|

किके सेटिनको बर्खास्तपछि बार्सिलोनाको प्रशिक्षकमा रोनाल्ड कोम्यान आएका छन्। क्याटलान क्लबका लागि कोम्यान नयाँ नाम हाेइन। उनले यसअघि क्लबमा खेलाडी र सहायक प्रशिक्षकको रुपमा बिताइसकेका छन्। ६ वर्ष खेलाडीको रुपमा क्याटलान क्लबमा रहेका कोम्यानले २ वर्ष सहायक प्रशिक्षकको रुपमा बिताएका थिए। 

२० बर्षपछि बार्सिलोनामा उनको पुनरागमन भएको छ, नयाँ जिम्मेवारीसहित। इंग्लिस क्लब एभर्टन र साउथह्याम्पटनको प्रशिक्षक रहिसकेका कोम्यानलाई यसअघि नै बार्सिलोनाले  प्रशिक्षक बन्ने प्रस्ताव गर्दा उनले युरो २०२० सकिएपछि मात्र आउन सक्ने बताएका थिए।

तर युरो कोरोनाले गर्दा एक वर्षका लागि स्थगित भएसँगै कोम्यानले निर्णय परिवर्तन गरे, बार्सा आएका विभिन्न अन्तराष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन्।
च्याम्पियन्स लिगमा बार्यनसँग ८–२ गोल अन्तरले पराजयका कारण प्रशिक्षक किके सेटिन बर्खास्तमा परेपछि प्रमुख प्रशिक्षकको रुपमा उनको चर्चा सुरु भएको थियो।

सेटिन बर्खास्त परेको २ दिनपछि नयाँ प्रशिक्षकको रुपमा रोनाल्ड क्याटलान क्लबमा आएका हुन्। डच राष्ट्रिय टोलीका प्रशिक्षकको सम्झौता अवधि अझै २ वर्ष भए पनि छाडेर उनले स्पेनिस जाइन्टसंग २ बर्षे सम्झौता गरे। डच फुटबल एसोसिएसनले आगामी कतार विश्वकपसम्म कोम्यानलाई प्रमुख प्रशिक्षकको रुपमा राख्न चाहन्थ्यो। 

उसले एभर्टनबाट बर्खास्त भएको ३ महिना नबित्दै साढे ४ वर्षको सम्झौता गरेको थियो। तर कोम्यान नेदरल्यान्डको टोलीमा साढे २ वर्ष मात्र बसे। प्रशिक्षण करियरको २३ बर्षमा कोम्यानले १० वटा क्लब र एउटा राष्ट्रिय टोलीको प्रशिक्षक एवम् सहायक प्रशिक्षकको रुपमा काम गरे। यद्यपि उनको प्रशिक्षक करियर औसत नै रह्यो। डच राष्ट्रिय टोलीका साथै आयाक्स र फेयुनर्ड बाहेकका अन्य टोलीमा उनले २ सिजन निरन्तरता दिन सकेनन्। इंग्लिस क्लब एभर्टनमा अपरिपक्व निर्णयका कारण बर्खास्तमा परे। 

कोम्यान स्टाइल

डिफेन्स र मिडिफिल्ड दुवैमा अब्बल ठहरिएका कोम्यानले डिफेन्सिभ खेलाउन मनपराउँछन्। कोम्यानले विशेष गरेर ४–२–३–१ वा डच फुटबलको शैली ४–३–३ अपनाउँदै आएका छन्। 

जुन ड्रिम टिमका पिता योहान क्रुफ र पूर्वडच फुटबलर एवम् बार्साका प्रशिक्षक लुइस भान गालको प्रभाव हो।  क्रुफ र लुइस भान गालको डच फुटबल सिद्धान्त नै कोम्यानले पनि अनुशरण गर्ने गरेका छन्। 

कोम्यानले जहिले पनि युवा खेलाडी विकासमा जोड दिइरहेका हुन्छन्। उनको केही नयाँ खोजले सफलता समेत पाएका छन्, जसको उदाहरण ज्लाटन इब्राहिमोभिच र वेस्ले स्नाइडर हुन्। 

बार्साको पूर्वडिफेन्डरको प्रशिक्षणमा आयाक्समा खेल निखार्दै ज्लाटनले युभेन्टस्, म्यानचेस्टर युनाइटेड, इन्टर मिलान जस्ता क्लबमा सफलता प्राप्त गरे। 
अट्याकिङ मिडफिल्डर स्नाइडरले रियल मड्रिड, इन्टर मिलान, गाल्टासारे, नाइसजस्ता क्लबमा आफ्नो कमाल देखाए। 

कोम्यानसँग उनले जहिले पनि राखेको प्रत्येक टिममा एक जना सानदार प्लेमेकर हुने गर्छन्। आयाक्समा राफेल भान डेर भारलाई उनले विकास गरे। अन्ततः भारले आयाक्सको कप्तानी गर्नेसम्मको अवसर पाए। 

डच टिमको सहायक प्रशिक्षकदेखि बार्सिलोनासम्म 

प्रशिक्षणको पहिलो पाइला नै कोम्यानले राष्ट्रिय टोलीको सहायक प्रशिक्षकबाट सुरु गरेका थिए। सन् १९९८ को विश्वकपको लागि गुस हिडिन्कको टोली नेदरल्यान्डमा पूर्वसहकर्मी फ्रेन्क रिजकार्ड र जोहान निसकेन्ससँगै सहायक प्रशिक्षकको रुपमा उनी देखापरे। 

त्यसबेला नेदरल्यान्डले सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो। जहाँ ब्राजिलसँग टाइब्रेकरमा हार्न पुग्यो। प्रतियोगितालगत्तै बार्सिलोनाले सहायक प्रशिक्षकको रुपमा कोम्यानलाई क्लबमा भित्र्यायो, जहाँ प्रमुख प्रशिक्षक थिए लुइस भान गाल। २ बर्षसम्म कोम्यान त्यहाँ रहे। 

प्रमुख प्रशिक्षकको रुपमा उनी सन् २०००–०१ को सिजनमा डच क्लब भिटेसमा रहे। उनी रहँदा क्लबले युइएफए कपको दोश्रो चरणसम्म पुग्यो। जहाँ अवे गोलका आधार सिरि ए क्लब इन्टरनाजिओनालेसँग पराजित हुन पुग्यो। 

लगत्तै कोम्यान पूर्वक्लब आयाक्ससँग जोडिए। क्लबले २००१–०२ र २००३–०४ को उपाधि जित्यो। २००४–०५ को युरोकपको समूह चरणबाट बाहिरिँदै युइएफ कप खेलेको टोली फ्रान्सेली टोली औरेक्ससँग ३–२ ले पराजित बनेपछि कोम्यानले क्लबबाट राजीनामा दिए। त्यहाँ उनले २ वटा एरेडेभिज कप, केएनभीबी कप र योहान क्रुफ सिल्ड जिताए। 

आयाक्सबाट राजीनामा दिएलगत्तै उनको यात्रा पोचुर्गिज लिग च्याम्पियन बेनिफिकातर्फ भयो। इटालियन दिग्गज खेलाडी जियोभानी ट्रेपटोनीले क्लब छाडेपछि कोम्यानले क्लब सम्हाले। जहाँ उनले २७ औ संस्करणको पोचुर्गिज सुपरकपको मात्र उपाधि दिलाउन सफल भए। 

बेनिफिका पोर्चुगिज लिगमा पोर्टो र स्र्पोटिङ सिपी भन्दा पछि रहँदै तेश्रो स्थानमा समाप्त गरेपछि टाका डि पोर्चुगलको लागि छनोट भयो। जहाँ बेनिफिकाको यात्रा क्वाटरफाइनलमा भिटोरिया डे गुमियारिसले समाप्त गरिदियो। 

कोम्यान प्रशिक्षक रहँदा च्याम्पियन्स लिगको समूह चरणमा एलेक्स फर्गुसनको टोली म्यानचेस्टर र प्रि–क्वाटरमा राफेल बेनिटेजको टोली लिभरपुललाई हराउँदै क्वाटरफाइनल प्रवेश ग¥यो। सेमिफाइनल प्रवेशका लागि बार्सिलोना घातक सावित भयो। 

बेनिफिकाको औसत प्रदर्शनका कारण सम्झौता अवधि भन्दा १ वर्षअघि नै डच क्लब पिएसभीमा आबद्ध भए। २००६–०७ को सिजनमा गुस हिडिन्कको उत्तराधिकारीको रुपमा पिएसभीमा प्रमुख प्रशिक्षकको रुपमा कार्य गरे। २० औं चरणको खेलसम्म एजेडभन्दा ११ र अयाक्सभन्दा १२ अंकले अघि रहेको क्लबले अन्तिम १३ खेलमा लय गुमाउँदा गोल अन्तरको आधारमा उपाधि जित्नुप¥यो। 

च्याम्पियन्स लिगमा छनोट भएको टोलीले पहिलो चरणमा प्रिमियर लिग क्लब आर्सनललाई हरायो। क्वारटफाइनल खेलमा लिभरपुलसँग ४–० ले पराजित बन्न पुग्यो। 

२००७–०८ को सिजनका लागि ला लिगा क्लब भ्यालेन्सिया पुगे उनी। क्विके सान्चेज फ्लोरेसलाई क्लबले बर्खास्त गरेपछि कोम्यानको प्रशिक्षकत्वमा भ्यालेन्सियाले २००७–०८ को कोपा डेल रे जित्यो। यसअघि कोम्यानले बार्सिलोनामा खेलाडी हुँदा कोपा डेल रे जितेका थिए। 

१९९९ पछि कोम्यानले पहिलो पटक कोपा डेल रे जिताएका हुन्। त्यसपछिका अवधिमा सन्तोषजनक रहेन। कोपा डेल रे विजेता भएको कारण क्लब च्याम्पियन्स लिगको पहिलो चरणको लागि छनोट भयो। तर अवे गोलका कारण युक्रेनी क्लब डाइनामो किभसँग पछि पर्दै शीर्ष ३२ बाटै बाहिरियो। 

२००७–०८ को ला लिगाको ३५ औं चरणको खेलमा एथ्लेटिको बिल्बाओसँग पराजित भएपछि क्लब रेलिगेसन जोनमा परेको थियो। त्यसपछिको २ खेल जितेर १० औ स्थानमामा लिग समापन ग¥यो। बिल्बाओसँगको पराजयकै कारण कोम्यानलाई क्लबले अप्रिल २००८ मा बर्खास्त ग¥यो। 

मे २००९ मा उनलाई डच क्लब एजेडले प्रशिक्षकको रुपमा भित्र्यायो। २००८–०९ को एरेडिभिज दिलाएका तत्कालीन प्रशिक्षक लुइस भान गाल बुन्डेसलिगा क्लब बार्यन म्युनिख गएपछि कोम्यानले अवसर पाएका थिए। तर ७ महिना नबित्दै क्लबले उनलाई प्रशिक्षकबाट हटायो। लिगको सुरुवातको १६ खेलमा ७ हार बेहोरेपछि उनले एजेडको प्रशिक्षकबाट हात धुनुप¥यो। 

झन्डै डेढ वर्ष क्लबविहीन भएपछि खेलाडी करियर बिताएको क्लब फेयुनड तर्फ कोम्यान हानिए। त्यहाँ उनले ट्रेनर मारियो विनलाई प्रतिस्थापन गरे। उनको नियुक्तिसँगै एरेडिभिज का ‘बिग थ्री’ मा खेलाडी र प्रशिक्षकको रुपमा बिताउने पहिलो व्यक्ति बने। 

एरेडिभिजमा क्लबको प्रदर्शनलाई हेरेर सन् २०१२ को सुरुवातमा उनको सम्झौता अवधि बढाइएको थियो। फेब्रुअरी २०१४ मा उनले आफ्नो पद छाड्ने घोषणा गरे। जुन २०१४ मा माउरियो पोचेटिनोलाई प्रतिस्थापन गर्दै उनी प्रिमियर लिग क्लब साउथह्याम्पटनमा ३ वर्षे सम्झौता गर्दै प्रशिक्षकमा नियुक्त भए। उनीसँगै दाजु एर्विनलाई सहायक प्रशिक्षक बनाए। 

सुरुको ६ प्रिमियर लिग खेलमा ४ जित १ बराबरी र १ हारको सामना गरे पनि दोश्रो स्थानमा रहन पुग्यो। त्यस समयमा कोम्यान सेप्टेम्बरका लागि प्रिमियर लिगको उत्कृष्ट प्रशिक्षक घोषित भए। 

१५ जनवरीमा साउथह्याम्पटनले तीनवटै खेल जित्यो। जसमा म्यानचेस्टर युनाइटेडविरुद्ध १९८८ पछिको पहिलो जितसमेत समावेश थियो। कोम्यान पुनः महिनाको उत्कृष्ट प्रशिक्षक बने। उनले साउथह्याम्पटनलाई लिगको सातौं स्थानमा उभ्याउन सफल भए। 

जनवरी २०१६ मा तेश्रो पटक महिनाको उत्कृष्ट प्रशिक्षक घोषित भए। सो सिजनमा क्लब प्रिमियर लिगको छैटौं स्थानमा रहन सफल भयो। क्लबले ६३ अंक बटुलेको थियो जुन त्यसअघिसम्म प्रिमियर लिगको सवैभन्दा बढी अंक थियो। र क्लब युइएफए युरोपा लिगको समूह चरणको लागि छनोट भयो। 

१४ जुन २०१६ मा उनले एभर्टनको प्रशिक्षकको रुपमा तीन वर्षका लागि सम्झौता गरे। जहाँ उनले आफ्ना दाजुलाई सहायक प्रशिक्षकको रुपमा नियुक्त गरे। पहिलो सिजनमा नै उनले एभर्टनलाई युरोपा लिगका लागि छनोट गराए। २०१७–१८ को सिजनमा उनले एभर्टनको इतिहासमा नयाँ खेलाडीको लागि करिब १५० मिलियन डलर खर्च गरे। तर उनले रोमेरो लुकाकुको प्रतिस्थापनको रुपमा सेन्ट्रल फरवार्ड खरिद गरेनन्। अघिल्लो सिजनको सर्वाधिक गोलकर्ता लुकाकुलाई क्लबले म्यानचेस्टर युनाइटेडलाई बेचेको थियो। 

आफ्नै मैदानमा आर्सनलसँग ५–२ गोलअन्तरले पराजित हुँदै रेलिगेसन जोनमा परेपछि एभर्टनले उनीसँगै उनका दाजु एर्विनलाई समेत बर्खास्त ग¥यो। चेल्सीविरुद्ध काराबाओ कपको तयारीका लागि प्रशिक्षणमा पुगेका उनी बर्खास्त भएर फर्कन पुगे। 

करिब ३ महिनापछि ६ फेब्रुअरी २०१८ मा नेदरल्यान्डको राष्ट्रिय टोलीको प्रशिक्षकको रुपमा साढे ४ वर्षको सम्झौता गरे। जसमा आगामी सन २०२२ को कतार विश्वकपलाई समेत समावेश गरिएको थियो। सन् २०१८ को रसिया विश्वकपमा नेदरल्यान्डलाई छनोट गराउन असफल भएपछि तत्कालीन प्रशिक्षक डिक एडभोकेटको राजीनामा कोम्यानको लागि अवसर बन्यो। 

९ जुन २०१९ मा भएको युइएफए नेसन लिगमा पोर्चुगलसँग १–० ले पराजित हुँदै नेदरल्यान्ड उपविजेता बन्यो। कोम्यानको प्रशिक्षणमा नेदरल्यान्डले २० खेल खेल्दा ११ जित, ५ बराबरी र चार खेलमा हारको नतिजा निकालेको छ। 

कोम्यान कालमै नेदरल्यान्ड युरो कपको लागि समेत छनोट भयो। पहिलो पटक प्रमुख प्रशिक्षक सम्हालेयता साढे २० वर्षको अवधिमा कोम्यानले प्रशिक्षण दिएको ६ सय ८३ खेलमध्ये ३ सय ६७ अर्थात् ५३.७३ प्रतिशत खेल जिताउन सफल भए। १ सय ४५ बराबर र १ सय ७१ मा पराजय भोग्नुप¥यो। 

बार्सिलोनामा अब काेम्यानकाे प्रभाव 

बार्सालाई मजबुत बनाउन अहिले कोम्यानले क्लबको कोचिङ स्टाफका रुपमा बार्साका पूर्वस्ट्राइकर हेनरिक लार्सनलाई भित्र्याएका  छन्। स्विडिस खेलाडी लार्सनसँग २ सिजन कोम्यानको सहकर्मीको रुपमा फेयर्नुडमा खेलेको अनुभवसमेत छ। दुवैले १९९५ देखि ९७ मा सँगै खेलेका थिए।  लार्सनले २००४–०६ सम्म बार्सामा रहँदा २ ला लिगा र च्याम्पिन्स लिग जिताएका थिए। सहायक प्रशिक्षककै रुपमा होफेनहोइमका प्रमुख प्रशिक्षक अल्फ्रेड सुडरलाई समेत कोम्यानले क्लब भित्र्याएका छन्। 

प्रशिक्षक नियुक्त भएपछि पहिलो पटक प्रेस कन्फ्रेन्समा क्रुफ स्कुलमा हुकिएका डच कोम्यानले भने ‘म डच हुँ।  मलाई मन पर्छ बललाई नियन्त्रणमा राख्न र राम्रो फुटबल खेल्न। म लामो समयदेखि प्रशिक्षक हुँ र मैले धेरै कुरा सिकेको छु। फुटबलबाट रमाइलो लिनुपर्छ र यो मेरो पहिलो चिज हो, जुन म आफ्ना खेलाडीलाई भन्छु। यदि तपाईं आफैंमा रमाइलो गर्नुहुन्न भने आफैंले राम्रो खेल्न सक्नुहुन्न।’


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.