बाँके : नेपालगञ्जस्थित भेरी अस्पतालमा थ्रोट स्वाब परीक्षण गर्ने स्वचालित आरएनए एक्स्ट्राक्सन मेसिन जडान गरिएको छ।
कोरोना परीक्षण छिटोछरितो बनाउन अटोमेटिक आरएनए एक्स्ट्राक्सन मेसिन जडान गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले जानकारी दिए। उनका अनुसार स्वचालित मेसिन जडान भएपछि कोरोना परीक्षण रिपोर्ट चाँडै प्राप्त गर्न सकिनेछ।
हाल स्वाब नमुना परीक्षण गर्न ४ देखि ६ घण्टा लाग्ने गरेकोमा अब २ घण्टाभित्रै नतिजा प्राप्त हुनेछ। पीसीआर मेसिनमा राखेको दुई घण्टाभित्रै रिपोर्ट आउने थापाले बताए।
‘मेसिन जडान नहुँदा दैनिक तीन–चार सय स्वाब परीक्षण हुन्थ्यो, अब दैनिक ६–८ सय वटासम्म स्वाब नमूना परीक्षण गर्न सकिन्छ,’ डा. थापाले भने, ‘हातले गर्ने काम मेसिनले हुने भएपछि छिटो हुने नै भयो।’
प्रदेश नं. ५ मा भेरी अस्पतालसँगै प्रदेश नं. १ को धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रदेश नं. २ को नारायणी अस्पताल वीरगञ्ज, गण्डकी प्रदेशको प्रादेशिक अस्पताल पोखरा, कर्णाली प्रादेशिक अस्पताल सुर्खेत, सुदूरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पताल, धनगढीमा पनि अटोमेटिक आरएनए एक्स्ट्राक्सन मेसिन जडान भइरहेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।