छ। सबैभन्दा बढी मनोरञ्जन क्षेत्रमा यसले व्यापक रुपमा नोक्सान पुर्‍याएको छ। महामारीअघि महिनामा आधा दर्जनभन्दा बढी चलचित्र रिलिज हुने गर्थे। कोरोना महामारीले नेपाली चलचित्र उद्योगमा पारेको असर र अबको नेपाली चलचित्रबारे चलचित्र निर्देशक केपी पाठकसँग थाहाखबर कर्मी अतिन आचार्यले गरेको कुराकानी :

    हिजोआज चलचित्र क्षेत्रको सम्पूर्ण गतिविध ठप्प छ।  केमा व्यस्त हुनुहुन्छ?

    कोरोनाको कहरबाट निस्कने प्रयास भइरहेको छ। लामो लकडाउन पनि खुलिसकेको छ। फेरि संक्रमण पनि बढ्दैछ यद्यपि आफ्नो क्षेत्रको लागि केही गर्न लागि रहेको छु। सिर्जना तथा समग्र चलचित्र क्षेत्रलाई कोभिडले कस्तो प्रभाव पारेको छ। त्यसको अध्ययन  पनि गरिरहेको छु।

    महामारीको बाबजुद अन्तर्राष्ट्रिय चलचित्र महोत्सव गर्ने तयारी पनि गरिसकेका छौँ। डकुमेन्ट्री,फिचर फिल्म शोखको लागि बनेको जस्तो भइरहेको छ। यसलाई फरक तरिकाले निर्माण गरेर लान सकिन्छ भनेर छलफल गर्ने कार्यमा पनि व्यस्त छु। यो समयमा मेरो चलचित्रको मार्केटिङ गरिरहेको छु।

    महामारीले नेपाली चलचित्र उद्योगमा असर परिरहेको छ। सिनेकर्मी हतास हुने बेला आइसकेको छ। यस्तो अवस्थामा अब कसरी अगाडि बढ्न सकिन्छ?

    चलचित्रमा मात्र यसले प्रभाव पारेन विश्व अर्थतन्त्रमा पारिरहेको बेलामा चलचित्र क्षेत्रमा नपार्ने भन्ने त कुरा भएन। तर, कति पार्‍यो त्यो महत्त्वपूर्ण हुन्छ। सबैभन्दा बढी नेपाली अर्थतन्त्रमा परिरहेको बेलामा सिने जगतमा यसले प्रभाव पार्नु त स्वाभाविक पनि हुन जान्छ। प्रभाव पारे पनि अहिले हतारमा आएर निराश भइहाल्नुपर्ने अवस्था पनि छैन।

    निर्माता तथा चलचित्रकर्मीलाई फरक ढंगबाट सोच्न पनि बाध्य बनाएको छ। सिर्जनात्मक पनि बन्न सहयोग गर्छ कि भन्ने लाग्छ। नयाँ-नयाँ कामको बारेमा सोच्न वा नेपाली चलचित्रको बजारको बारेमा सोच्न वा विकल्प खोज्नेको लागि यसले अवसर दिएको छ।

    सिनेमा घरमा चलचित्र प्रदर्शन हुँदा राम्रो थिएन। अहिले भने प्रविधिको प्रयोग गरेर भए पनि यसलाई प्रयोगमा ल्याउने कोसिस भइरहेको छ।

    कोरोना महामारीले चलचित्र महोत्सवलाई प्रभाव  पारेको छ कि छैन?

    महामारीले प्रभाव पारेको छ। धेरै ठाउँमा यसले प्रभाव पारिसकेको छ। अनलाइनबाट महोत्सव गर्ने योजना बनाइसकेका छन्। ठूला-ठूला फिल्म महोत्सव अनलाइनबाट हुन थालिसकेका छन्। बेइजिङ,वुसान महोत्सव यस्ता सबै अनलाइनबाट हुन थालिसकेका छन्। धेरैले अनलाइनको तयारी गरिरहेको छन्। आउने दिनले यसको निर्धारण गर्नेछ।

    नेपालमा वर्षेनी चलचित्र महोत्सव हुने गर्छ। यसले सिने क्षेत्रमा कसरी उपयोगी सिद्ध गर्न सकिन्छ

    चलचित्रको माध्यमबाट समाज, राष्ट्र, मानिसका दु:ख, भावना र संस्कृति आदानप्रदान गर्न सहज हुन्छ।  विभिन्न चलचित्रको अन्तर्राष्ट्रियकरणमा बजारीकरण गर्नलाई सहज हुने भएकोले पनि यसको जरुरी छ। कतिपय अवस्थामा निर्देशकका फिल्मले अवार्ड जित्यो भने निर्देशक र कलाकार दुवैलाई स्थापित हुने अवसर मिल्छ। महोत्सवमा जाँदा चलचित्र निर्माणदेखि कथावस्तु तयार गर्नेसम्मका ज्ञान प्राप्त हुने गर्छ। देश, समाज बुझ्ने अवसर पाउँछन्। यसको राम्रो पक्ष भनेको दर्शक बढाउने काम गर्छ त्यसले भोलि दर्शकलाई हलसम्म पुर्‍याउने काम गर्छ।

    धेरै चलचित्र महोत्सवमा सहभागी हुनुभएको छ। यसले तपाईमा प्राप्त भएको अनुभव के छ?

    महोत्सव चलचित्रकर्मी वा निर्माताको लागि विशेष स्थान हो। त्यहाँ सबै खालका निर्मातादेखि निर्देशकसम्मलाई भेट्न पाइन्छ। त्यहाँ विचार, लेखन शैली र बजारीकरण गर्न पाइन्छ।

    घाटाको व्यापार भए पनि चलचित्र क्षेत्रतर्फ आकर्षण बढ्दो छ।  बजारीकरण गर्ने शैलीले पनि यो क्षेत्र पछाडि धकेलिएको हो?

    नेपाली चलचित्रको बजारीकरण हुन सकेको छैन। फिल्म निर्माण भएपछि त्यसको सफल बन्ने नायक र नायिकाको कसरत बढी देखिन्छ। यो केही हदसम्म ठिक भए पनि सबै काम उनीहरुको थाप्लोमा हालिन्छ। यतिले मात्र बजार प्रवर्द्धन कसरी हुन सक्दैन। सिनेकर्मीले  चलचित्र  निर्माण गरेपछि वितरकलाई हस्तान्तरण गर्छ।  उनीहरुले पनि यसतर्फ गम्भीर हुनुपर्छ। 

    यसको लागि निर्माता संघ तथा चलचित्र विकास बोर्डको सक्रियता हुन जरुरी छ। सधैंभरि पत्रपत्रिका, टिभीमा विज्ञापन गरेर चलचित्र चल्दैन। अनलाइनको समय छ त्यसको सहायता लिनुपर्‍यो वा प्रविधिको सहायता किन लिन सकिरहेको छैन। सबैको हात-हातमा प्रविधि छ।

    तिनीहरूको हातमा पुर्‍याएर नोटिफिकेसन दिएर त्यहीँ अनुसारको एप बनाएर त्यसको बजारीकरण गर्नुपर्‍यो। प्रविधिको प्रयोगमा जोड दिनुपर्छ। तर, यसको लागि चलचित्र विकास बोर्डको भूमिका हुनुपर्छ। परम्परागत शैलीको चलचित्रको विज्ञापन गर्ने एउटा माध्यम थियो। त्यसको अन्त्य हुनुपर्छ। चलचित्रको बजारको लागि नयाँ रणनीति बनाउनुपर्छ। सबै कुरामा विकल्प खोज्ने बेला आएको छ। त्यसैले पुरानै शैलीमा जाने हो भने नेपाली चलचित्र अगाडि होइन धेरै पछाडि जान्छ।

    महामारीले चलचित्र क्षेत्र ठप्प भएको सत्य हो। तर, अन्य समयमा पनि नेपाली चलचित्रको लागि दर्शकले मरिहत्ते गरेको उदाहरण कमै मात्रामा छ। फिल्म निर्माण भए पनि  किन उत्साहित हुन सकेनन् दर्शक?

    दर्शकको अपेक्षा अनुसारको फिल्म निर्माण नै कहाँ भएका छन र? जब दर्शकले आफूलाई चलचित्रमा पाउँछन्। तब मात्र अपनत्व महसुस हुन्छ।  त्यसपश्चात् मात्र हरेक दर्शक सिनेमा घरसम्म धाउँछन्। दर्शकलाई ढाँट्ने खालको फिल्म बन्न थालेपछि दर्शकको उत्साह  घट्नु स्वाभाविक हो। अहिलेको चलचित्रमा न कथावस्तु छ, न त अभिनयमा सिर्जनात्मकता छ।

    दर्शकको भावना बुझ्न सक्ने खालको फिल्म बन्न थाल्यो भने दर्शकको भीड लाग्छ। त्यसको लागि मिहिनेत तथा सिर्जना र मौलिकता हुनुपर्छ। दर्शकलाई फिल्म क्षेत्रमा आकर्षण गर्नेतर्फ सोच्ने बेला आएको छ। त्यसका लागि प्रविधिको व्यापक प्रयोग गर्‍यौ। तर, कथामा इमान्दारी देखाऊ। दर्शकलाई ढाँटेर मात्र नेपाली चलचित्रको विकास हुन सक्दैन। 

    तपाईंको आशयअनुसार  नेपाली चलचित्रमा कथा र प्रविधिको गुणस्तरीयता प्रश्न चिह्न खडा भएको हो?

    गुणस्तर केलाई मान्ने भन्नेमा रहन्छ। हामी कथा र विषयवस्तुको चयनमा नै  एकदमै कमजोर छौँ। समयअनुसार  समाज, परिवेशको कथा दिन सकेनौँ। हामी अरूको २-३ घण्टा चलचित्र हेरेको कथा बनाउँछौँ। त्यसमा न अध्ययन छ, न त मौलिकता। ठाउँ परिवेशअनुसार निर्माण गर्ने हो भने पनि अध्ययन अनुसन्धान गर्दैनौँ।

    फिल्ममा कला,संस्कृति झल्कने हुनुपर्छ। एक ठाउँको दृश्यलाई नाम परिवर्तन गरेर देखाउने गरिएको छ त्यसो गर्न हुदैन। चलचित्रमा हामीले ढाँट्न सक्दैनौ। त्यहाँ त आँखाले देख्न सकिन्छ। कथावस्तुमा एकदमै कमजोर छौँ। प्रविधिमा विगतमा जस्तो छैन। प्रविधिले सबैलाई अगाडि लगिसकेको छ। हामी अगाडि बढ्न सकेनौँ। 

    तपाईंको दृष्टिकोणमा गुणस्तरीय फिल्मको आधार के हो?

    अहिलेको समसामयिक चलचित्रमा मौलिकता पाउन छोडिएको छ। मौलिकता बिर्सेर आधुनिकतातर्फ लम्केको जस्तो भएको छ। चलचित्र निर्माताले शैली परिवर्तन गर्ने पनि बेला आएको छ। यहीँ शैली हो भने नेपाली चलचित्रले दर्शक पाउन छाडछन्। अहिले चलचित्र कथा जस्तो नभएर कर्मसियल पाराको विज्ञापन हुन थालेको आभास हुन थालेको छ। सर्जकको सिर्जना हराएको छ।

    चलचित्रमा विषयवस्तु राम्रो हुनुपर्छ। त्यसको लागि मौलिकता झल्कने खालको विषयवस्तुको छनोट गर्नुपर्छ। सबैभन्दा महत्वपूर्ण भूमिका प्रस्तुतिको हुने गर्छ। देश र समाज बोल्ने खालको चलचित्रलाई गुणस्तरको आधार मान्न सकिन्छ।

    यस क्षेत्रका कलाकारहरू एक अर्काको खुट्टा तान्ने प्रवृत्तिमा रमाएको देखिन्छ। आरोप-प्रत्यारोप त नेपाली सिनेकर्मी को रोग बनिसकेको छ। यस्तो रोग किन सुरु भयो?

    नेपाली चलचित्रको सुरुवाती समयदेखि यस्तो आरोप प्रत्यारोप चलेको थियो। तर,देखिने गरी अहिले मात्र आएको हो। यो फिल्मी क्षेत्रमा अनावश्यक गफ चलिरहेको थियो। नयाँ भन्ने कुरा केही पनि छैन। अहिले अलिक बढी भयो कि जस्तो छ। लकडाउन छ, मानिस बढी फुर्सदमा छन्। बेरोजगार छन्, मानसिक अवस्था विक्षिप्त छ। कहाँ के बोल्नुपर्ने केही थाहा छैन। भविष्य अनिश्चित जस्तो भएको भन्ने पनि लागेको होला। अर्को कुरा कलाकारले के उत्तर दिनुपर्ने त्यो ख्याल गर्नुपर्छ। सोध्नेले पनि के सोध्नुपर्ने हो त्यो एकदम विचार गर्नुपर्छ।

    थाहा नभएको कुरामा जर्बजस्ती किन जवाफ दिन हतार गर्नु। कलाकार,सर्जक,यस क्षेत्रमा आस्था राख्नेले समाज, देश र दर्शकको पहिचान त गर्नुपर्‍यो नि। सिक्नेभन्दा बढी सिकाउने र नबुझ्दा पनि बढी बुझेको जस्तो गर्नेहरु भएकोले यस्तो भएको हुन सक्छ। यसरी त नेपाली कलाकारिता जगत अगाडि बढ्न सक्दैन। कलाकारहरु बढी शिक्षित र जानकार हुनुपर्ने ठाउँमा अज्ञानता र अहमताको भण्डार पालेर बस्नुको परिणामले यस्तो क्रियाकलापमा अगाडि बढिरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]