पार्टीमा आन्तरिक लोकतन्त्र नभए कुरो झन् बिग्रिन्छ

|

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीभित्रको विवाद समाधान गरेर अघि बढ्नुपर्नेमा जोड दिएका छन्। 

उनले सामाजिक सञ्जालमार्फत पार्टीभित्रको विवाद समाधान गरेर समाजवादउन्मुख सामाजिक आर्थिक रुपान्तरणमा लाग्नुपर्नेमा जोड दिएका हुन्।   

'कम्युनिष्ट पार्टीको उदेश्य समाजमा आज सम्मको सर्वोत्तम लोकतन्त्रको अभ्यास गर्नु, गराउनु हो। त्यसका लागि पार्टी भित्र आन्तरिक लोकतन्त्र सुनिश्चित हुनु पहिलो शर्त हो', उनले भने, अतः कम्युनिष्ट पार्टीभित्र अन्तरपार्टी जनवाद, छलफल, बहस र अन्तर संघर्षलाई पार्टीको जीवन र चालक शक्ति भनिन्छ।

कम्युनिष्टले पार्टीको सर्वोत्तम लोकतन्त्रको अभ्यास गर्नुपर्ने बताएका छन्। पार्टीभित्रको बहस र छलफलले जीवन र चालक शक्तिमा मद्दत पुग्ने जोड दिएका छन्। 

'अन्तर संघर्षलाई स्वस्थ र रुपान्तरणमुखी ढंगले सञ्चालन गर्नाले विचारको परिमार्जन एवम् विकास, संगठनको व्यवस्थापन, परिचालन एवं सुदृढीकरण र सामाजिक रुपान्तरणको क्रान्तिकारी उद्देश्यमा योगदान पुर्‍याउँछ', उनले अगाडि भने।

'अन्तर संघर्षलाई सार्थक निष्कर्षमा पुर्याउन वैचारिक, सैद्धान्तिक, राजनीतिक ,प्रवृत्तिगत र मुद्दागतरुपमा सीधा, खुला र स्पष्ट छलफल गर्ने कार्यशैली अख्तियार गर्नुपर्छ उनले भनेका छन्, 'हाम्रो पार्टीभित्रको अहिलेको एउटा समस्या सिधा र खुला छलफल गर्नुको सट्टा भित्र एउटा कुरा, बाहिर अर्को कुरा र एक ठाँउमा एउटा कुरा, अर्को ठाउँमा अर्को कुरा गर्ने प्रवृत्ति पनि हो। त्यसले समस्या समाधान गर्न सहयोग गर्दैन, बरु जटिल बनाउँछ।'

उनले सिधा र खुला छलफल हुनुपर्नेमा पनि जोड दिएका छन्। 'त्यसैले पार्टी, वर्ग, आन्दोलन, देश र जनतालाई  केन्द्रविन्दुमा राखी सिधा, खुला र स्प्ष्टरूपमा छलफल गरौं र सकारात्मक निकास निकालौँ', उनले भने, 'पार्टी एकताको रक्षा गरौं, समाजवादउन्मुख सामाजिक आर्थिक रुपान्तरण गर्दै  समाजवादको बाटोमा अघि बढौँ।'

नेकपामा प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालको शक्ति संघर्ष उत्कर्षमा पुगेको छ। विवाद समाधानका लागि प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच पटक पटक वार्ता बस्दा सहमति जुट्न सकेको छैन। पछिल्ला दिनमा ओली-दाहाल संवाद पूरै टुटेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.