छानविन गरेर दोषीलाई कारवाही गर्छौं : नगरप्रमुख श्रेष्ठ
छानविन गरेर दोषीलाई कारवाही गर्छौं : नगरप्रमुख श्रेष्ठ
भक्तपुर : मध्यपुर थिमि नगरभित्रका कोरोना संक्रमितहरुको विवरण सामाजिक सञ्जालमा सार्वजनिक भएको छ।
विश्व स्वास्थ्य संगठनको तयार गरेको विश्वव्यापी मापदण्ड अनुसार संक्रमितको विवरण गोप्य हुनुपर्ने भए पनि मध्यपुर थिमि नगरभित्रका संक्रमितको नाम र ठेगानासहितको विवरण सामाजिक सञ्जालमा सार्वजनिक भएको हो।
त्यो विवरण कसरी सार्वजनिक भयो भन्ने आधिकारिक निकायहरुले कुनै जानकारी दिएका छैनन्। यद्यपी उनीहरुले छानविन गरी दोषीलाई कारवाही गर्ने जनाएको छ।
जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्णबहादुर मिझारले नामसहितको विवरण सार्वजनिक भएकोबारे जानकारी नभएको बताए। उनले यसबारेमा छानविन गर्ने जानकारी दिए।
‘संक्रमितको नाम सर्वजनिक गर्न नहुने हो। कसरी मध्यपुर थिमिको विवरण सार्वजनिक भयो छानविन गर्नेछौं,’ उनले भने। संक्रमितको नामसहितको विवरण सार्वजनिक हुनु गम्भीर लापरवाही भएको मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले बताए।
उनले जनप्रतिनिधिहरुको सामुहिक म्यासेन्जर ग्रुपबाट सार्वजनिक भएको हुनसक्ने जानकारी दिँदै यसबारेमा छानविन हुने बताए। उनले भने, ‘जनप्रतिनिधिहरुको सामूहिक म्यासेन्जर ग्रुपबाट लिक भएको हुन सक्छ। यसबारेमा छानविन गरेर दोषीलाई कारवाही हुनेछ।’
सार्वजनिक भएको विवरण अनुसार मध्यपुर थिमि नगरभित्र संक्रमितको संख्या ७४ पुगेको छ। तीमध्ये ३२ जना महिला छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।