कञ्चनपुर : जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले बिहीबार मध्यरातदेखि कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी गरेपछि महेन्द्रनगर बजारमा चहलपहल ह्वात्तै घटेको छ।
नास्ताका छिटपुट र अन्य केही पसलमात्रै खुलेका छन्। सडकमा मानिसहरूको आवागमन फाट्टफुट मात्रै देखिएको छ। निषेधाज्ञालाई प्रभावकारी बनाउन चमनचोक र मदन चोक लगायतका क्षेत्रमा सुरक्षाकर्मी खटिएका छन्।
निषेधाज्ञा जारी हुनुअघि बिहानैदेखि बजारमा चहलपहल हुने गरेको थियो। स्थानीय प्रशासनले जोर-बिजोरका आधारमा सार्वजनिक सवारी सञ्चालन गर्ने दिने भएकाले बसपार्क नजिकका क्षेत्रमा थोरैमात्र सवारीसाधन देखिएका छन्। हरितालिका तीज पर्व महिलाहरुले सामाजिक दुरी कायम गरी घरमै आफन्तसँग मनाएका छन्।
निषेधाज्ञाका कारण सार्वजनिक स्थलमा भेला हुन बन्देज लगाइएपछि महिलाहरुले यस वर्षको तीज खल्लो भएको बताएका छन्। झलारी बजारका विमला चौधरीले यस वर्षको तीजमा नाच्न नपाए पनि घरमै रमाइलो गरेर मनाइएको बताइन्।
महेन्द्रनगर बजार क्षेत्रमा चहलपहल घटेपानि जिल्लाका दैजी, झलारी, बेलौरी, पुर्नवास लगायत क्षेत्रका बजार भने पूर्ण रुपमा खुलेको छ। बजार क्षेत्रमा सवारीसाधन सञ्चालनमा भने केही कमी आएको छ।
सुदूरपश्चिमेलीको सबैभन्दा ठूलो चाड गौरा र तीजलाई मध्यनजर गरी प्रमुख जिल्ला अधिकारी नुरहरि प्रसाद खतिवडाले बिहीबार रातिदेखि लागू हुने गरी भदौ १४ गतेसम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवा क्षेत्र बन्द गर्न आदेश जारी गरेका थिए।
आदेशअनुसार अत्यावश्यक सेवा तथा वस्तु बाहेकका अन्य सबै प्रकारका उद्योग, व्यापार व्यवसाय सञ्चालन गर्न नपाइने सबै प्रकारका निजी तथा सार्वजनिक सवारीसाधन जोर-बिजोरका आधारमा सञ्चालन गर्न पाइनेछ। औषधि, खाद्यान्न, तरकारी, दुध, फलफूल, माछामासु लगायत अत्यावश्यक बस्तुहरु किन्न मात्रै सवारीसाधन प्रयोग गर्न दिइएको छ।
निषेधाज्ञा जारी भएपछि शैक्षिक संस्था, प्रशिक्षण केन्द्रहरु, ट्युसन सेन्टर र भाषा कक्षा सञ्चालन गर्न दिइएको छैन भने सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी, प्यालेस, डिपार्टमेन्ट स्टोर, मनोरञ्जन स्थल, सैलुन, ब्यूटीपार्लर, स्वीमिङ पुल, जिम खाना, पुस्तकालय, सङ्ग्रहालयलगायत पनि बन्द रहेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।