१६ लाख लगानी, वार्षिक साढे तीन लाख आम्दानी

|

दाङ : जिल्लाको बबई गाउँपालिका-७ चरकमटियाका २२ वर्षीय गोपाल रानाले १० जोड २ सकेपछि विदेश जाने निधो गरे। त्यसपछि उनी विदेशमा पनि कोरिया जाने भन्दै गाउँका अन्य साथीहरुसँग कोरियन भाषा सिक्न काठमाडौं  गए।

कोरियन भाषा सिक्दै गर्दा उनले मोबाइलबाट युटुवमा विभिन्न कृषि पेशाबारे भिडियो हेरे। तिनै भिडियो हेरेर उनलाई नेपालमै कृषि व्‍यवसाय गर्नुपर्छ भन्ने ऊर्जा मिलेपछि उनी विदेश जाने सपनालाई त्यागेर घर फर्किए।

रानाले ढेड वर्षदेखि राप्ती पशुपालन तथा कृषि फर्म दर्ता गरी  कृषि व्‍यवसाय शुरु गरेका छन्।  उनले अहिले ७ वटा भैसी तथा केही जग्गामा तरकारी खेती गर्दै आएका छन्। ‘धेरै नेपाली बेरोजागर भएर विदेशतिर गइरहेको अवस्थामा म पनि विदेश जान्छु भनी त्यसैको तयारी गर्दै थिएँ,’ उनले भने,‘ तर मैले युटुबमा विभिन्न कृषि पेसामा लागेका व्‍यक्तिहरूको भिडियो हेरेपछि अब विदेश होइन। नेपालमै केही गर्नुपर्छ भने यो व्‍यवसायमा लागेँ।’

सुरुमा १५/१६ वटा भैँसीबाट यो व्‍यवसाय शुरु गरेका रानाले भने अहिले ७ वटा भैँसी पाल्दै आएको बताए। ‘शुरु गर्दा  १६ वटा भैसी थिए,’ उनले भने, ‘ती भैँसीबाट  दूध कम उत्पादन हुन भएकाले अहिले धेरै दूध दिने ७ वटा भैँसी  पालेको छु।’ अरू ५ वटा भैँसी थप्ने योजना भए पनि कलडाउनका कारण दूधको बजारीकरणमा समस्या हुने भएकाले नथपेको उनले बताए।

यो पेशामा आफू एकदमै खुशी भएको उनले सुनाए। ‘भैँसीलाई दानापानी दिँदा, स्याहार सुसार गर्दा मात्र नभई साना-साना पाडा पाडीसँग खेल्दा निकै आनन्दको महशुस हुन्छ,’ उनले भने। अहिलेसम्म  करिब १६ लाख जति लगानी भइसकेको र करिब ५० वटा भैँसीहरु पाल्ने योजना रहेको समेत उनले बताए।

त्यसैगरी, उनले उत्पादन भएको दूध साना किसाना सहकारी संस्था शान्तिनगर ७ धनौरीले सञ्‍चालन गरेको दुग्ध डेरीमा लैजाने गरेको उनले बताए। त्यसैगरी उनले आफूहरूको मिहिनेतअनुसार दूधको मूल्य नभएको बताए। ‘अहिले ५० रुयैयाँ लिटर दूध डेरीमा दिँदै आएका छौँ,’ उनले भने, ‘तर हामीले भैँसीलाई करिब ३९ रुपैयाँ किलो दाना खुवाउनुपर्छ। त्यसैले स्थानीय सरकारले बजार व्‍यवस्थापन गरिदिए सहज हुन्थ्यो।’ अहिले पालिराखेका भैँसीबाट वार्षिक साढे ३ लाख जति आम्दानी हुने गरेको रानाले बताए।

त्यसैगरी, रानाले राज्यले कुनै पनि व्‍यवसाय गर्नेलाई अनुदान  दिनुभन्दा बजारीकरण व्‍यवस्था गरिदिनुपर्ने बताए। ‘अहिले राज्यबाट अनुदान लिनका लागि धेरैले व्‍यवसाय गरेका छन्,’ उनले भने, ‘तर अनुदान पाएपछि उनीहरुले त्यो व्‍यवसाय नै छोडिदिन्छन्। त्यसैले मैले अनुदान लिनको लागि यो व्‍यवसाय गरेको होइन।’

साथै राज्यले नै किसानले उत्पादन गरेका वस्तुको बजारीकरणको व्‍यवस्था गरिदिने हो, भने धेरै युवाहरु कृषि पेशामा लाग्नेसमेत उनको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.