लोकसेवा भन्छ : फाराम भरिसकेकाको उमेर नाघेर समस्या हुँदैन

|

काठमाडौं : कोरोना महामारीका कारण चैतयता विद्यालय,विश्वविद्यालय, लोकसेवा आयोग लगायतका परीक्षा रोकिएको छ।

दिनप्रतिदिन कोरोना संक्रमित भेटिरहेको अवस्थामा झनै लोकसेवा आयोगको परीक्षा सञ्चालनबारे अन्योलता छाएको छ। यसले परीक्षार्थी अहिले चिन्तित र तनाव लिएर बस्न बाध्य छन। लोक सेवा आयोगका अनुसार प्राविधिक, अप्राविधिक लगायतको सहसचिव विज्ञापन बाहेकका सबै परीक्षा लकडाउन र निषेधाज्ञाले स्थगित भएका छन्।

कोरोना संक्रमण दर बढिरहेकाले दशैँ अगाडि परीक्षा सञ्चालन हुने अवस्था पनि न्यून रहेको आयोगका पदाधिकारीहरुले बताएका छन्। लोकसेवा परीक्षाको विषयमा अवस्था सामान्य भएपछि मात्रै सञ्चालन गर्न सकिने आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदी बताउँछन्।

उनले भने, ‘लोकसेवा परीक्षाबारे हचुवाको भरमा निर्णय गर्न मिल्दैन। परीक्षा सञ्चालन गर्न पहिले यातायात, स्कुल सञ्चालनमा आउनुपर्छ। सरकारले अहिले सम्म यसमा केही निर्णय गर्न सकेको छैन। ती सबै सञ्चालनमा आएपछि पनि अवस्था के कस्तो हुन्छ भनी हेरेर मात्रै परीक्षाको विषयमा निर्णय गरिन्छ।’

उनका अनुसार लोकसेवा आयोगको परीक्षा स्कुलमा सञ्चालन गर्नुपर्छ। त्यसैले पहिला स्कुल सञ्चालन हुनु आवश्यक छ। स्कुल सञ्चालन भएपछि पनि तत्कालै परीक्षा हुँदैन। करिब एक महिनापछि मात्रै अवस्था हेरेर परीक्षा सञ्चालन हुने छ।

सुवेदीले यसरी नै कोरोना संक्रमण बढ्दै गएमा दशै,तिहारपछि मात्रै परीक्षा सञ्चालन हुने स्पष्ट पारे। उनले भने,‘अहिले दिनदिनै कोरोना संक्रमण बढेको छ। धेरै विद्यार्थी गाउँमै छन। उनीहरुलाई काठमाडौं आउन पनि दिनुपर्यो। यस्तै अवस्था रहे दशै,तिहार अगाडी परीक्षा हुँदैन।’

उमेर नाघेमा परीक्षा दिन पाउँछन?

सूचना अधिकारी सुवेदीका अनुसार कोरोना महामारीले करिब डेढ लाख परीक्षार्थीको परीक्षा यस वर्ष रोकिएको छ। लोकसेवा परीक्षा दिनेको उमेर हद १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको र महिला तथा अपांगता उम्मेदवारहरूको हकमा ४० वर्ष तोकिएको छ।

तर, कोरोना संकटले परीक्षा समय लम्बिदै गएमा कतिपय परीक्षार्थीको उमेर हद समेत नाघिने अवस्था छ। यसले परीक्षा दिन नपाउने हो की भन्‍ने चिन्ता परीक्षार्थीले लिन थालेका छन।

‘लकडाउन अघिको विज्ञापन अनुसार उम्मेदवारले फाराम भरेर पनि अहिलेसम्म परीक्षा दिन नपाएका परीक्षार्थीले उमेर नाघे पनि परीक्षा दिन पाउँछन्', उमेर हदको विषयमा सुवेदी भन्छन्, 'तर, अब नयाँ विज्ञापनमा भने उमेर नाघिसकेकाले भाग लिन पाउँदैनन्। तोकिएको उमेर हदसम्म मात्रै परीक्षा दिन पाउने छन्।’

कोरोना भाइरससँग जोगिन गरिएको लकडाउन र निषेधाज्ञाले परीक्षा रोकिएर उमेर नाघेपनि सहजै रुपमा परीक्षा दिन पाउने भएकाले चिन्ता नलिन परीक्षार्थीलाई उनको सुझाव छ।   

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.