|

सिमरा : बाराको सिमरास्थित जगदम्बा स्टिल प्रालिले मालवाहक गाडीमा मजदुर लुकाएर ल्याएको भन्दै स्थानीय प्रशासनले उद्योग सिल गरेको छ। 

जिल्ला प्रशासन कार्यालय बाराले साउन ३२ गतेसम्म लागु हुने गरी उद्योग पूर्ण रुपमा सिल गरेको हो। उद्योगभित्र ११ जना कर्मचारी तथा मजदुरमा मंगलबार (२६ साउन) कोरोना संक्रमण पुष्टि भएपछि स्थानीयले उद्योग सिल गर्न दबाब दिँदै आएका थिए। 

उद्योग प्रशासनले बुधबार राति साढे १० बजे मालवाहक सवारी साधनमा मजदुरहरु लुकाएर ल्याएको जानकारी पाएपछि आजदेखि लागु हुनेगरी उद्योग सिल गरिएको प्रशासनले जनाएको छ।

इलाका प्रशासन कार्यालय सिमराका प्रमुख लक्ष्मण ढकालले  साउन ३२ गतेसम्मका लागि सिल गरिएको जनाए। ना ७ ख ३३३ नं. मालवाहक सवारी साधनमा २५ जना मजदुरलाई लुकाएर ल्याएको जानकारी पाएपछि स्थानीयको पहलमा उनीहरुलाई राति नै क्वारेन्टाइन पठाइएको थियो भने जीतपुर-सिमरा उपमहानगरकी उपप्रमुखको नेतृत्वमा उद्योगको मुल गेटमा ताला लगाइएको थियो।

पथलैया–वीरगन्ज औद्योगिक करिडोरमा झण्डै ५ सय उद्योगमध्ये जगदम्बा स्टिल सबैभन्दा ठूलो मानिन्छ। ३ हजार ४ सय मजदुर कार्यरत त्यस उद्योगमा ७५ प्रतिशत भारतीय मजदुर कार्यरत छन्। पछिल्लो समय सरकारले कोरोना भाइरस फैलन नदिन जारी गरेको लकडाउनका कारण उद्योग ५० प्रतिशत मजदुर मात्रै कार्यरत रहेका उद्योग प्रशासनले दाबी गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.