आइसोलसन भरियो, ४० घरमा सिल

|

हेटौंडा :  मकवानपुर जिल्लामा पछिल्ला केही दिन लगातार कोरोना संक्रमित संख्या बढिरहेको छ। तराईका जिल्लाबाट हेटौंडा प्रवेशमा नियन्त्रण गर्न नसक्दा हेटौंडामा दिनहुँजसो कोरोना संक्रमितको बढ्ने दर उच्च छ। 

हालसम्म मकवानपुर जिल्लामा १ सय ६८ जना कोरोना संक्रमित भेटिएका छन् भने जसमध्ये ८९ जना उपचारपछि घर फर्किएका छन्। मकवानपुरमा बिहीबार मात्रै ५२ जना कोरोना संक्रमित फेला परेका छन्।

बिहीबार बिहान ३७ र साँझ १५ जना गरेर ५२ जनालाई कोरोना संक्रमण भएको पुष्टि भएको कर्राको श्रमिक माविमा रहेको आइसोलेसन वार्डका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिए। बिहीबार फेला परेका ५२ जनामध्ये ३१ जना हेटौंडा उपमहानगरपालिका भित्रका छन। अन्य २१ जना गाउँपालिका र नेपाल प्रहरीका कर्मचारी रहेका छन्।  
हेटौंडास्थित प्रयोगशालामा गरिएको परीक्षणबाट आएको साँझ रिपोर्टअनुसार उपमहानगरपालिका १३ जना र दुई जना मकवानपुरगढी गाउँपालिकाका दुई जना छन्। हेटौंडा– २ मा २ जना, हेटौंडा–१०, ४, ५, ९ र ८ को एकएक जना, हेटौंडा–६ मा ३ जना र ७ मा २ जना र एक जना बाहिर जिल्लाका भए पनि हेटौंडा बस्नेलाई कोरोना पुष्टि भएको छ। यस्तै साँझको रिपोर्टमा मकवानपुरगढी गाउँपालिकाका दुई जनालाई कोरोना पुष्टि भएको छ। 

बिहीबार बिहानको रिपोर्टमा हेटौंडा– ९ का ७ जना, हेटौंडा– ५ का ४ जना, हेटौंडा– ४ का ४ जना, हेटौंडा– २ का १ जना, हेटौंडा– १० का १ जना, हेटौंडा– १३ का १ गरी हेटौंडा उपमहानगरपालिका भित्र १८ जनामा कोरोना पुष्टि भएको थियो। त्यस्तै, भीमफेदी गाउँपालिकाका ३ जना, थाहा नगरका २ जना, बकैया गाउँपालिकाका २ जना, चितवन घर भएका १ जना, काठमाडौं घर भएका १ र नेपाल प्रहरी १० जनामा कोरोना पुष्टि भएको हो। 

प्रहरीलाई नै खतरा

कोरोना भाइरस संक्रमणबाट मकवानपुरको प्रहरी निकै जोखिममा रहेको छ। हेटौंडामा समुदायस्तरमा कोरोना भाइरस संक्रमण फैलिएसँगै यसको जोखिममा प्रहरी पनि परेको हो।  हेटौंडाका विभिन्न स्थानमा कार्यरत १६ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक शुशीलसिंह राठौरले जानकारी दिए। 

जिल्ला प्रहरी कार्यालयमातहत रहेका हटिया र बसपार्कमा कार्यरत १३ जना प्रहरीमा संक्रमण पुष्टि भएको उनले बताए। प्रहरी नै कोरोना संक्रमित भएपछि हेटौंडामा पछिल्लो समय प्रहरी नै खतरामा छन्। प्रहरीसँग सम्पर्कमा भएकाहरु धमाधम क्वारेन्टाइनमा बस्न थालेका छन्। 

१६ हजारको कोरोना परीक्षण

हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० स्थित किटजन्य रोग अनुसन्धान तालिम केन्द्रमा सञ्चालन गरिएको कोरोना भाइरस (कोभिड १९) को प्रयोगशालामा हालसम्म १६ हजार ३ सय ४० जनाको कोरोना परीक्षणका लागि नमुना प्राप्त भएको छ। 

नमुना प्राप्त भएकामध्ये धेरैजसोको कोरोना परीक्षण गरिएको छ। बिहीबारसम्म ७ सय १६ जनाको नमुना परीक्षणका क्रममा रहेका छन्। पछिल्लो समय विभिन्न जिल्लाबाट यहाँको प्रयोगशालामा कोरोना जाँच गर्न धेरै चाप भएपछि नमुना हेटौंडाको प्रयोगशालामा ल्याएर जाँच गर्ने चरणमा रहेको छ। 

हालसम्म कोरोना परीक्षण गरिएका मध्येमा अधिकांश तराईका जिल्लाबाट परीक्षणका लागि ल्याइएका नमुनामा रहेका छन्। संक्रमितहरु अधिकांश तराइको बारा, पर्सा र रौतहटका छन्। पछिल्लो समय मकवानपुरको हेटौंडा र गाउँपालिका क्षेत्रका नागरिकको पनि स्वाब परीक्षण गर्न ल्याउने क्रम बढेको छ। 

कोरोनाको माहामारी सुरु भएदेखि हालसम्म हेटौंडाको बागमती प्रादेशिक ल्याबमा १६ हजार जनाभन्दा बढीको कोरोना जाँच गरिएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका डाक्टर पुरुषोत्तम सेढाईंले जानकारी दिए। यहाँको ल्याबमा कोरोना जाँच गराउनेको धेरै चाप बढेको छ।

प्रयोगशालामा देखिएका केही प्राविधिक समस्या र स्वाब संकलन धेरै भएर पालो पर्खनुपर्ने बाध्यता पनि छ। हेटौंडाको कर्रामा रहेको आइसोलेसनमा पिसिआर परीक्षण गराउन आउनेहरुको चाप पनि निकै बढेको छ। पछिल्ला दिनमा विदेशबाट फर्कनेको संख्या बढेका र संक्रमित व्यक्ति नजिक भएकाले चाप निकै बढेको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले जानकारी दिए।

बकैयाका ४० घर सिल 

पूर्वी मकवानपुरको बकैया गाउँपालिकाले वडा नम्बर ४ को ४० वटा सिल गरेको छ। बिहीबार मकवानपुरका ३७ जनामा देखिएको कोरोना बकैया गाउँपालिका वडा नम्बर ४ का २ जना एकै परिवारका थिए। 

गएको साउन २५ गते पुष्टि भएका २३ जनामध्ये एक जना बकैया गाउँपालिका वडा नम्बर ४ की एक महिला रहेकी थिइन्। बिहीबार पुष्टि हुने ३७ जनामा २ जना बकैया ४ की संक्रमित महिलाको परिवारको सदस्य थिए।

संक्रमितको परिवारको सदस्यमा समेत कोरोना पुष्टि भएसँगै संक्रमितको घर र घरवरिपरि रहेका अन्य घर, सहकारी संस्था, दूध संकलन केन्द्र डेरी तथा वडा नम्बर ४ को प्राथमिक स्वास्थ्य केन्द्र समेत सिल गरिएको गाउँपालिकाकी उपाध्यक्ष सरला बोलखेले जानकारी दिइन्। 

संक्रमित पुगेको स्थानलाई मध्यनजर गर्दै सो स्थान सिल गरिएको उपाध्यक्ष बोलखेको भनाइ छ। सिल गरिएको स्थानमा केही दिन आवतजावत बन्द रहने बताइएको छ। 

भरिएपछि, रगंशालामा थपियो आइसोलेसन

हेटौंडामा रहेको एक मात्र कर्रा आइसोलेसन वार्ड भरिएपछि अर्को आइसोलेसन वार्ड थपिएको छ।  पछिल्ला केही दिनमा संक्रमितको संख्या बढेसँगै आइसोलेसन वार्ड भरिएपछि कोरोना संक्रमित घरमै आइसोलेसनमा बस्न बाध्य भएका छन्। 

हटौँडा ४ कर्रास्थित श्रमिक माध्यमिक विद्यालयको नयाँ भवनमा ३५ बेडको आइसोलेसन निर्माण गरिएको थियो। पछिल्लो ३ दिनमा  जना कोरोना संक्रमित धेरै थपिएपछि कोरोना संक्रमित आइसोलेसनमा बस्न पाएका छैनन्। 

आइसोलेसनमा बस्नेले शौचालय, खानेपानीको व्यवस्थापन राम्रो नभएको गुनासो गर्दै आएका छन्। संक्रमितलाई शौचालाय खुला ठाउँमा बोराले बेरेको ठाउँमा गर्नुपर्ने अवस्था छ। कोरोना संक्रमित लगातार थपिँदै गएपछि हेटौंडा उपमहानगरपालिका ६ गौरिटारमा रहेको केन्द्रीय खेलकुद प्रतिष्ठान (गौरिटार रंगशाला) क्षेत्रमा रहेको ब्वाइज होस्टललाई कोरोना आइसोलेसन वार्ड बनाइने भएको छ। 

 ३० वटा बेडरुम भएको होस्टलको अधिकांश रुपममा २ वटा बेड राखेर कोरोना संक्रमितहरुको उपचार गर्न सकिने, केही रुमलाई आइसियू तथा भेन्टिलेटर सहितको व्यवस्थापन गर्न सकिने भएको कारण पनि उक्त भवन प्रयोग गर्न लागिएको हेटौंडा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेलले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.